काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान गर्ने भएको छ। जापानले पहिलो दर्जाको ‘ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ सम्मान सन् २०२० अप्रिल २९ मा नै पौडेललाई दिने घोषणा गरेको थियो।
सोही सम्मान बिहीवार जापानले पौडेललाई प्रदान गर्न लागेको हो। पौडेललाई विशेषत: पूर्व सभामुखको हैसियत र त्यसपछि सुदृढ जापान-नेपाल सम्बन्धका लागि कदर गरिएको हो।
जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज अपराह्न ३ बजे वरिष्ठ नेता पौडेले ग्रहण गर्ने छन्। विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक बिल गेट्स थिए।
वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल-जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्ष समेत रहेका थिए।
जापान र अन्य देशबिचको राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सम्बन्ध प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ।