PahiloPost

Oct 23, 2024 | ७ कात्तिक २०८१

एकनाथ ढकालबारे प्रमुख निर्वाचन आयुक्तलाई प्रश्न : एउटा दलको अध्यक्ष अर्को पार्टीको सांसद कसरी?



पहिलोपोस्ट

एकनाथ ढकालबारे प्रमुख निर्वाचन आयुक्तलाई प्रश्न : एउटा दलको अध्यक्ष अर्को पार्टीको सांसद कसरी?

काठमाडौं : नेपाल परिवार दलका अध्यक्ष हुन् एकनाथ ढकाल। अध्यक्ष परिवार दलको भए पनि प्रतिनिधि सभाको समानुपातिक तर्फको सांसद भने ढकाल नेकपा (एमाले)बाट भए। एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समय पार्टीमा योगदान गरेका नेताहरु भीम रावल, घनश्याम भुसाल लगायतलाई टिकट नदिँदा समानुपातिकबाट भने ढकाललाई सांसद बनाइदिए। एउटा पार्टीको अध्यक्ष अर्को पार्टबाट सांसद बन्नु अनौठो त हो नै, अझ पार्टीका नेतालाई पाखा लगाएर ढकाललाई सांसद बनाउनु राजनीतिक विचलन नै भएको भन्दै ओलीको आलोचना गर्नेहरु पनि छन्।

ढकाल प्रकरणबारे पार्टी बाहिर त ओलीको आलोचना भइरहेको छ नै एमालेभित्रै चर्को बिरोध गर्नेहरु पनि छन्। जसमध्येका एक हुन् नेता भीम रावल। चितवनमा सम्पन्न भएको १० औं महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई नै चुनौती दिएका नेता रावलले साँठगाँठ गरेर ढकाललाई टिकट दिएको भन्दै चर्को विरोध गरिरहेका छन्। आफूलाई टिकट नदिए पनि पार्टी नछोड्ने भन्दै रावलले ओलीमाथि विभिन्न आरोप लगाएका थिए निर्वाचनअघि नै पत्रकार सम्मेलन गरेर। 

रावलले अछाम-१ बाट प्रतिनिधि सभामा टिकट पाएनन्। जिल्लाबाट एकल सिफारिस भएर आएका रावलको टिकट ओलीले ख‌ोसिदिए। भुसालले टिकट नपाएपछि बिद्रोह गरे। र, रुपन्देहीबाट प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार बने। तर चुनावमा सफल भने भएनन् भुसाल। ओलीले प्रतिनिधि सभाको समानुपातिकको बन्द सूचीमै राखेदेखि विवादित बनेका ढकालबारे निर्वाचन आयोग भने मौन रह्यो।

अरु विषयमा बारम्बर दल र उम्मेदवारलाई घचघच्याइ रहने आयोगले ढकालबारे उठेका प्रश्नको जवाफ दिन तयार भएन। आयोग चुपाचाप भएकोले पनि होला बुधवार निर्वाचन आयोग बहादुर भवनमा आयोजित मत परिणाम घोषणा पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियालाई पत्रकारले प्रश्न गरे, 'एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद कसरी बने? के भन्छ निर्वाचन कानुनले?

जसरी एमाले ढकाललाई सांसद बनाएर पन्छिरहेको छ त्यसरी नै निर्वाचन आयोग पनि लामो समयदेखि कानुनको छिद्रा देखाएर उक्त विषयमा बोल्ने पक्षमा थिएन। बुधवार आयोगले भने ढकाल सांसद बनेको विषय कानुनमा आकर्षित हुने भन्दै नैतिकतासँग जोडिने बताएको छ। थपलियाले ढकालबारे उठेका प्रश्नको हाँसेरै जवाफ दिए।

'एउटा दलको अध्यक्ष अर्को दलको चुनाव चिन्ह लिएर उम्मेदवार बन्न सक्छ कि सक्दैन र कुनै दलको अध्यक्ष अर्को दलको समानुपातिक निर्वाचित सदस्य बन्न पाउँछ कि पाउँदैन भन्ने विषय मलाई लाग्छ कानुनमा स्पष्ट रुपमा उल्लेख नभएको नैतिकतासँग जोडिएको विषय होला भन्छु म,' थपलियाले भने।

थपलियाले पत्रकारको प्रश्नको जवाफ हाँसेर मात्रै दिएनन् 'ढकाल प्रकरण'लाई अझ प्रष्ट पार्न पत्रकारकै उदाहरण दिए। 'कुनै एउटा संस्थाको पत्रकारले अर्को संस्थाको वकालत गर्दै हिँडेजस्तो बडो गाह्रो, 'आफूलाई भन्दा ढकाललाई नै प्रश्न गर्नुपर्ने भन्दै थपलियाले थपे। 

थपलियाले उम्मेदवार हुनका लागि दलको सदस्य हुनु पर्ने कानुनी व्यवस्था नभएका कारण ढकाल उम्मेदवार बनेर सांसद बन्न सकेको बताए। उनले ढकाल प्रकरण छलफलको राम्रो विषयसमेत भएको बताए। 'उम्मेदवार हुन त्यो दलको सदस्य हुनु पर्दैन टिकट दिए पुग्छ। समानुपातिक तर्फको बन्द सूचीमा नाम सिफारिस व्यक्ति पनि कुनै दलको हुनुपर्छ भन्ने हुदैन। मलाई लाग्छ यो आजका दिनमा छलफलको विषय बन्न सक्छ,' थपलियाको भनाइ थियो।

एउटा दलको नेता अर्को पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवार बन्नेमा ढकालमात्रै एक्लो भने होइनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको अध्यक्ष कमल थापा मकवानपुरबाट एमालेको सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार थिए। ओलीका पक्षमा खुलिरहेका थापाले सूर्य चिन्हबाट पनि सफलता भने पाएनन्। उनलाई आफ्नै पुरानै सहकर्मी राप्रपाका दीपक सिंहले हारको स्वाद चखाए। डाक्टर बाबुराम भट्टराईकी छोरी तथा नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमी पनि प्रतिनिधि सभामा काठमाडौं-७ बाट माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनावमा उम्मेदवार बनेकी थिइन। मानुषी पनि चुनावमा सफल भने हुन सकिनन्।

नेसापाकी मानुषीलाई गठबन्धनको समर्थनमा माओवादीले प्रतिनिधि सभामा विजयी गराउन नसके पनि समानुपातिकमा भने एक जनालाई भाग दिएको छ। मुस्लिम महिलामा माओवादी केन्द्रले बाबुरामको नेसपाबाट उमरावती देवी यादवलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको हो।

निर्वाचन आयोगले बुधवार गरेको निर्वाचन परिणाम घोषणामा थपलियाले आयोगको कामबारे समेत अन्तिममा समीक्षा गरेका थिए। उनले निर्वाचनमा सहभागी भएका व्यक्ति तथा संघ संस्थाहरुलाई धन्यवाद दिए। त्यसो त थपलियाले आयोगले नयाँ अभ्यास गर्दा क्षेत्राधिकार नाघेको जस्तो देखिएको बताए। उनले कानुनलाई कानुनको रुपमा मात्रै नभए व्याख्या गर्नु पनि जरुरी भएको तर्क गरे।

'हामीले कानुनमा नहुँदा नहुँदै पनि केहि नयाँ अभ्यासहरु पनि गर्‍यौं। आयोगले क्षेत्राधिकार नाघेरै काम गर्‍यो कि भन्ने देखियो। कानुनका काला अक्षर मात्रै बाधक बन्नु हुदैन। व्याख्या जरुरी छ,' उनको भनाइ छ। यसपटकको निर्वाचनमा सकारात्मक परिणाम आएको बताएका थपलियाले निर्वाचन आयोगले आउने प्रतिनिधि सभामा नयाँ कानुन लिएर जाने बताउँछन्। 'निर्वाचन आयोग नयाँ कानुनको तर्जुमाको प्रक्रियामा छ,' थपलियाको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell