काठमाडौं : निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारलाई निर्वाचित गर्ने तयारी गरेको छ। दलहरुलाई समानुपातिकको सूचीमा समावेशी सिद्धान्तअनुसार मिले नमिलेकोबारे सच्याउनका लागि दिएको समय सोमवार नै सकिएको थियो। शनिवारसम्म आयोगले दलहहरुलाई उम्मेदवारको नाम बुझाउन समसीमा तोकेको थियो।
प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि आयोगले सच्याउन आग्रह गरेको थियो। सबै ठाउँको सच्याउने काम सकिसकेको निर्वाचन आयोग समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए। 'भोलि भन्दा ढिला नहोला। सांसदहरु निर्वाचित गर्ने काम, सच्याउने काम सकिसकेको छ,' वाग्लेले भने।
एमालेले सच्यायो नाम
एमालेले मधेश प्रदेशबाट समानुपातिकको बन्द सूचीमा रहेकी जैनa खातुनलाई सचिवालय बैठकमार्फत सूचीबाट हटाउने निर्णय गरेको थियो। तर आयोगले बन्द सूचीमा रहेकालाई हटाउन नमिल्ने बताएपछि एमालेले जैनवकै नाम कायम गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको हो। पार्टी विरोधी गतिविधिमा लागेको भन्दै जैनवलाई कारवाही गरेपछि नाजिमा खातुनको नाम कायम गरिदिन एमालेले आग्रह गरेको थियो।
प्रदेश १ मा पनि अल्पसंख्यकमा यशोदा कायस्थालाई राख्ने एमालेले आयोगसमक्ष आग्रह गरेको छ। माया जिमीको नाम राखेकोमा आयोगले सच्याउन एमालेललाई भनेको थियो। मधेश प्रदेशको अल्पसंख्यक तर्फ शीला यादवको सट्टामा उनीभन्दा अघि रहेकी राजपती देवी जैसवाललको नाम कायम गर्न पनि एमालेले भनेको छ।