
काठमाडौं : निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। चुनाव भएको २४ दिनपछि आयोगले समानुपातिक र प्रत्यक्षतर्फको निर्वाचनको परिणाम सार्वजनिक गरेको हो। मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भएको थियो।
आयोगले प्रतिनिधि सभाको मत परिणामको प्रतिवदन मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।
'मंसिर २९ गते सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ,' थपलियाले भने। यस्तै, प्रदेशको नतिजा भने पुस २ गते आयोगले प्रदेश प्रमुखलाई बुझाउनेछ।
संघमा भन्दा प्रदेशमा महिलाको सहभागिता धेरै
प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरि ८२५ जना सांसद निर्वाचित भएका छन्। जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना अर्थात ६६.९० प्रतिशत र महिला ९१ जना अर्थात ३३.१० प्रतिशत निर्वाचित भएका छन्।
प्रदेश सभातर्फ पुरुष ३५० जना अर्थात ६३.६४ प्रतिशत र महिला २०० जना अर्थात ३६.३६ प्रतिशत निर्वाचित भएका छन्।
प्रतिनिधि सभा निर्वाचनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागि भएका थिए ।
प्रतिनिधि सभामा भन्दा प्रदेशमा बदर मत धेरै
प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ अर्थात ६१.४१ प्रतिशत मतदान भएको थियो। जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ। ५.०६ प्रतिशत मत बदर भएको थियो।
प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ अर्थात ६१.८५ प्रतिशत मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भयो। समानुपातिकमा ५.९ प्रतिशत मत बदर भएको थियो।
प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० अर्थात ६१.३६ प्रतिशत मतदान भएको थियो। जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर र ४.०७ प्रतिशत मत बदर भएको थियो।
प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ अर्थात ६१.३१ प्रतिशत मतदान भएको थियो। जसमध्ये १ करोड ३ लाख ६ हजार ११ मत सदर र ६.५५ प्रतिशत मत बदर भएको थियो।
४ हजार २८५ जनाको धरौटी जफत
सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था अनुसार ४ हजार २८५ जनाको धरौटी जफत भएको छ।
प्रतिनिधि सभामा पुरुष १ हजार ७७२ जना र महिला १८९ जना गरि जम्मा १ हजार ९६१ जनाको र प्रदेश सभातर्फ पुरुष २ हजार ८६ जना तथा महिला २३७ जना, अन्य १ गरि जम्मा २ हजार ३२४ जना (७६.०४) प्रतिशत उम्मेदवारहरूको धरौटी रकम जफत भएको हो।
कुन प्रदेशमा कति दल?
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था बमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दलको धरौटी जफत भएको छ।
प्रदेश सभातर्फ प्रदेश नं. १ मा ३०, मधेश प्रदेशमा २६, वाग्मती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको हो।
प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।
उक्त व्यवस्था अनुसार प्रदेश नं. १ मा ६, मधेश प्रदेशमा १०, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ।