PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

दीपिकाले लगाएको पहिरनको रंगलाई लिएर भारतमा हंगामा, 'पठान' को गीत किन भइरहेको छ आलोचित?



पहिलोपोस्ट

दीपिकाले लगाएको पहिरनको रंगलाई लिएर भारतमा हंगामा, 'पठान' को गीत किन भइरहेको छ आलोचित?

शाहरुख खानको फिल्म ‘पठान’ एकपटक फेरि सामाजिक सञ्जाल प्रयोगकर्ताको आक्रमणमा परेको छ। फिल्मको गीत इन्टरनेटमा भाइरल भएसँगै सामाजिक सञ्जालमा फिल्म बहिष्कारको माग उठ्न थालेको हो।

दुईदिनअघि ‘पठान’ को पहिलो गीत ‘बेशर्म रंग’ रिलिज भएको थियो। गीतमा दीपिका पादुकोण र शाहरुखको रोमान्टिक केमेस्ट्री देखाइएको छ। भिडियोमा दीपिकाले 'भगवा' रंगको बिकिनी लगाएकी छिन्।

सामाजिक प्रयोगकर्ताले गीतको भिडियोले अश्लीलता फैलाएको बताउँदै 'भगवा' रंगको बिकिनी लगाएर दीपिकाले हिन्दूहरूको भावनामा चोट पुर्‍याएको उल्लेख गरेका छन्। ट्विटरमा फिल्म पठानको बहिष्कारको 'ट्रेन्ड' नै चलिरहेको छ। 

एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘बलिउड फिल्म पठान, अभिनेत्री जेएनयू गिरोह सदस्य दीपिका पादुकोण र शाहरुख खान, दीपिकाको लुगाको रंग भगवा र गीतको नाम बेशर्म रङ छ, त्यसैले म यो फिल्म बहिष्कार गर्छु।’

‘बेशर्म रंगको गीत हेरेर दीपिकाले यो भन्दा राम्रो गर्न सक्थिन् भन्ने लाग्यो। उनले गीतमा डान्स मुभको नाममा जे गरिरहेकी छिन् त्यो सुन्दर छैन,’ अर्का प्रयोगकर्ताले ट्विटरमा लेखेका छन्।

त्यसैगरि, भाजपा कार्यकर्ता अरुण यादवले पनि भगवा रंगको पोशाक लगाएको गीतको नाम बेशर्म रंग राखेको भन्दै असन्तुष्टि जनाएका छन्। केहीले भने पठानमार्फत बलिउडमा सफ्ट पोर्न सेवा गरिरहेको आरोप समेत लगाएका छन्।

सिद्धार्थ अन्नद निर्देशित यस फिल्ममा शाहरूख र दीपिकाका साथै जोन अब्राहम,  डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय रहेको छ। यो फिल्म सन् २०२३ जनवरी २५ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell