PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

काठमाडौंका सडकमा पनि बल्ने भए बत्ती, ६० प्रतिशत तिर्न महानगर तयार



दिनेश खड्का

काठमाडौंका सडकमा पनि बल्ने भए बत्ती, ६० प्रतिशत तिर्न महानगर तयार
फाइल फोटो।

काठमाडौं : काठमाडौं महानगरपालिका सम्झौता बमोजिम ६० प्रतिशत रकम दिन तयार भएपछि स्मार्ट स्ट्रीट लाइट (सडक बत्ती) जडानको काम अघि बढ्ने भएको छ। ६० प्रतिशतमा वार्गेन गरेर बस्दा ललितपुर र भक्तपुर झिलिमिल हुँदा पनि काठमाडौं महानगरको सडक भने अँध्यारो थियो। 

‘सुरुमा महानगरका प्रमुख नै अन्योलमा हुनुहुन्थ्यो। तर, अहिले उहाँहरु थप सम्झौता गरेर अघि बढ्न तयार भएका छन्’, ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग मातहतको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका एक अधिकारीले भने, ‘बिचमा नहुने जस्तै भइसकेको आयोजना अब कार्यान्वयनमा जाने भयो।’

ती अधिकारीका अनुसार महानगरपालिका नै अहिले सडक बत्ती जडानका लागि अग्रसरता देखाएको र यही साताभित्र थप सम्झौता हुनेछ। सडकबत्ती राख्न ४० र ६० प्रतिशत लगानीको योजना प्राधिकरणले ल्याएको छ।

यो योजना अनुसार सडकमा राख्ने स्मार्ट बत्तीका लागि प्राधिकरणले ४० र महानगरले ६० प्रतिशत लगानी गर्नुपर्छ। यहि योजना अनुसार ललितपुर महानगरपालिकाले पहिलो चरणको योजना पूरा गरेर दोस्रो चरणको सुरु गर्न लागेको छ भने अरु १६/१७ वटा नगरपालिकाले जडान गरिरहेका छन्।

२०७७ मंसिर २५ गते काठमाडौं महानगरपालिका, सडक विभाग र विद्युत प्राधिकरणबिच बत्ती राख्न सहमति पनि भएको थियो। सहमति अनुसार एक वर्षमा बत्ती राखिसक्नुपर्ने थियो। तर, अहिलेसम्म काम हुन सकेको छैन। 

प्राधिकरणका ती अधिकारीका अनुसार सडक बत्ती जडानका लागि ठेक्का निकालिसकेको छ। जसअनुसार ठेक्का भएपछि कहाँ-कहाँ जडान गर्ने भनेर सर्भे गर्ने योजना थियो। तर, काठमाडौं महानगरले पहिले नै रुट पहिचान गर्नुपर्ने शर्त राख्यो।

‘हामीले लगानी गर्ने ६० प्रतिशतले कहाँ-कहाँ काम हुने हो रुट पहिचान हुनुपर्छ भन्ने उहाँहरुले प्रस्ताव राख्न  भयो’, उनले भने, ‘त्यहि रुट पहिचानका कारणले पनि केही ढिला भयो।’

उनका अनुसार कुल ३५ किमी सडकको दायाँ बायाँ २०७८ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरिनेछ। जसका लागि १२ करोड रुपैयाँ लाग्ने अनुमान छ। त्यसको ६० प्रतिशत महानगरपालिका र ४० प्रतिशत प्राधिकरणले व्योहोर्नेछ।

प्रस्तावित योजना अनुसार महानगरपालिकाबाट गरिने लगानीले लैनचौर-महाराजगंज, माइतीघर-बागबजार, बागबजार-शितल निवास, एयरपोर्ट-गौशाला, चाबहिल-जोरपाटी,गौशाला-कमलपोखरी लगायतको रुटमा जडान हुनेछ। प्राधिकरणबाट एयरपोर्ट-तीनकुने, तीनकुने-माइतीघर, माइतीघर-कलंकी, त्रिपुरेश्वर-लैनचौर, गौशाला-चाबहिल, टुँडिखेल वरिपरि जडान हुनेछ।

प्राधिकरणका ती अधिकारीका अनुसार सुरुमा केही रकम लिएर मात्रै काम थाल्ने गरिएको छ। ‘हामीले नै रकम हालिदिएर एउटा नगरपालिकामा सुरु गरेपछि पैसा दिन नमानेपछि २० प्रतिशत रकम लिने प्रावधान राखेका हौं,’ उनले भने।

दुई कम्पनी सटलिष्ट

प्राधिकरणले महानगरपालिका क्षेत्रभित्र विद्युत जडानका लागि टेण्डर निकालिसकेको छ। आवेदन दिएका पाँच कम्पनीमध्ये दुई वटा कम्पनी प्राविधिक प्रस्ताव (टेक्निकल बिड)मा छनोटमा परेका छन्।

सूर्योदय ऊर्जा/अर्घाखाँची जेभी र एसएसपीएल/बीएनएस जेभी प्राविधिक प्रस्तावमा पास हुँदै सटलिष्टमा परेका हुन्।

‘हामी मूल्यांकनकै चरणमा छौं। महानगरपालिकाले पैसा दिने बित्तिकै आर्थिक प्रस्ताव खोल्छौ। त्यसपछि काम सुरु गर्न सकिन्छ’, उनले भने, ‘सबैभन्दा कम कबोल गर्ने कम्पनीले ठेक्का पाउनेछ।’

प्राधिकरणले भक्तपुर एरियामा १२० वाटका क्षमताका बत्तीहरु जडान गर्न गरेको छ। विद्युत कम खपत गर्ने तर उज्यालो बढी दिने ४५० बत्तीहरु जडान गरेको दाबी गरिएको छ। त्यसका लागि छुट्टै ट्रान्सफर्मर समेत राखिएको छ। यस्तो बत्ती अँध्यारो हुँदा बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था सफ्टवेयर चल्ने व्यवस्था गरिएको छ। सफ्टवेयरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ। बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै हेर्न मिल्ने व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell