PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

फाइनल प्रतिद्वन्द्वी पर्खँदै अर्जेन्टिना, 'जायन्ट किलर'ले रोक्ला साविक विश्वविजेतालाई?



पहिलोपोस्ट

फाइनल प्रतिद्वन्द्वी पर्खँदै अर्जेन्टिना, 'जायन्ट किलर'ले रोक्ला साविक विश्वविजेतालाई?
फोटो : Getty Image

फिफा विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा आज विश्वकपको साविक विजेता फ्रान्स र मोरोक्को भिड्दैछन्। कतारको दोहास्थित अल बायेत स्टेडियममा राति पौने १ बजे खेल सुरु हुनेछ।

मोरोक्को अफ्रिका महादेशबाटै फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो मुलुक हो। प्रतियोगितामा एकपछि अर्को 'सरप्राइज' जित निकालेको मोरोक्कोले सेमिफाइनल प्रवेश गर्न स्पेन, पोर्चुगलजस्ता फुटबल 'जायन्ट' लाई हराएको थियो। समूह 'एफ'बाट क्रोएसिया, क्यानडा र बेल्जियमलाई पछि पार्दै मोरोक्को समूह विजेता बनेको थियो। अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको मोरोक्कोले क्वाटरफाइनलमा क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगललाई १-० गोलअन्तरले हराएको थियो।

अर्कोतर्फ साविक विजेता फ्रान्सको पनि जारी विश्वकपमा प्रदर्शन सानदार छ। समूह 'डी' मा अस्ट्रेलिया, डेनमार्क र ट्युनिसियालाई पछि पार्दै समूह विजेता बनेको थियो। समूहको अन्तिम खेलमा भने ट्युनिसियासँग पराजित भएको थियो। नकआउट चरणमा पोल्याण्डमाथि ३-१ गोलको सहज जित निकालेको फ्रान्सले क्वाटरफाइनलमा बलियो इङ्ग्ल्याण्डलाई २-१ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो।

प्रतियोगितामा 'जायन्ट किलर' को छबि बनाएको मोरोक्कोसँग ओभरकन्फिडेन्ट भएर 'जाल'मा नपर्ने फेन्च डिफेन्डर राफेल भरानेले बताएका छन्।

'त्यो जालमा नपर्नको लागि हामीसँग टोलीमा पर्याप्त अनुभव छ,' सन् २०१८ को विश्वकप जित्दा महत्वपूर्ण भुमिका खेलेका उनले भने, 'हामीलाई थाहा छ मोरोक्को संयोगले यहाँ छैन। सबैजना अर्को लडाईको लागि तयार छन्। विश्वकपको सेमिफाइनल पुग्न सजिलो छैन त्यसैले हामी धेरै खुसी छौं, तर एकमात्र वास्तविक उद्देश्य यसलाई जित्नु हो।'

मोरोक्कोका प्रशिक्षक वालिद रेग्रागुइले सेमिफाइनल पुगेको भनेर चित्त बुझाएर नबस्ने स्पस्ट पारेका छन्।

'विश्वकपको सेमिफाइनल पुग्न सजिलो छैन त्यसैले हामी धेरै खुसी छौं। तर, हाम्रो एक मात्र वास्तविक उद्देश्य यसलाई जित्नु हो,' उनले भने, 'हामी ठूलो इच्छाशक्ति देखाउनेछौं र अप्ठ्यारो हटाउन प्रयास गर्नेछौं। विश्वकपको फाइनलमा किन पुग्न सकिँदैन? हामी सपना देख्न सक्छौ, सपना देख्नका लागि मुल्य लाग्दैन।'

आफ्नो टोलीलाई उपाधिको दावेदार नमानिए पनि अझ अरु सफलताका लागि आफूहरु भोको रहेको उनले बताए।

'यो प्रयास पर्याप्त हुनेछ या छैन मलाई थाहा छैन। मलाई थाहा छ हामीलाई उपाधि दाबेदारका रुपमा लिइँदैन। तर हामी विश्वस्त छौं: हामी अफ्रिक र अरबको लागि अगाडि बढ्न लड्नेछौं।' उनले भने।

सेमिफाइनलसम्म पुग्दा मोरोक्कोले प्रतिद्वन्द्वीबाट गोल खाएको छैन। क्यानडाविरुद्धको खेलमा भने एक गोल आत्मघाती ब्यहोरेको थियो।

आजको विजेता टोलीले विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell