
काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छन्। आइतवार विहान नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका केसीले दिउँसो प्रचण्डलाई भेटेका हुन्। सरकार गठनबारे सत्ता गठबन्धनभित्र छलफल भइरहेका बेलामा कांग्रेसका नेताहरुले भेटवार्तालाई तीब्रता दिएका छन्। यसअघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि ओलीलाई उनकै निवास बालकोटमा भेटेका थिए।
प्रचण्ड-केसीबिच के भयो कुराकानी?
प्रचण्डसँगको भेटमा केसीले नयाँ सरकार गठनका बारेमा छलफल गरेका छन्। गठबन्धन दलहरुबिच साझा अबधाधारणा तय गरी सहकार्य गर्नुपर्ने विषयमा कुराकानी भएको केसीको सचिवालयले जनाएको छ। 'गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितबारे समीक्षा भएको छ,' केसीको सचिवालयले भनेको छ। प्रचण्डको आइतवार जन्मदिन पनि भएकाले जन्मदिनको अवसरमा केसीले भेटेरै शुभकामना दिएका हुन्।
सत्ता गठबन्धनले फेरि पनि गठबन्धनकै सरकार गठनका लागि गृहकार्यलाई तीब्र पारेको छ। गठबन्धनलाई प्रतिनिधि सभामा कायम रहेको २७५ जनाको बहुमत १३८ जनाको समर्थन आवश्यक छ। तर गठबन्धनसँग १३६ जना मात्रै सांसद छन्। बहुमत जुटाउन नागरिक उन्मुक्ती पार्टीका रेशम चौधरीलाई छुटाउन र सो पार्टीलाई गठबन्धनमा सहभागी गराउन सकरले अध्यादेश ल्याउने निर्णय गरिसकेको छ।