PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

चीनमा कोभिड-१९ संक्रमण तीव्र रुपमा बढ्दै नयाँ वर्षसँगै उच्च विन्दुमा पुग्ने, नियन्त्रणका लागि ६ महिना लाग्ने



विधुर ढकाल

चीनमा कोभिड-१९ संक्रमण तीव्र रुपमा बढ्दै नयाँ वर्षसँगै उच्च विन्दुमा पुग्ने, नियन्त्रणका लागि ६ महिना लाग्ने
Photo: China Daily

सांघाई : पछिल्लो समय कोभिड-१९ सम्बन्धी नियम खुकुलो भएसँगै चीनमा संक्रमण बढ्न थालेको छ। एकातिर संक्रमणदर बढ्न थाले पनि चीनले लक्षणबिनाका संक्रमितको गणना रोकेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधवारदेखि लक्षणबिनाका संक्रमितको गणनालाई रोक्ने जनाएको हो। नियमित न्युक्लिक एसिड टेस्ट रोकिएसँगै लक्षणबिनाका संक्रमितको गणना प्रभावित भएको आयोगले जनाएको छ।

यसअघि चीनमा कोभिड-१९ को नियमित परीक्षण अनिवार्य थियो। यसै साताबाट नयाँ नियम जारी गर्दै यात्रा गर्दा तथा सार्वजनिक स्थानमा प्रवेश गर्दा नेगेटिभ रिपोर्ट देखाउन नपर्ने व्यवस्था आएपछि आम रुपमा गरिने परीक्षण रोकिएको छ।

हाल निमयति काममा जाने तथा परीक्षण गर्न चाहनेहरुले मात्र परीक्षण गराउँदै आएका छन्। आयोगले २०२० अप्रिल १ गतेदेखि दैनिक रुपमा लक्षणबिनाका केसहरुको गणनासमेत गर्दै आएको थियो। मंगलवार मात्र चीनमा दुई हजार २४९ जनामा स्थानीय संक्रमण पुष्टि भएको थियो। आयोगका अनुसार चीनमा ३५ हजार २७४ स्थानीय संक्रमित छन्। जसमध्ये १५० गम्भीर प्रकृतिका रहेको आयोगलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ।

पछिल्लो नियमसँगै विश्वविद्यालयहरुमा नियमित परीक्षण रोकिएको छ। विश्वविद्यालयमा प्रवेशका लागि अनुमति लिनुपर्ने तथा ग्रिन कोड देखाउनुपर्ने प्रावधान हटेका छन्।

सांघाईस्थित इस्ट चाइना नर्मल युनिभर्सिटीले बुधवारदेखि लागू हुने गरी कोभिड-१९ सम्बन्धी नियमलाई खुकुलो पारेको छ। मंगलवार सूचना प्रकाशित गर्दै विश्वविद्यालयले विद्यार्थी तथा प्राध्यापक कर्मचारीहरुलाई क्याम्पसभित्र प्रवेशका लागि यसअघि लगाइएको नियम परिमार्जन गर्दै परिचयपत्रका आधारमा प्रवेश दिइने जनाएको छ। यसअघि क्याम्पसमा प्रवेश गर्दा ४८ घण्टाको कोभिड-१९ परीक्षणको नेगेटिभ रिपोर्ट तथा क्याम्पसबाट पूर्व अनुमति लिनुपर्ने व्यवस्था गरिएको थियो।

अब त्यहाँ परिचयपत्रकै आधारमा प्रवेश दिन थालिएको सो विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीले जानकारी दिए। त्यस्तै, विश्वविद्यालयले गर्दै आएको नियमित परीक्षण पनि रोकेको छ।

‘नियमित परीक्षण रोके पनि दैनिक रुपमा संक्रमण देखिएको छ’, त्यहाँका एक विद्यार्थीले भने, ‘निमय खुकुलो भएसँगै संक्रमण बढेको छ। संक्रमितलाई आइसोलेसनमा पठाइएको छ। केही लक्षण नभएका बिरामीलाई डोर्ममा नै आइसोलेट गरिएको छ।’

लक्षित समूहलाई दोस्रो बुस्टर डोज दिइँदै

यसैबिच, चीनले वृद्ध वृद्धा, घातक रोग भएका जोखिमपूर्ण समुहका नागरिकहरुको स्वास्थ्य रक्षाका लागि उनीहरुलाई दोस्रो बुस्टर डोज दिन थालेको छ।

जोखिम पूर्ण समूहका नागरिकलाई अब आउने वेभबाट जोगाउनका लागि थप बुस्टर डोज दिन लागिएको हो। त्यस्तै, चीनले फिवर क्लिनिक तथा अस्थायी अस्पतालहरुको निर्माण पनि अगाडि सारेको छ।

चीनले कोभिड-१९ व्यवस्थापनलाई ‘ख’ वर्गमा राखेको छ। २०२० को जनवरी २० मा चीनले यसलाई ‘ख’ वर्गको संक्रामक रोगमा वर्गीकरण गर्दै ‘क’ वर्गको संक्रमण व्यवस्थापन लागू गरेको थियो।

‘क’ वर्गमा वुवोनिक प्लेग र कोलेरा जस्ता रोग छन्। सोही अनुसार चीनले कडाइपूर्ण व्यवस्थापनका लागि ‘सून्य कोभिड’ नीतिलाई अंगीकार गरेको थियो। ओमिक्रोनको पछिल्लो भेरियन्ट कम घातक देखिएपछि संक्रमण व्यवस्थापनलाई पनि ‘ख’ वर्गमा राखिएको छ।

‘अब लक्षण विनाका संक्रमितको रिपोर्ट गरिने छैन। फ्लु निगरानी गरिएजस्तै कोभिड-१९ संक्रमितहरुको विभिन्न प्रणाली मार्फत निगरानी गरिने छ,’ चीनको इमरेजन्सी सेन्टर अफ दी चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (चाइना सीडीसी)का निर्देशक लि छुनलाई उदृत गर्दै ग्लोवल टाइम्सले उल्लेख गरेको छ।

चीनले ६० वर्ष माथिका नागरिकलाई दोस्रो बुस्टर डोज दिएर जोगाउने नीति लिएको छ। मंगलवारसम्मको तथ्यांक अनुसार ६० वर्ष माथिका ८६.६ प्रतिशतलाई पूर्ण मात्रा (दुई डोज) दिइएको छ। र ६९ प्रतिशतले पहिलो बुस्टर डोजसमेत लिइसकेका छन्। त्यस्तै, ८० वर्ष माथिका ६६.४ प्रतिशतले पूर्ण मात्रा र ४२.३ प्रतिशतले बुस्टर सट लिइसकेका छन्।

एक महिनामा उच्च विन्दुमा पुग्ने छ कोभिड-१९

पछिल्लो संक्रमण दर बढ्दै जाँदा यो दर एक महिनामा उच्च विन्दुमा पुग्ने अपेक्षा गरिएको छ। संक्रमण उच्च रहे पनि परीक्षण दर कम छ। चीनको वीच्याट ले गररेको एक सर्वे अनुसार करिब ५१ प्रतिशतमा संक्रमण रहेको देखाएको छ। ८ हजार २३ जनामा गरिएको सर्वेक्षणमा ५१ प्रतिशतले उनीहरुलाई संक्रमण देखिएको बताएका छन्।

यसैबिच, अस्पतालहरुमा फ्लुको लक्षण भएका बिरामीको संख्या बढ्न थालेका छन्। बेइजिङको दोस्रो वर्गको अस्पतालमा गत सातामात्र १९ हजार बढी फ्लुको जस्तै लक्षण भएका विरामीहरु रेकर्ड भएका छन्। त्यस्तै, फार्मेसीहरु पनि फ्लुका लागि प्रयोग हुने औषधिको बिक्री बढेको छ।

संक्रमण उच्च हुँदै गर्दा स्वास्थ्य प्रणालीलाई सुधारका लागि बेइजिङमा ९४ फिवर क्लिनिकलाई बढाएर मंगलवार ३०३ पुर्‍याइएको छ। लक्षणबिनाका बिरामीलाई अस्पताल नआउन तथा घरमै उपचार गर्न भनिएको छ।

‘लक्षणबिनाका संक्रमितहरु घरमै आइसोलेसनमा छन्। उनीहरु यसअघि अस्पतालमा उपचारमा राखिन्थे। गम्भीर प्रक्रितिका बिरामीको उपचारका लागि अस्पतालको सेवालाई सञ्चित गरिएको छ,’ बेइजिङस्थित एक अस्पतालका चिकित्सकलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ।

त्यस्तै, चीनले बुधवारसम्म देशभरका दोस्रो तह भन्दा माथिका अस्पतालहरुमा १४ हजार बढी फिवर क्लिनिक सुरु गरेको छ। त्यस्तै, स्थानीय स्तरमा ३३ हजार बढी त्यस्ता क्लिनिक सञ्चालनमा ल्याइएको छ। यस्तो क्लिनिकमा आउनेहरुको भीडलाई कम गर्न ४० मिनेट भन्दा बढी कुर्नुनपर्ने गरी व्यवस्थापन गरिएको छ।

त्यस्तै, औषधिको अभाव हुन नदिने ठूला औषधि उत्पादकहरुलाई उत्पादन बढाउन निर्देशन दिइएको छ।

पछिल्लो वेभ २०२३ को जनवरी सुरुदेखि फेब्रुअरीको मध्यसम्ममा उच्च विन्दुमा पुग्ने चीनका वरिषस्ठ श्वास प्रश्वास रोग विशेषज्ञलाई उदृत गर्दै ग्लोबल टाइम्सले आइतवार रिपोर्ट गरेको थियो।

चीनमा जनवरी पहिलो सातादेखि ठूलो यात्राको सिजन सुरु हुँदै छ। चीनको नयाँ वर्ष स्प्रिङ फेस्टिवलका लागि चिनियाँहरु यात्रामा निस्किन्छन्। यही बेला कोभिड-१९ को संक्रमण उच्च विन्दुमा पुग्ने छ। यस समय विश्वमै ठूलो मानव यात्रा हुने गर्छ।

यता संक्रमण बढ्दै जाँदा सांघाईका विश्वविद्यालयहरुले सेमेस्टरको अन्त्य अगावै विद्यार्थीहरुलाई घर जान अनुमति दिन थालेका छन्। सेमेस्टरका बाँकी कक्षा र परीक्षण अनलाइनबाट गर्ने गरी स्प्रिङ फेस्टिवल अगावै विद्यार्थीहरुलाई विश्वविद्यालयले विदा गर्न थालेका छन्।

सांघाई र क्वान्चौ सहितका ठूला शहरमा अर्को एक-दुई महिनामा संक्रमण उच्च विन्दुमा पुग्ने चिनियाँ अनलाईन खाइसिनले आइतवार रिपोर्ट गरेको थियो।

सांघाईको प्रथम श्रेणीको अस्पतालका संक्रामक रोगसम्बन्धी निर्देशक झाङ वेनहोङलाई उदृत गर्दै रिपोर्टमा अर्को तीन देखि चार साता भित्र शहरमा कोभिड-१९ संक्रमण उच्च विन्दुमा पुग्ने र यसलाई नियन्त्रणमा लिन शहरलाई तीन देखि ६ महिनासम्म लाग्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell