PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

मेलम्चीको पानी वितरणका लागि नभइ नहुने स्काडा के हो, ९५ करोडको यो परियोजना किन बनेन समयमै?



शुक्र गिरी

मेलम्चीको पानी वितरणका लागि नभइ नहुने स्काडा के हो, ९५ करोडको यो परियोजना किन बनेन समयमै?

काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेपछि सोमबार काठमाडौंको लैनचौरमा सडक जलमग्न बन्यो। आवागमन प्रभावितमात्रै भएन, पानी बगेको सडक नै क्षतविक्षत भयो। सवारी व्यवस्थापन अस्तव्यस्त बन्यो।

उपत्यकाका विभिन्न स्थानमा यसपटक शुक्रबारदेखि मेलम्चीको पानी धारामा आएको छ। आवश्यक तयारीविनै मेलम्चीको पानी वितरण थालिएपछि विभिन्न स्थानमा सडक नै भत्किएर समस्या आउन थालेको हो। पानी किन लिकेज भयो? यसरी सडक भत्किएर ठूलै समस्या किन आइरहेको छ? खानेपानी वितरणमा भइरहेको यो समस्या समाधान गर्न सकिँदैन?

अहिले यी प्रश्न उठेका छन्, जुन स्वाभाविक हो। मेलम्चीको पानी वितरण गर्नुअघि नै स्काडा निर्माण नगर्दा यो समस्या आएको हो।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का अनुसार अत्याधुनिक कम्प्युटराइज प्रणाली सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा) बनेको भए एउटा रुममा नै बसेर उक्त क्षेत्रको पानी बन्द गर्न सकिन्थ्यो र त्यसले धेरै क्षति हुनबाट जोगिन्थ्यो।

निर्देशनालयका निर्देशक राजेन्द्र शाक्यका अनुसार स्काडा राख्न सकिएमा डिजिटल रुपमा रुममा बसेर पानीको भल्भ बन्द गर्न सकिन्थ्यो।

'त्यसले गर्दा यस्तो धेरै क्षति हुने अवस्था हुने थिएन,' उनले भने, 'पाइप फुट्नबाट रोक्न भने यसले सक्दैन। तर क्षति धेरै हुनबाट भने रोक्न सकिन्छ। पानी वितरण प्रणाली व्यवस्थित हुने थियो।'

उनले उपत्यकामा अहिले विद्युत प्राधिकरण तथा सडक आयोजनाहरुको काम गर्दा समस्या आएको हुन सक्ने बताउँछन्। 'हामीले सबै निकायसँग कुरा गरिरहेका छौं। के कुराले गर्दा यस्तो समस्या आयो भन्ने कुरा हामी छिट्टै पत्ता लगाउँछौं,' उनले भने, 'उपत्यकामा यस्तो समस्या आउनुमा पुराना प्रणालीमा जोड्नु पनि हो।'

हाल स्काडाको ठेक्काको डिजाइनको मात्र काम भइरहेको छ। कोरोनाका कारण १ वर्ष र मोबिलाइजेसन रकम भुक्तानी समयमा नहुँदा ६ महिना गरेर लगभग सम्झौता भएको मितिले डेढ वर्षसम्म काम हुन नसकेको शाक्यले बताए।

डलर अकाउन्टको समस्या हुँदा निर्माण कम्पनीलाई गर्ने मोबिलाइजेसन रकमको भुक्तानीमा समस्या आएको उनको भनाइ छ। तर अहिले राष्ट्र बैंकले सहज गरी दिएकाले त्यस्तो समस्या नरहेको उनले बताए।

शाक्यका अनुसार काम सुरु भएको ८ महिना भएको र सबै सेक्टरको डिजाइनको काम नै सकिएको छैन। उनका अनुसार स्काडा निर्माणको जिम्मा भीसीजीपी डब्लुएमआई-कालिका जेभीलाई २०७७ को साउनमा ९५ करोडमा दिइएको थियो।

यो बनाउन ९ महिना डिजाइन र काम सम्पन्न गर्न २१ महिना गरेर ३० महिनाको समयावधि दिइएको थियो। हालसम्म कम्पनीले ९ करोड अर्थात १० प्रतिशत मोबिलाइजेसन रकम लगिसकेको छ। निर्माण कम्पनीले ५ करोड बराबरका इक्विपमेन्टहरु ल्याइसकेको उनको भनाइ छ।

अहिले ६ वटा स्थानको मात्र डिजाइन हुँदै

शाक्यका अनुसार निर्माण व्यवसायीले अहिले ६ वटा स्थानको मात्र डिजाइनको काम गरिरहेको छ। 'अहिले ६ वटा स्थानको मात्र डिजाइन गर्ने काम भइरहेको छ,' उनले भने, 'अब निर्माण कम्पनीले तयार पारेको डिजाइन अन्तर्राष्ट्रिय परामर्शदाताले अन्तिम मूल्यांकन गर्ने छन्। त्यसपछि मात्र डिजाइन स्वीकृत हुनेछ।'

अहिले बाँसबारी, बालाजु, पानीपोखरी, महांकाल, अनामनगर र बानेश्वर क्षेत्रका पाइप लाइन तथा वितरण प्रणालीका डिजाइनको काम भइरहेको उनले बताए।

शाक्यका अनुसार बाँकी क्षेत्रको पनि अब डिजाइनको काम गर्न म्याद थप भएपछि मात्र सुरु गर्न सकिने छ।

मेलम्चीको पानी वितरणका लागि नभइ नहुने स्काडा के हो?

स्काडा खानेपानी वितरणका लागि विश्वका विभिन्न मुलुकमा अपनाइएको पछिल्लो र अत्याधुनिक कम्प्युटराइज स्वचालित प्रणाली हो। यसमा एउटा कोठामै बसेर कम्प्युटरमार्फत पानीका स्रोत (रिजर्भ ट्यांकी) हरुका साथै पानीको मात्रा तथा सम्पूर्ण वितरण प्रणालीको अवस्था हेर्न र नियन्त्रण पनि गर्न सकिन्छ। यसरी कम्प्युटरबाटै पूरै वितरण प्रणाली नियन्त्रणका लागि स्काडाअन्तर्गत सेन्सर पनि जडान गरिएको हुन्छ।

यी विशेषता र सुविधाका कारण स्काडा जडान गरेपछि पानी वितरण प्रणालीमा हुने ठूलो परिमाणको चुहावट नियन्त्रण हुनेछ। विद्यमान प्रणालीबाट वितरित दैनिक १२ करोड लिटर पानीमध्ये करिब ४० प्रतिशत चुहावट रहेको वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आफैंले बताउँदै आएको छ।

अहिले राजधानीमा पानी वितरणका लागि प्रयोग हुँदै आएको यही परम्परागत प्रणाली हटाएर अत्याधुनिक क्लोज सिस्टममा आधारित स्काडा प्रणाली स्थापना गर्न लागिएको हो। यो प्रणालीबिना मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ल्याउन लागिएको पानी वितरण असम्भव जस्तै रहेको आयोजना प्रमुख थापाको भनाइ छ।

स्काडाले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा कति पानी आयो, उपत्यका रहेका रिजर्भ पोखरीहरुमा कति पानी छ, कुन पाइपलाइनबाट कति वितरण भइरहेको छ, कुन क्षेत्रमा पानी वितरण भएको छैन, कहाँ कहाँ लिकेज छ लगायतका सम्पूर्ण विवरण हेर्न तथा नियन्त्रण गर्न सकिन्छ।

यसबाट कतै समस्या आए तत्कालै हेर्न सकिने हुँदा मर्मत गर्न टोली त्यतातिर पठाउन सकिन्छ, जसले लिकेज नियन्त्रणमा सहयोग गर्नेछ।

स्काडा नराखी मेलम्चीको पानी वितरण गरिने हो भने पानी लिकेजका कारण काठमाडौं अस्तव्यस्त हुन्छ, सडकहरु ध्वस्त हुन्छन् भने पानी वितरण समेत समान बनाउन सकिंदैन। अहिले मान्छे फिल्डसम्मै पुगेर गर्दै आएका धेरै काम कम्प्युटरबाटै गर्न सकिने यो प्रणाली जडान गरेपछि अहिलेजस्तो पानी वितरणका लागि ११/१२ सय कर्मचारी पनि नचाहिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell