
काठमाडौं : टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले बुधबार ३.६ अर्ब अमेरिकी डलर बराबरको स्टक बिक्री गरेका छन्। योसँगै यसवर्ष उनले विद्युतीय कार निर्माता कम्पनी टेस्लाको कुल ४० अर्ब अमेरिकी डलरबराबरको सेयर बेचिसकेका छन्। हाल टेस्लाको सेयर मूल्य पछिल्लो दुई वर्षयताकै न्यून विन्दुमा छ। जसका कारण टेस्लाका लगानीकर्ताहरू निराश छन्।
मस्कले ट्वीटर खरिद गरेको केही दिनमा ४ अर्ब डलरको सेयर बेचेको थिए। त्यसको एक महिनापछि मस्कले पुन: सेयर बिक्री गरेका हुन्। एक अमेरिकी धितोपत्र फाइलिङ अनुसार उनले सोमबारदेखि बुधबारसम्म मात्रै २.२ करोड अमेरिकी डलर बराबरको सेयर अनलोड गरेका छन्।
अक्टोबरमा ४४ अर्ब डलरमा ट्वीटर किनेपछि मस्कले बिक्री गरेको यो सेयर दोस्रो ठूलो हिस्सा हो।
‘यो राम्रो अवस्था होइन। मैले टेस्लाको सेयर भएका धेरै लगानीकर्ताहरूसँग कुरा गरेको छु। उनीहरू इलनसँग निकै आक्रोशित छन्,' ब्रोकरेज आइजी मार्केट्सका विश्लेषक टोनी साइकमोरले भने।
रिभिनिटिव डेटा अनसार एक वर्षअघि टेस्लामा मस्कको १३.४ प्रतिशत सेयरको हिस्सेदारी थिय। जुन १७ प्रतिशतले घटिसकेको छ। गत वर्ष मस्कको कुल सेयर बिक्रीको मूल्य लगभग ४० अर्ब डलर हुन आउँछ।
‘यो लगानीकर्ताहरूका लागि निकै निराशाजनक हुन थालेको छ,’ सिंगापुरको मेबैंक सेक्युरिटीजका प्राइम ब्रोकरेजका प्रमुख तारेक होर्चानीले भने।
मस्कको सम्पत्तिको ठूलो हिस्सा टेस्लाको सेयरसँग जोडिएको छ। टेस्लाको सेयर मूल्य झरेसँगै उनले गत हप्ता संसारको सबैभन्दा धनी व्यक्तिको रूपमा आफ्नो उपाधि गुमाएका थिए। फोर्ब्सका अनुसार उनलाई लुइ विटनका मालिक बर्नार्ड अर्नाल्टले पछाडि परेका थिए।
यसबीचमा टेस्लाले लामो समयसम्म लोजिस्टिमको चुनौतीहरूको सामना गरिरहेको छ। यसले यस वर्षको गाडी डेलिभरी लक्ष्य गुमाउने अपेक्षा गरेको छ।