PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

खस्किँदै नेपाली क्रिकेट : जम्दैनन् कप्तान, टिक्दैनन् प्रशिक्षक, मनोज पनि ४ महिनामै बाहिरिँदै!



मुकुन्द घिमिरे

खस्किँदै नेपाली क्रिकेट : जम्दैनन् कप्तान, टिक्दैनन् प्रशिक्षक, मनोज पनि ४ महिनामै बाहिरिँदै!

काठमाडौं : पारस खड्काले एक दशक बढी नेपाली टोलीको कप्तानी गरे। तर, उनीपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कप्तान पद अस्थिर छ। उनले कप्तानी छाडेयता तीन वर्षमा नेपाली राष्ट्रिय टोलीले तीनजना कप्तान पाइसक्यो।

अझ प्रशिक्षक त फेरेको फेर्‍यै। नेपाल आएका प्रशिक्षक कार्यकाल नसकिँदै फर्किने नजिर बनिसकेको छ। यसको पछिल्लो उदाहरण हुन् भारतबाट आएका प्रशिक्षक - मनोज प्रभाकार।

नेपाल क्रिकेट संघले मनोजको बहिर्गमनबारे औपचारिक जानकारी नदिएपनि अस्वीकार भने गरेको छैन। क्यानका प्रवक्ता प्रशान्त विक्रम मल्लले प्रशिक्षक मनोजका विषयमा मौखिक छलफल भएको भएपनि राजीनामा आइनसकेको बताए।

‘मौखिक रुपमा कुरा भएको हो। राजीनामा आइसकेको छैन। राजीनामा नआई औपचारिक रुपमा केही भन्न सकिन्न,’ मल्लले भने।

विवादस्पद छविका प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए। रणजीका टिमहरुमा मुख्य प्रशिक्षकको भूमिका पनि निभाइसकेका उनले अफगानिस्तानमा बलिङ प्रशिक्षकका रुपमा पनि काम गरिसकेका छन्। उनी बलरसँगै टप अर्डरमा समेत ब्याटिङ गरेका ब्याट्सम्यान थिए।

कुशल खेलाडीको रुपमा उनी जति चर्चामा आए म्याच फिक्सिङको प्रकरणमा मुछिएर बदनामी पनि त्यतिकै कमाए। सन् १९९९ भारतीय टोलीका पूर्वकप्तान कपिलदेवमाथि फिक्सिङको आरोप लगाएका उनी पछि आँफैले फिक्सिङको ममलामा प्रतिबन्ध ब्यहोरेका थिए। यसबाहेक पनि कपिलदेव र अजहरुद्दिनसँग झगडा गरेर विवादमा आएका थिए उनी। त्यस्तै दिल्लीको प्रशिक्षक छँदा खेलाडी र छनोटकर्तासँग झगडा गरेपछि उनलाई पदबाट हटाइएको थियो।

प्रभाकर नेपाल आएपछि पनि विवादबाट अछुतो रहेनन्। खासगरी खेलाडीहरुसँगै उनको मनमुटाव भएको जानकारहरु बताउँछन्। जसको नतिजा हो, पछिल्ला खेलहरुमा नेपालको नतिजा र प्रदर्शन।

विश्वकपको रोडम्यापका रुपमा रहेको क्रिकेट विश्वकप लिग २ मा नेपालले पछिल्ला ६ खेलमा जित निकाल्न सकेन। पछिल्लो पटक जुलाइमा स्कटल्याण्डलाई हराएयता लिग २ मा नेपालले जित निकालेको छैन। भलै, लिग २ भन्दाबाहेक कमजोर वरीयताको केन्यालाई हरायो। घरेलु मैदानमा यूएईविरुद्ध सिरिज जित्यो। तर, यही हप्ता नामिबिया सिरिजमा जितविहिन बन्दै फर्किएको नेपाललाई टिमको अस्थीरताले गिजोलिरहेको छ। अझ प्रशिक्षक मनोज प्रभाकर प्रशिक्षकबाट बाहिरिने निर्णयसँगै नेपाली क्रिकेट अस्थिरताको पर्याय बन्ने देखिएको छ।

नेपाली क्रिकेटमा अस्थिरताको कथा जोड्दै लैजाने हो भने लामो हुन्छ। २०७६ सालको असोज महिनामा दशक बढी नेपाली टोलीको नेतृत्व गरेका पारस खड्काले कप्तानी छाडेयता नै तीन जना कप्तान नेपालले पाइसकेको छ। अर्थात कप्तानका हिसाबले हरेक वर्ष नेपाली टोलीले एक नयाँ कप्तान पाउँदै आएको छ।

तत्कालीन कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा थुनामा परेपछि युवा खेलाडी रोहित पौडेलले कप्तानी सम्हालेको धेरै भएको छैन। लामिछाने कप्तानीमा आउनुअघि र आएपछि टिमभित्रको गुटबन्दी छरपस्ट भयो। उनीपछि पौडेलको कप्तानीमा आन्तरिक विवाद समाधान हुने विश्वास लिइए पनि त्यस्तो भएन। अझ प्रशिक्षक र खेलाडीविचका विवादहरु बाहिरिए। प्रशिक्षक मनोज प्रभाकरले आँफै टिमभित्र विवाद भएको स्वीकारेका थिए नेपाल-यूएई सिरिजका क्रममा। अझ टिममा शेख दाजुभाइ(आरिफ शेख र आसिफ शेख) र प्रशिक्षक प्रभाकरबीचको विवादलाई अझ प्रश्रय दिन्छ। यूएईविरुद्धको अर्धशतकपछि आरिफ शेखको सेलिब्रेसन। उनले डगआउट तर्फ फर्किएर 'ब्याट बोल्छ' भन्ने किसिमको संकेत दिएका थिए। त्यस्तै ब्याटिङ अर्डर लगायतको वियषलाई लिएर प्रशिक्षक प्रभाकर आलोचित बन्दै आएका थिए। खेलाडीको आन्तरिक विषय त छँदैछ।

लिग २ मा तीन कप्तान

पारस खड्काले कप्तानी छाडेपछि टिम सम्हालेका ज्ञानेन्द्र मल्लको लिडिङमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपालको आफ्नो पहिलो खेलमा घरेलु मैदानमा खेलेको थियो। मल्लको कप्तानीमा सन् २०२० को फेब्रुअरीमा ओमनविरुद्ध खेलेको नेपालले लिग २ का खेलहरु नसकिँदै थप दुई कप्तान पाइसकेको छ।

तत्कालिन कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलगायत ४ जनाको ग्रेडिङलाई लिएर क्यानसँग विवाद चुलिएपछि उनीहरु कारवाहीमा परेका थिए। भलै पछि कारवाही फिर्ता भयो। तर कप्तान र उपकप्तानको पद फिर्ता भएन।

विक्रम सम्बत २०७८ सालमा कप्तानीमा आए सन्दीप लामिछाने। उनले सन् २०२२ को मार्चमा पपुवा न्युगिनीविरुद्धको खेलबाट उनले लिग २ मा नेपालको कप्तानी सम्हाले। तर, बलात्कारको मुद्दामा तानिएपछि ९ महिना नबित्दै टिमबाट निलम्बित हुन पुगे। पछिल्लो समय रोहितकुमार पौडेल नेपाली टोलीको कप्तान छन्। कात्तिकमा कप्तानमा नियुक्त भएका उनले पछिल्लोपटकको नामिबिया सिरिजबाट लिग २ मा नेपालको कप्तानी गरिरहेका छन्।

टिक्दैनन् प्रशिक्षक : ३ जना ८/८ महिना टिक्दा प्रभाकर ४ महिना

नेपाली राष्ट्रिय टोलीको पछिल्लो ‘ट्रेन्ड’ हेर्दा प्रशिक्षक टिक्नै मुस्किल परेको देखिन्छन्। २०७६ साल जेठ महिनामा राष्ट्रिय टोलीको प्रशिक्षक बनेर आएका उमेश पटवाल ८ महिना नबित्दै फर्किए। नेपालको 'क्रिकेट कल्चर' लाई नै परिवर्तन गर्ने बताएका पटवाल फर्कनुका पछाडि क्यानसँगको करको विवादलाई लिइएको छ। यद्यपि, उनले व्यक्तिगत कारण देखाउँदै बिदा लिए।

उनीपछि २०७७ सालको पुस महिनामा नेपाली टोलीको मुख्य प्रशिक्षक बनेर आए डेभ ह्वाटमोर। उनलाई भित्र्याउँदै गर्दा क्यानका तत्कालीन सचिव अशोकनाथ प्याकुरेलले धेरै अफ्ठ्याराबिच उनलाई ल्याएको भन्दै क्रिकेटको स्तरमाथि जाने दाबी गरेका थिए।

‘डेभ जतिको स्तरको कोच ल्याउन नेपाललाई त्यति सजिलो थिएन। हिजोको दिनसम्म हामीले जुन किसिमले कोचहरु यहाँ ल्याएर काम गराइरहेका थियौ। त्यसको तुलनमा नेपाली क्रिकेटले एउटा छलाङ मार्ने गरि क्यानले कदम अघि बढाएको छ,’ उनले भनेका थिए। 

तर, ह्वाटमोर पनि लामो समय टिक्न सकेनन्। २०७८ को भदौ महिनामा उनले पनि राजीनामा दिए। उनको कार्यकाल पनि ८ महिनाभन्दा लामो हुन सकेन। उनले नेपालको राष्ट्रिय टोली छाडेर भारतको रणजी टोली सम्हाल्ने निर्णय गरे।

उनीपछि नेपाली टोलीको नेतृत्व सम्हाले पहिलो कार्यकालमा सफल प्रशिक्षकको पगरी पाएका पुबुदु दासानायकेले। क्यान खेलाडी विवाद, खेलाडीबिचकै गुटबन्दी र कप्तान परिवर्तनको संक्रमणकालीन अवस्थामा आएका दासानायकेको दोस्रो कार्यकाल सफल देखिँदैन। उनले आफूले पारिवारिक कारणले राजीनामा दिने पनि क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न उनले नेपाली टोली छाडेका थिए। २०७८ सालको मंसिरमा उनको कार्यकाल सुरु भएको थियो। २०७९ सालको साउन महिनामामै उनले राजीनामा दिए। अर्थात उनको कार्यकाल पनि ८ महिनाभन्दा लामो कार्यकाल हुन सकेन।

पुबुदपछि विवादित तर हाइप्रोफाइल प्रशिक्षकका रुपमा आएका हुन् प्रभाकर। खेलाडीसँगको आन्तरिक किचलोसँगै नतिजा सोचेअनुरुप उनले दिलाउन सकेनन्। 'नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर म नेपाली क्रिकेट टोलीलाई क्रिकेटको बलियो टिम बनाउन काम गर्न चाहन्छु,' नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएपछि उनले भनेका थिए। उनलाई खेलाडी मिलाएर लैजान कठिन हुने संकेत उनी अघिका प्रशिक्षक पुबुदु दासानायकेले पनि दिइसकेका थिए।

'२०११-२०१५ सम्म नेपालमा थिएँ, त्यतिबेला टिममा कुनै समस्या थिएन। तिनीहरू एक टोली थिए र तिनीहरू जित्नमा धेरै केन्द्रित थिए, खेलहरू जित्नको लागि आफ्नो दुई सय प्रतिशत दिए। यसपटक आउँदा मैले यहाँ धेरै साना समूहहरू देखेँ। उनीहरुको सोचाइ बिल्कुलै फरक थियो।'

उनले अगाडि भनेका थिए : उनीहरुको क्रिकेट खेल्नमा ध्यान थिएन। त्यहाँ 'सिस्टम' वरिपरि धेरै अन्य समस्याहरू थिए। त्यो स्पष्ट हुन केही समय लाग्यो।

यसबाहेक उनले खेलाडी र क्यानको विवादले उब्जाएको कठिनाइबारे चर्चा गर्दै ‘टप अर्डर’मा अनुभव नभएका युवा ब्याट्सम्यान हुँदा कठिन भएको बताएका थिए।

खैर साउन महिनामा आएका प्रभाकर ४ महिना नबित्दै नेपाली टोलीबाट बिदा लिएका छन्।

ओरालो लागेको प्रदर्शन

सन् २०१४ को टी २० विश्वकप खेलेको नेपालले त्यसयता विश्वकपमा छनोट हुन सकेको छैन। एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा रहेको क्रिकेट विश्वकप लिग २ मा कमजोर प्रदर्शनसँग नेपालको एकदिवसीय मान्यता पनि धरापमा पर्न थालेको छ। लिग २ को शीर्ष दुईमा पर्ने सम्भावना त सकिएको छ नै नेपालभन्दा एक स्थानमात्र अघि रहेको यूएई पनि ९ अंकले अगाडि छ।

शीर्षस्थानको स्कटल्याण्डले ४६ अंक जोड्दा ४४ अंक जोडेको ओमन दोस्रो, ३७ अंक जोडेको नामिबिया तेस्रो, ३५ अंक जोडेको अमेरिका चौथो, २७ अंक जोडेको यूएई पाँचौँ तथा १८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ। नेपालभन्दा पछि रहेको पपुवा न्युगिनीको ५ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell