PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मध्यपुर थिमिमा सकियो नवदुर्गा नाच, एक हप्तापछि फर्किए देवगणहरु

मध्यपुर थिमिमा सकियो नवदुर्गा नाच, एक हप्तापछि फर्किए देवगणहरु

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : मध्यपुर थिमिमा नवदुर्गा नाच आज सम्पन्न भएको छ। यहाँ य:मरि पुन्हीको दिनदेखि एक हप्तासम्म नवदुर्गा देवगणले नृत्य प्रस्तुत गर्ने गर्छन्।

११ वर्ष सम्म थिमिमा रोकिएको नवदुर्गा नाच २०७५ सालदेखि पुन: सुरु भएको हो।

हप्तादिनमा मध्यपुर नगरपालिकाको दिगुटोल, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, नगदेश, बोडे लगायत अन्य स्थानमा नवदुर्गा नाच प्रदर्शन गरियो।

अन्तिम दिन अर्थात आज फेरि बालकुमारी मन्दिर परिसरमा नवदुर्गा नाच प्रदर्शन गरि नवदुर्गा गणहरुलाई विशेष पुजा गरि बिदाई गरियो।

नवदुर्गा नाचमा महादेव, गणेश, त्रिपुरासुन्दरी, सिम्बः, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्बः र श्वेत भैरब गरी १३ देवगणको नाच प्रदर्शन गरिएको थियो।

दशैको महानवमीमा ब्रम्हायणीमा खम्ये (राँगो) को बध गरेपछि सुरु हुने तान्त्रिक नवदुर्गा नाच भलभल अष्टमी अर्थात असार कृष्णअष्टमीका दिन देवगणहरुले लगाउने देवदेवीहरुको ख्वापा (मुकुन्डो) ब्रम्हायणीमा नै लगेर जलाएपछि सकिन्छ।यसबीच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यो नाच देखाइन्छ।

नवदुर्गा नाचका लागि प्रत्येक वर्ष ख्वा:पा बनाउने गरिन्छ। ब्रम्हायणीबाट सुरु भइ ब्रम्हायणीमा पुगेर समाप्त हुने भएकाले देवगणहरुको मूल देवता ब्रम्हायणीलाई मान्ने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell