PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ग्रिजमन शैलीले चम्किँदै फ्रान्स : बिजुली कुदाई र ‘हाइब्रिड एसिस्ट’



नेत्र तामाङ

ग्रिजमन शैलीले चम्किँदै फ्रान्स : बिजुली कुदाई र ‘हाइब्रिड एसिस्ट’
Photo : Getty Images/ AP

फुटबलमा जितहार 'स्कोर'बाटै निर्धारण हुन्छ। कसले कति स्कोर गर्‍यो? विपक्षीको पोस्टमा कति गोल वर्षायो – त्यहीअनुसार टिम र खेलाडीको रेटिङ बढ्छ।

त्यसैले स्ट्राइकरसँग, सेन्टर ब्याक, राइट ब्याक र लेफ्ट ब्याकमा उत्रिएका खेलाडीहरु पनि विपक्षीको पोस्टमा आफ्नो प्रहार परोस् भनेर प्रेरित हुन्छन्।

कतार विश्वकप २०२२ मा अहिले सर्वाधिक चर्चामा रहेका दुई खेलाडी हुन् अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पे। विश्वकपको उपाधि उचाल्न अब मात्र एक खेल बाँकी छ दुबै टोलीका लागि। यहाँसम्म यात्रा तय गर्न दुबै खेलाडीले आफ्नो देशको लागि योगदान त दिए नै। दुबैजना अब ‘गोल्डेन बुट’का दाबेदारसमेत बनेका छन्।

यी दुई खेलाडीको चर्चाबिच फ्रान्सका एन्टोनी ग्रिजमनको खटाइलाई पनि धेरैले मन पराएका छन्। रसिया विश्वकपमा उत्रँदा फ्रान्सका आइकन थिए ग्रिजमन। स्कोर गरेपछि सेलिब्रेसन गर्ने ग्रिजमन शैली उस्तै छाएको थियो।

कतार विश्वकपमा भने ग्रिजमनको त्यो सेलिब्रेसन हामीले हेर्न पाएकै छैनौ। त्यो भनेको उनको प्रहारले अहिलेसम्म विपक्षीको जाली चुम्न नपाउनु हो।

गोल नगर्दा पनि ग्रिजमनलाई मन पराउनेको संख्या भने घटेको छैन। बरु बढ्दो छ। कालो र लामो कपालमा देखा पर्ने ग्रिजमन यसपटक 'हाइलाइटेट हेयरकट'मा देखिएका छन्। ३१ वर्षीय यी खेलाडीले पछिल्ला खेलहरुमा आफूलाई निकै नै पाका र अनुभवी खेलाडीका रुपमा पस्किरहेका छन्। जसले फ्रान्सको खेल बलियो बनिरहेको छ।

स्पेनको एट्लेटिको म्याड्रिडमा व्यासायिक खेल खेलिरहेका उनले कतार विश्वकपमा फ्रान्सका लागि कुनै गोल नगरे पनि ‘एसिस्ट’ मा रेकर्ड बनाए।

इङ्ल्यान्डसँगको सेमिफाइनल खेलसम्म आइपुग्दा उनको नाममा २८ पटक 'एसिस्ट' गरेको रेकर्ड बनेको छ। ग्रिजमनले थेरी हेनरी र जिनेदिन जिदानेको रेकर्ड तोडेका हुन् 'एसिस्ट'मा। यी दुई खेलाडीको नाममा २६ 'एसिस्ट' रहेको छ।

कतार विश्वकपमा सबैभन्दा धेरै 'एसिस्ट' गर्नेको सूचीमा पनि ग्रिजमन परेका छन्। इङ्ल्यान्डका ह्यारी केन, अर्जेन्टिनाका मेस्सीसँगै ग्रिजमन 'मोस्ट एसिस्टको टप थ्रि'मा परेका हुन्। यी मध्ये मेस्सी र ग्रिजमनको एक खेल त अझै बाँकी नै छ। फाइनलमा यी दुईले थप 'एसिस्ट' गरि कीर्तिमानमा इँटा थप्न सक्छन्।

मिडफिल्डमा भएका खेलाडीको पनि उद्देश्य हुन्छ – आफ्नो नाममा स्कोरको संख्या बढाउनु। रसिया विश्वकपमा ४ गोल गरेर फ्रान्सलाई उपाधि दिलाएका ग्रिजमन यसपटक भने स्कोरतिर ध्यान दिइरहेका छैनन्। बरु उनको ध्यान देखिन्छ नयाँ खेलाडीलाई मौका दिनमा। एट्याकिङ मिडफिल्डमा उत्रेका ग्रिजमन विपक्षीको गोल पोस्टमा एसिस्ट गर्नमात्र पुग्दैनन् आफ्नो पोस्टमा आइपुगेको बल डिफेन्ड गर्न पनि तुरुन्तै पुगिरहेका देखिन्छन्।

फ्रान्सले कर्नर किक र फ्रि किक प्रहार गर्दा ७ नम्बरको जर्सी लगाएका ग्रिजमन नै देखिन्छन्। मैदानमा ग्रिजमनको कुदाई र खटाई हेर्ने हो भने कोच डिडाइर डेसच्याम्पसले उनलाई निकै विश्वासमा लिए झैं देखिन्छ।

इङ्ल्यान्डसँगको क्वाटर फाइनल खेलमा ग्रिजमनको एसिस्टमा १७ औं मिनेटमा औरेलियन चोमेनीले गोल गरे। ग्रिजमनकै एसिस्टमा ७८ औं ओलिभर जिरुडले दोस्रो गोल गरेर सेमिफाइनलको यात्रा सुनिश्चित गर्‍यो। यही खेलबाट ग्रिजमनले हेनरी र जिदानेको रेकर्ड तोडेका हुन्।

अनि तीव्र कुदाई, गजबको ट्याकल, समयमै डिफेन्ड र सटिक पास मोरक्कोसँगको सेमिफाइनल खेलमा ग्रिजमनको देखिएको कला हो। दोहास्थित अल बायत रंगशालामा आफ्नो पेनाल्टी एरियामा पनि ग्रिजमनले यो खुबी पस्के। अनि २ – ० मा मोरोक्कोलाई हराउँदै फाइनल खेल निश्चित गर्‍यो। मोरोक्कोलाई हराउन महत्वपूर्ण भूमिका खेले ग्रिजमन म्यान अफ दी म्याच भए।

ग्रिजमनलाई अबको चुनौती छ - आइतवार बार्सिलोनामा 'टिममेट' रहेका मेस्सीलाई रोक्नु। २०१४ विश्वकपमा विङ्गर बनेका ग्रिजमन यसपटक मिडफिल्डमा देखिएका छन्। अहिले उनको काम विपक्षीको खतरनाक आक्रमणहरु रोक्ने र स्कोरको मौकाका लागि एसिस्ट गर्नु हो।

अघिल्लो विश्वकपमा आक्रमक खेल देखाएका २९ वर्षे पावल पोग्बा यसपटक फ्रान्सको स्क्वाडमा छैनन्। घुँडामा सर्जरी भएपछि यसपटकको विश्वकपका खेल गुमाएका पोग्बाले ग्रिजमनको कौशलको प्रशंसा गरेका छन् इन्स्टाग्राममार्फत। मोरक्कोलाई हराउँदै विश्वकप फाइनल प्रवेशको सिठी बज्नसाथ पोग्बाले ‘ग्रिजमनकान्टे’ भन्दै लेखेका छन्। फ्रान्सको स्क्वाडमा पोग्बा र एनगोलो कान्टे मिडफिल्ड विशेषज्ञ नै मानिन्छ। तर यी दुबै अहिले चोटका कारण मैदानमा उत्रन मिलेन। यो दुईको अनुपस्थितिलाई महत्वपूर्ण जिम्मेवारीका साथ 'कभर' गरिरहेका छन् ग्रिजमनले।

मोरक्कोको पोस्टमा थियो हर्नान्डजले गोल गर्दा पनि ग्रिजमनले सही समयमा बल एम्बाप्पेलाई पास दिएका थिए। त्यसपछि एम्बाप्पेको एसिस्टमा हर्नान्डजले पाँचौ मिनेटमा फ्रान्सलाई अग्रता दिलाउन सफल भए।

दोस्रो हाफमा मोरोक्कोले पटकपटक फ्रान्सको पोस्टमा अवसरहरु सिर्जना गर्दा ग्रिजमनले यसलाई ट्याकल गरे। डिफेन्ड, हेडिङ, ट्याकलकै कारण मोरोक्कोले अवसर सदुपयोग गर्न सकेन अनि ७९ औं मिनेटमा सब्सिट्च्युट खेलाडी रन्डल कोलो मुआनीले थप गोल गरे।

‘असाधारण,’ फ्रान्सका राइट ब्याक जुल्स कोन्डेले ग्रिजमनबारे भनेका छन्, ‘मिहिनेती, हरेकपटक बल छेक्न पुगिहाल्ने।‘

मोरोक्कोसँगको खेल सकिनसाथ दुई हात उठाउँदै ग्रिजमनले डिफेन्डर इब्राहिम कोनाटेसँग 'हग' गरे। जसले मोरोक्कोको खतरनाक आक्रमणहरु रोक्न कडा मिहिनेत गरेका थिए।

ग्रिजमन कौशललाई हेरेर कोच डिडाइडरको १० वर्षे प्रशिक्षणको उदाहरणीय खेलाडीको रुपमासमेत चित्रित गर्न थालेका छन्।

यो टोली २०१४ मा विश्वकपमा क्वाटर फाइनलसम्म पुग्यो भने होमग्राउन्डमै युरोपियन च्याम्पियनसिपमा पोर्चुगलसँग हार्‍यो। यद्यपि, २०१८ मा भने वर्ल्डकप ट्रफी उचाल्यो। अनि अहिले आइतवार अर्को वर्ल्डकप ट्रफीका लागि लुसेल रंगशालामा अर्जेन्टिनासँग भिड्दैछ।

सिबिएस स्पोर्टले ग्रिजमनको जादुमयी खेलका कारण फ्रान्स फाइनल पुगेको जनाएको छ। आफ्नो कौशलका कारण ग्रिजमन अझै उत्कृष्ट खेलाडी बनेको उसको दाबी छ।

फ्रान्सबाट खेलेर २८ पटक एसिस्ट गरेर रेकर्ड बनाएका उनलाई अब उछिन्न पक्कै उनी झै हाइब्रिड मिडफिल्डर बन्नुपर्नेछ। जसका लागि बिजुली कुदाईमात्र हैन, बुद्धिमतापूर्ण एसिस्ट पनि चाहिएला।

यो टोलीमा ग्रिजमन जसरी अलराउन्डर बनेर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् गोलकिप्पर ह्युगो लोरिस, सेन्टर ब्याक रफेल भराने, स्ट्राइकर जिरुढको प्रदर्शन पनि निरन्तर राम्रो छ। एम्बाप्पेको कौशल त भन्नै परेन, अहिले सायद मेस्सीपछि धेरैको मनमा उनी बस्न थालेका छन्। आइतवारको खेलले मेस्सी र एम्बाप्पे मध्ये सुनमा सुगन्ध थप्ने मौका कुन चाहिँको भाग्यमा छ? त्यो हेर्नै बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell