PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

मोरोक्कोलाई हराएपछि हकिमीको प्रशंसा गर्दै एम्बाप्पे : खेलअघि भनेका थिए, 'साथीलाई सक्नैपर्नेछ'



पहिलोपोस्ट

मोरोक्कोलाई हराएपछि हकिमीको प्रशंसा गर्दै एम्बाप्पे : खेलअघि भनेका थिए, 'साथीलाई सक्नैपर्नेछ'
Photo: FIFA/Getty

बुधवार विश्वकपको दोस्रो सेमिफाइनल खेलमा रेफ्रीले सिठी बजाएसँगै मोरोक्कोका खेलाडीले मैदानमा घुँडा टेके। जारी विश्वकपमा उनीहरुको यो पहिलो अनि अन्तिम पराजय थियो।

प्रतियोगितामा ‘जायन्ट किलर’को पहिचान बनाएका उनीहरुले सेमिफाइनलमा साविक विजेता फ्रान्सलाई थुप्रै चुनौतीहरु पस्किए। तर, अन्तिममा २-० को पराजय ब्यहोर्न पुगे।

अर्कोतर्फ फ्रान्सका खेलाडीले ‘वाइल्ड’ सेलिब्रेसन गरिरहँदा उनीहरुका सुपरस्टार किलियन एम्बाप्पे आफ्ना टिमका साथीभन्दा बाहिर कसैलाई हात हल्लाइ रहेका थिए। उनी थिए मोरोक्कोका खेलाडी एचरफ हाकिमी। मोरोक्कोका डिफेन्डर हाकिमी जसले खेल अवधिभर एम्बाप्पेलाई रोक्न हरसम्भव प्रयास गरेका थिए।

खेल एउटा कुरा, दोस्ती अर्कै कुरा। खेल अघि पनि यी दुईले हात मिलाएका थिए, अंकमाल गरेका थिए। खेलका क्रममा पनि उनीहरु हाँसीमजाक गरिरहेकै देखिन्थे। खेलको केही घण्टापछि एम्बाप्पे हाकिमीलाई भेटेर सम्मान जनाए।

‘डन्ट वरी ब्रो, तिमीले जे गर्‍यौ त्यसमा सबै जनाले गौरव गरेका छन्। तिमीले इतिहास बनायौ,’ ट्वीटरमा अंकमाल गरेको तस्बिर शेयर गर्दै एम्बाप्पेले भनेका छन्।

यी दुई खेलाडीबिचको दोस्ती हाकिमी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पुगेपछि सुरु भएको हो।

‘उनी मसँगै एउटै टोलीबाट खेल्छन्, यो मेरा लागि गौरवको कुरा हो। उनी संसारको महानतम खेलाडी मध्येका एक हुन्। सबै भन्दा माथि मेरा नजिकका मित्र,’ हाकिमीले भनेका छन्।

‘मैले मेरै साथीलाई 'डिस्ट्रोए' गर्नुपर्नेछ’, खेलअघि एउटा छोटो भिडियोमा एम्बाप्पेले भनेका थिए, ‘यसले मेरै मन पनि दुख्नेछ। तर थाह छ, यो फुटबल हो। मैले उनलाई सक्नैपर्छ।’

खेलपछि यी दुई खेलाडीले जर्सी साटेका थिए। एम्पाप्पेले हाकिमीको जर्सी पछाडिको अगाडि पारेर लगाएका थिए। ताकि उनको नाम अगाडि देखियोस्। हाकिमीले पनि एम्बाप्पेको जर्सी त्यसरी नै लगाएका थिए।

दोस्तीका कुरा

यी दुई खेलाडीको उमेरको फरक दुईअढाइ हप्ता भन्दा बढी छैन। उनीहरु सँगै भिडियो गेम खेल्छन्। विमानमा यात्रा गर्दा उनीहरु सँगसँगै हुन्छन्। अझ बिदा मनाउन कतै जाँदा पनि उनीहरु सँगै देखिन्छन्। गोल गरेपछि यी दुईजनाले सँगै ‘सेलिब्रेट’ गर्छन्।

मोरोक्कोका ‘ब्रिलियन्ट’ राइटब्याक हाकिमी र फ्रान्सका खेलाडी एम्बाप्पे क्लब स्तर खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा एकसाथ खेल्छन्। उनीहरु मैदान भित्रमात्रै होइन बाहिर पनि मिल्ने साथी हुन्। तर, अहिले मित्रता एकातिर, विश्वकप अर्कोतिर छ।

हाकिमीले स्पेनविरुद्ध पेनाल्टी सुटआउटमा गोल गरेपछि मोरोक्कोले जित सुनिश्चित गरेको थियो। उनको उक्त गोलपछि एम्बाप्पेले हाकिमीको नाम, ताज, माया र पेन्गुइनको ‘इमोजी’ ट्वीट गरे। पीएसजीमा एम्बाप्पेको उपनाम ‘पेन्गुइन’ हो।

अघिल्लो हप्ता ‘डे अफ’ हुँदा एम्बाप्पे हाकिमीलाई भेट्न २० मिनेट ‘ड्राइभ’ गरेर होटल पुगेका थिए। उनले त्यो तस्बिर पनि ट्वीट गरेका छन्। एम्बाप्पेको सामाजिक सञ्जालमा नेइमार, मेस्सी, थिअरे हेन्री, स्पाइडर म्यान लगायतको तस्बिर भेटिन्छन्। तर, त्यसमा सबैभन्दा बढी तस्बिर हकिमीकै छन्।

यी दुईबिच धेरै कुरा साझा छन्। दुवैको पृष्ठभूमि अफ्रिकासँग जोडिएको छ। हाकिमी मोरोक्कोका हुन् भने एम्बाप्पेका बुवा क्यामरुन र आमा अल्जेरिया पृष्ठभूमिका हुन्।

इटालियन क्लब इन्टरमिलानबाट अघिल्लो वर्ष हकिमी पीएसजी पुगेपछि टिममा ‘सेटल’ हुन साथी एम्बाप्पेले सहायता गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell