
केही दिनअघि भारतीय कलाकार वीणा कपुरको हत्या भएको खबर बाहिरियो। ७४ वर्षीय वीणाको हत्या आरोपमा उनका छोरा सचिन कपुरलाई गिरफ्तार गरिएको भनि भारतीय मिडियाले समाचार छापे। तर, समाचारमा भनेअनुसार अभिनेत्रीको हत्या नभएको खबर सार्वजनिक भएको छ।
वीणाले झुटो समाचारप्रति आक्रोश जनाउँदै मुम्बईको डिन्डोशी प्रहरी चौकी पुगेर उजुरी दर्ता गराएकी छिन्। समाचारले गर्दा आफू र छोरालाई निकै चोट पुगेको उनले बताएकी छिन्।
उनले भनिन्, ‘म निकै दुखी छु मेरो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। मलाई श्रद्धाञ्जली दिइरहेका छन् र मेरो छोरालाई अपमान गरिरहेका छन्। जनताले बिना छानबिन कुरा गरिरहेका छन्। धेरै फोन र म्यासेज आइरहेको छ। म आफ्नो काममा ध्यान दिन सकिरहेकी छैन। म सबैलाई भन्न चाहन्छु म जिउँदै छु र मलाई छोराले मारेको छैन। मेरो बारेमा गलत समाचार फैलिएको छ।’
कसरी फैलियो भाम्रक समाचार ?
केहीदिन अघि मुम्बईको जुहु क्षेत्रमा एक हत्या भएको थियो। मृतक महिलाको नाम पनि वीणा कपुर थियो। ती महिलाको हत्या उनका छोरा सचिन कपुरले गरेका थिए। यति मात्र होइन, हत्या गरेर आमाको शव माथेरानको जंगलमा गाडेका थिए उनले।
यही भ्रमका कारण धेरैले अभिनेत्री वीणा कपुरलाई मृतक सम्झेर सामाजिक सञ्जालमा फोटोसहित श्रद्धाञ्जली अर्पण गरेका भारतीय संचारमाध्यमले जनाएका छन्।