काठमाडौं : फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधनका लागि सरकारले अध्यादेश ल्याउने निर्णय गर्नसाथ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ जेलमा रहेका आफ्ना श्रीमान रेशम चौधरी भेट्न पुगेकी छिन्। सोमवार काठमाडौंको डिल्लीबजारस्थित चारखाल कारागारमा दिउँसो श्रेष्ठले चौधरीलाई भेटेकी हुन्।
छोटो समयको भेटपछि रञ्जिता बाहिरिएकी थिइन्। कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित उनले भेटबारे भने कुनै प्रतिक्रिया दिइनन्। कतिपयले चौधरी आजै छुट्ने भनेका थिए। यद्यपि रेशम छुट्ने गरी प्रक्रिया आजबाट शुरु हुने बताइएको छ। टीकापुर घटनामा दोषी रहेको आरोपमा रेशम हाल जेलमा छन्। उनलाई छुटाउन मिल्ने गरी आइतवार मन्त्रिपरिषद्ले फौजदारी संहिता संशोधन अध्यादेश ल्याउने निर्णय गरेको थियो।
२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को बाट कैलाली-१ मा वारेस मार्फत उम्मेदवारी दर्ता गराएका चौधरी टिकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। उनले निर्वाचन जितेको प्रमाणपत्र पनि वारेस मार्फत लिन पाउनुपर्ने दाबी गरे पनि निर्वाचन आयोगले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो। उक्त अस्वीकार पछि २०७४ फागुन १४ गते चौधरी प्रमाणपत्र लिन आउदा पक्राउ परेका थिए। २०७२ मा टिकापुरमा थरुहटको आन्दोलनका क्रममा ९ जना प्रहरीको मृत्यु भएको थियो। उक्त घटनामा १ जना नाबालकको पनि मृत्यु भएको थियो। मुख्य आरोपिका रुपमा चौधरीले जेल सजाय भोगिरहेका हुन्।