PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा



पहिलोपोस्ट

मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा
Photo: Sorin Furcoi/Al Jazeera

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ। कतारको दोहास्थित अल बायेत स्टेडियममा सम्पन्न खेलमा अफ्रिकी टोली मोरोक्कोमाथि २-० गोलअन्तरले जित निकाल्दै साविक विश्वकप विजेता फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलको पाँचौ मिनेटमा थेओ हर्नान्डेजले डिफेन्डरहरुबीचको असमझदारीका बीच रिबाउन्डमा आएको बललाई सदुपयोग गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा दुबै टोलीले केही राम्रो अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्।

दोस्रो हाफमा ओस्मान डेम्बेलेको स्थानमा ७९ औं मिनेटमा मैदान प्रवेश गरेका रान्डल कोलो मुअनीले एक मिनेटभित्रै किलियन एम्बाप्पेको पासमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। योसँगै अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनलसम्म पुगेको पहिलो टोली मोरोक्कोले फाइनलको यात्रा तय गर्न भने असफल रह्यो। 

जितसँगै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँग भेट पक्का गरेको छ। विश्वकपको उपाधिका लागि आइतवार फ्रान्सले लियोनल मेस्सीको टोली अर्जेन्टिनसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि सेमिफाइनलमा पराजय ब्यहोरेका क्रोएसिया र मोरोक्को शनिबार तेस्रो स्थानका लागि भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell