PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

पौडेलले पाएको सम्मान देशकै लागि सम्मान : देउवा



पहिलोपोस्ट

पौडेलले पाएको सम्मान देशकै लागि सम्मान : देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले दिएको राजकीय सम्मान देशकै सम्मान भएको बताएका छन्। पौडेल जापान सरकारद्वारा ‘दि अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त भनाई राखेका हुन्।

यस्तै वरिष्ठ नेता पौडेलले यो सम्मानका लागि जापानी जनता, सरकार, त्यहाँका सम्राट र राजदूतप्रति आभार व्यक्त गर्दै यो सम्मान नेपाल, नेपाली र कांग्रेस पार्टीप्रतिको सम्मान भएको महसुस गरेको बताए। 

सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान वरिष्ठ नेता पौडेललाई बिहीवार जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको थियो। वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय  सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि विभूषित गरिएको जनाइएको छ। जापानी सम्राट मेइजीले सुरु गरेको उक्त राजकीय सम्मान विश्वका विशिष्ट व्यक्तिलाई प्रदान गरिने सबैभन्दा उच्च सम्मान हो।

वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्षसमेत रहेका थिए। उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवद्र्धनमा पनि सक्रियरूपमा संलग्न थिए।

उक्त कार्यक्रममा मन्त्रीहरु, नेपाली कांग्रेसका नेताहरु, सांसद एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell