काठमाडौं : फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधनका लागि सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयले प्रमाणीकरणका लागि अध्यादेश आएको पुष्टि गर्यो। 'अध्यादेश आएको छ। राष्ट्रपतिले यसबारे अध्ययन गरेर प्रमाणिकरण गर्नुहुन्छ,' सचिवालयले भन्यो।
अध्यादेश भण्डारीले प्रमाणीकरण गरेसँगै नयाँ कानुनको रुपमा लागू हुने छ। संसदको अधिवेन नभएका बेलामा सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न सक्ने व्यवस्था छ। उक्त व्यवस्था अनुसार सरकारले अध्यादेश ल्याएको हो।
मन्त्रिपरिषदको आइतवारको बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो। नागरिक उन्मक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलबाट छुटाउन भन्दै सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो। चौधरीले जेलमै भेटन आएका गठबन्धनका नेताहरुलाई केही दिन अघि मुद्दा फिर्ता लिए गठबन्धनमा सहभागी हुने शर्त राखेका थिए।