काठमाडौं : नयाँ सत्ता समीकरणबारे चर्चा भइरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्ने उद्घोष गरेका छन्।
कास्कीको महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने बताएका हुन्।
'तपाईँको शुभकामनाले काम गरे म देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु,' प्रचण्डले भने।
प्रधानमन्त्रीका रुपमा पहिलो कार्यकाल बुझ्नै नपाइ सकिएको बताएका उनले दोस्रो कार्यकालमा महत्वपूर्ण काम गरेको दाबी गरे।
'बुझन नपाइ पहिलो कार्यकाल बित्यो। दोस्रो कार्यकालमा मैले केहि मत्वपूर्ण काम गरे,' प्रचण्डको भनाइ छ।
उनले प्रधानमन्त्रीका रुपमा आफ्नो तेस्रो कार्यकाल अविस्मरणीय रहने बताएका छन्। 'देशको नेतृत्व गर्ने काम पाए कास्कीको अन्नपूर्णमा अविस्मरणीय काम गर्छु। हामी नहुँदा पनि आउने पिँढीले देख्ने गरि काम हुन्छ।'
चुनाव अघि पनि प्रचण्डले आफूले निर्वाचनमा जिते प्रधानमन्त्री बन्ने बताएका थिए। प्रचण्डले सबै दलका बिचमा अहिले प्रधानमन्त्रीका बारेमा घनिभूत रुपमा छलफल भइरहेको बताएका छन्। उनले यस पटकको निर्वाचन अघिल्लो पटकका भन्दा फरक भएको बताए। जनताले नेताहरुलाई चुनाव मार्फत चुनौती दिएको उनको बुझाइ छ।
'चुनौती कुनै न कुनै रुपमा दिएका छन्। केही नयाँ दलहरु जन्मिएका छन् चुनाव मार्फत। ती दललाई नकारात्मक रुपमा होइन सकारात्मक रुपमा लिनुपर्छ,' उनले भने।