काठमाडौं: फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजबाट सुरु भएको छ। माछापुछ्रे गाउँपालिकाबाट सुरु भएको फिल्मको छायाङ्कन ४० दिनसम्म चल्नेछ।
आज बिहान भएको शुभमुहुर्त समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त सर्ट दिएका थिए। सुवास थापा प्रस्तुतकर्ता रहेको फिल्ममा सुदर्शन थापाको निर्देशन रहनेछ।
यस फिल्ममा विपिन र केकीका साथै अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ।
यो फिल्म दिनेश राउत निर्देशित चर्चित फिल्म ‘प्रसाद’को सिक्वेल हो। चलचित्रको कथावस्तु उत्कृष्ट भएकाले यसको सिक्वेलले पनि अघिल्लो श्रृङ्खलाको जस्तै माया पाउने निर्देशक थापको विश्वास छ।
यस फिल्मको कथा पत्रकार सुशिल पौडेलले लेखेका हुन्। फिल्मको प्रदर्शन मिति छायाङ्कन सकिएपछि तोकिने निर्माणपक्षले बताएको छ ।