PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

पीएसजीका 'बेस्ट फ्रेन्ड' एम्बाप्पे र हकिमी एकअर्काविरुद्ध उत्रँदै, मैदानमा दुई मित्रको खेल कस्तो होला?



पहिलोपोस्ट

पीएसजीका 'बेस्ट फ्रेन्ड' एम्बाप्पे र हकिमी एकअर्काविरुद्ध उत्रँदै, मैदानमा दुई मित्रको खेल कस्तो होला?
Photo : Getty Images/Talksport

यी दुई खेलाडीको उमेरको फरक दुईअढाइ हप्ता भन्दा बढी छैन। उनीहरुसँगै भिडियो गेम खेल्छन्। विमानमा यात्रा गर्दा उनीहरु सँगसँगै हुन्छन्। अझ बिदा मनाउन कतै जाँदा पनि उनीहरु सँगै देखिन्छन्। गोल गरेपछि यी दुईजनाले सँगै 'सेलिब्रेट' गर्छन्।

मोरोक्कोका 'ब्रिलियन्ट' राइटब्याक हकिमी र फ्रान्सका खेलाडी एम्बाप्पे क्लब स्तर खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा एकसाथ खेल्छन्। उनीहरु मैदानभित्रमात्रै होइन बाहिर पनि मिल्ने साथी हुन्। तर, अहिले मित्रता एकातिर, विश्वकप अर्कोतिर छ। आज राति हुने विश्वकपको दोस्रो सेमिफाइनलमा यी दुईजना दुई फरक टिमबाट मैदान उत्रदैछन्।

मोरोक्कोका प्रशिक्षक वालिद रेग्रागुइलाई हकिमी उत्कृष्ट लयमा रहेकोमा कुनै शंका छैन। एम्बाप्पेबारे बुझेका हकिमीले मैदानमा उनीविरुद्ध राम्रै रणनीति बनाउन वालिदको विश्वास छ।

'उसले (हकिमी)ले मैले भन्दा धेरै एम्बाप्पेबारे बुझेको छ। उनीहरु सँधै सँगै ट्रेनिङ गर्ने गर्छन्,' उनले भने, ' किलियनलाई चिन्न उनी मभन्दा उपयुक्त ठाउँमा छन्।'

हकिमीले स्पेनविरुद्ध पेनाल्टी सुटआउटमा गोल गरेपछि मोरोक्कोले जित सुनिश्चित गरेको थियो। उनको उक्त गोलपछि एम्बाप्पेले हकिमीको नाम, ताज, माया र पेन्गुइनको 'इमोजी' ट्वीट गरे। पीएसजीमा एम्बाप्पेको उपनाम 'पेन्गुइन' हो।

अघिल्लो हप्ता 'डे अफ' हुँदा एम्बाप्पे हकिमीलाई भेट्न २० मिनेट 'ड्राइभ' गरेर होटल पुगेका थिए। उनले त्यो तस्विर पनि ट्वीट गरेका छन्। एम्बाप्पेको समाजिक सञ्जालमा नेइमार, मेस्सी, थिअरे हेन्री, स्पाइडर म्यान लगायतको तस्बिर भेटिन्छन्। तर, त्यसमा सबैभन्दा बढी तस्बिर हकिमीकै छन्।

यी दुईबिच धेरै कुरा साझा छन्। दुवैको पृष्ठभूमि अफ्रिकासँग जोडिएको छ। हकिमी मोरोक्कोका हुन् भने एम्बाप्पेका बुवा क्यामरुन र आमा अल्जेरिया पृष्ठभूमिका हुन्।

इटालियन क्लब इन्टरमिलानबाट अघिल्लो वर्ष हकिमी पीएसजी पुगेपछि टिममा 'सेटल' हुन साथी एम्बाप्पेले सहायता गरेका थिए। आज प्रतिद्वन्द्वीका रूपमा भेट्दा एम्बाप्पेमा हाकिमीभन्दा बढी ध्यान हुनेछ भन्ने कुरामा कुनै शङ्का छैन।  तर, पछिल्ला खेलमा मोरोक्कोले उत्कृष्ट लय प्रस्तुत गरिरहेको छ। मोरक्कोले आफ्नो पाँच खेलमा ब्यहोरेको एक आत्मघाती गोलमात्र छ। हकिमीको यसपाला मैदानमा भन्दा पनि आमा साइदा मउसँगको भावुक तस्बिर चर्चामा आएको थियो। हकिमी स्पेनको मड्रिडमा जन्मिएका थिए जहाँ साइदा सरसफाइको काम गर्दथिन् भने उनका बुवा सडक ब्यापारी थिए।

'हामी जीविकोपार्जन गर्न संघर्ष गरेको एउटा सामान्य परिवारबाट आएका हौं,' सन् २०१८ मा हकिमीले एउटा अन्तर्वार्तामा भनेका थिए।

फ्रान्ससँग प्रतिस्पर्धामा उत्रिँदै गरेको मोरोक्को 'अण्डरडग' टोली नै हो। तर, विश्व विजेता बनिसकेका स्पेनलाई पराजित गरेको मोरोक्कोका प्रशिक्षक रेग्रागुइले आफ्नो 'क्रेजी सपना' अझै नत्याग्ने बताए।

'हामी हाम्रो महादेश भित्र मानसिकता परिवर्तन गर्न यो प्रतियोगितामा आएका छौं। यदि हामीलाई सेमिफाइनल पर्याप्त छ भन्छन् भने म त्यसमा सहमत छैन,' उनले भने, ' हामी सेमिफाइनल र त्यो गर्ने पहिलो अफ्रिकी टोली भएकोमा सन्तुष्ट छैनौं। हामी अझै अगाडि बढ्न चाहन्छौं।'

फ्रान्स र मोरोक्को भरे राति पौने १ बजे कतारको दोहास्थित अल बायेत स्टेडियममा भिड्नेछन्।

कसरी पुगे मोरोक्को र फ्रान्स सेमिफाइनलमा?

मोरोक्को अफ्रिका महादेशबाटै फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो मुलुक हो। प्रतियोगितामा एकपछि अर्को 'सरप्राइज' जित निकालेको मोरोक्कोले सेमिफाइनल प्रवेश गर्न स्पेन, पोर्चुगलजस्ता फुटबल 'जायन्ट' लाई हराएको थियो। समूह 'एफ'बाट क्रोएसिया, क्यानडा र बेल्जियमलाई पछि पार्दै मोरोक्को समूह विजेता बनेको थियो। अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको मोरोक्कोले क्वाटरफाइनलमा क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगललाई १-० गोलअन्तरले हराएको थियो।

अर्कोतर्फ साविक विजेता फ्रान्सको पनि जारी विश्वकपमा प्रदर्शन सानदार छ। समूह 'डी' मा अस्ट्रेलिया, डेनमार्क र ट्युनिसियालाई पछि पार्दै समूह विजेता बनेको थियो। समूहको अन्तिम खेलमा भने ट्युनिसियासँग पराजित भएको थियो। नकआउट चरणमा पोल्याण्डमाथि ३-१ गोलको सहज जित निकालेको फ्रान्सले क्वाटरफाइनलमा बलियो इङ्ग्ल्याण्डलाई २-१ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell