PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

दुई विश्वकपमा फाइनल पुगेर हारेका अर्जेन्टिना र क्रोएसियाको टक्कर, मेस्सीलाई रोक्ने के छ लुकाको दाउ?



पहिलोपोस्ट

दुई विश्वकपमा फाइनल पुगेर हारेका अर्जेन्टिना र क्रोएसियाको टक्कर, मेस्सीलाई रोक्ने के छ लुकाको दाउ?
Photo: fifa

ब्यालोन डि'ओर विजेता जर्सी नम्बर १० का दुई खेलाडी। अघिल्ला संस्करणका विश्वकपहरुमा फाइनलमा पराजय व्यहोरेका खेलाडी। दुई देशका कप्तान। सन्यासअघि विश्वकपको ट्रफी उचालेर प्रमाणित गर्ने अन्तिम अवसर

यो चर्चा हो अर्जेन्टनाका कप्तान लियोनल मेस्सी र क्रोएसियाका कप्तान लुका मोड्रिचको। विश्वकप करियरको अन्त्यमा रहेका ३५ वर्षे मेस्सी र ३७ वर्षे मोड्रिच आज राति हुने विश्वकपको सेमिफाइनलमा आमनेसामने हुँदैछन्।

यी दुवै खेलाडीले आफ्नो टिमको विश्वकप सेमिफाइनल यात्रामा अहम भूमिका खेलेका छन्। अझ दुवै जनाले क्वाटरफाइनलमा ‘टाइ-ब्रेकर’मा गोल गरेका थिए। मेस्सी नेतृत्वको अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई ‘टाइ-ब्रेकर’मा हराउँदै फाइनलमा स्थान सुरक्षित गर्दा क्रोएसियाले पनि ब्राजिललाई ‘टाइ-ब्रेकर’मै हराएको थियो।

अझ यी दुवै खेलाडीले विश्वकपको फाइनलमा हार ब्यहोरेका छन्। सन् २०१४ को विश्वकपमा अर्जेन्टिना जर्मनीसँग १-० ले पराजित हुँदा क्रोएसिया २०१८ को विश्वकपमा फ्रान्ससँग ४-२ गोलअन्तरले पराजित भएको थियो।

मेस्सीले विश्वकपमा १० गोल गरेका छन्। उनीभन्दा धेरै गोल सात जना खेलाडीले मात्र गरेका छन्। जसको शीर्षस्थानमा छन् जर्मनीबाट १६ गोल गरेका मेरिस्लाब क्लोज। एसिस्टको सन्दर्भमा भने उनी पेलेको कीर्तिमानलाई पछि पार्दै सबैभन्दा अगाडि छन्। १७० क्याप जितेर ९५ गोल गरेका मेस्सीको राष्ट्रिय कीर्तिमान हो।

अर्कोतर्फ क्रोएसियाका लागि १६० क्याप जितेका मोड्रिचले २३ अन्तर्राष्ट्रिय गोल गरेका छन्। हालसम्म मेस्सीले कोपा अमेरिका जितेका छन् भने मोड्रिचले अन्तर्राष्ट्रिय ट्रफी जित्न सकेका छैनन्।

अझ रोचक विषय भनेको मेस्सीले पहिलो अन्तर्राष्ट्रिय गोल क्रोएसियाविरुद्ध २००६ मा गरेका थिए। त्यही खेलबाट मोड्रिचले अन्तर्राष्ट्रिय करियरमा डेब्यू गरेका थिए।

यी दुई कप्तानको कप्तानीमा लुसइल स्टेडियममा पौने १ बजे अर्जेन्टिना र क्रोएसिया आमनेसामने हुँदैछन्। कुन टिमको के छ तयारी?

अर्जेन्टिना दबाबमा भएको क्रोएसियाको आँकलन

क्रोएसियाका प्रशिक्षक ज्लाज्को डालिकले सेमिफाइनल खेलमा आफ्नो टोली भन्दा अर्जेन्टिना बढी दबाबमा भएको बताएका छन्। लगातार दोस्रो पटक सेमिफाइनल पुगेको क्रोएसिया पहिलो विश्वकप उपाधिको होडमा छ।

‘लगातार दुई विश्वकपका लागि चार उत्कृष्ट राष्ट्रिय टोलीमा पर्न पाउनु ठूलो कुरा हो। यद्यपि, हामी थप चाहन्छौं’, उनले भने, ‘हामी लियोनेल मेस्सीको नेतृत्वमा उत्कृष्ट टोली अर्जेन्टिनासँग खेल्न गइरहेका छौँ। उनीहरू अत्यधिक 'मोटिभेटेड' छन्, तर यो विशेष समयमा क्रोएसियाभन्दा धेरै दबावमा छन्।’

उनले अगाडि भने : हामीले हाम्रा प्रतिद्वन्द्वीको विश्लेषण गरेका छौँ। हामीलाई थाहा छ उनीहरू कसरी खेल्छन्। हामीलाई थाहा छ उनीहरू कहाँ खेल लिन चाहन्छन्। र, हामी उनीहरूका लागि तयारी गरेका छौँ।

डालिकले अर्जेन्टिनाविरुद्ध आफ्नो रणनीति नफेर्ने संकेत गरेका छन्।

‘हामी धेरै परिवर्तन गर्ने पक्षमा छैनौँ। हामीलाई उनीहरूको बल र कमजोरी थाहा छ। हाम्रो आफ्नै खेल जारी रहनेछ। मलाई आशा छ यसले सही नतिजा ल्याउनेछ,’ उनले भने।

क्रोएसियासँग सजक अर्जेन्टिना

क्वाटरफाइनलमा नेदरल्याण्ड्समाथि संघर्षपूर्ण जित निकालेको अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले क्रोएसियाविरुद्धको खेल ‘टफ’ हुने बताए। ८९ हजार क्षमताको लुसइल स्टेडियममा हुने खेल चुनौतीपूर्ण हुने उनले बताए।

‘हामी 'टफ' खेलको अपेक्षा गर्दछौँ र हाम्रो प्रतिस्पर्धा वास्तवमै राम्रो टोलीसँग छ। उनीहरू एक 'प्रोपर' टोलीको रूपमा खेल्छन्’, स्कालोनीले दोहामा खेल पूर्व सम्मेलनमा पत्रकारहरूलाई भने, ‘उनीहरूले हाम्रा लागि चुनौतीपूर्ण प्रतिस्पर्धी बन्नेछन्।’

‘उनीहरूको एक विशिष्ट खेल शैली छ। उनीहरूले यसलाई परिवर्तन गर्नेछन् भन्ने मलाई। यो न डिफेन्सिभ हो न अट्याकिङ हो’, उनले भने, ‘उनीहरूसँग धेरै राम्रा खेलाडीहरू छन्। र, तिनीहरूसँग लामो समयदेखि चल्ने फुटबल परम्परा छ।’

उनले अर्जेन्टिनाले पनि आफ्नो शैलीमा खेल्ने बताए।

‘हामीसँग हाम्रो प्रणाली र हाम्रो आफ्नो शैली छ। हामी हाम्रो शैली परिवर्तन गर्दैनौं। हामीलाई थाहा छ उनीहरूसँग उत्कृष्ट खेलाडी छन्। उनीहरूसँग हामीलाई नोक्सान पुर्‍याउन सक्ने खेलाडीहरू छन्। म नाम उल्लेख गर्दिनँ’, स्कालोनी थपे, ‘कहिलेकाहीँ भाग्य तपाईंको पक्षमा हुन सक्छ। यदि हामीसँग राम्रो प्रदर्शन छ भने हामीसँग लक्ष्यमा पुग्न सजिलो हुनेछ। तर, यो फुटबलको खेल हो, त्यसैले कहिलेकाहीँ उत्कृष्ट टोलीले नजित्न सक्छ।’

सेमिफाइनलसम्मको यात्रा

आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासित हार ब्यहोरेको अर्जेन्टिनाले समूह चरणमा पोल्याण्ड, मेक्सिको र साउदी अरेबियालाई पछि पार्दै समूह ‘सी’को विजेता बनेको थियो। अन्तिम १६ मा अस्ट्रेलियालाई २-१ गोलअन्तरले हराएको अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो।

त्यस्तै, समूह ‘एफ’ उपविजेता क्रोएसियाले बेल्जियम र क्यानडालाई पछि पार्दा मोरोक्कोसँग भने २ अंकले पछि रहेको थियो। अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा हराएको क्रोएसियाले क्वाटरफाइनलमा उपाधिको प्रवल दाबेदारमध्ये मानिएको ब्राजिललाई पेनाल्टी सुटआउटमै हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।

अर्जेन्टिना र क्रोएसिया हालसम्म पाँच पटक आमनेसामने भएका छन्। दुवै टोलीले समान दुई पटक जित निकाल्दा एक खेल बराबरीमा रोकिएको छ। मेस्सी र मोड्रिच यसअघि तीन खेलमा राष्ट्रिय टोलीबाट एकअर्का विरुद्ध मैदानमा उत्रिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell