PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

को बन्ला कांग्रेस संसदीय दलको नेता?



नेत्र तामाङ

को बन्ला कांग्रेस संसदीय दलको नेता?

काठमाडौं : निर्वाचन परिणाम आएसँगै केन्द्रमा नयाँ सरकार बनाउने तयारी तीव्र रुपमा अघि बढेको छ। निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।

राष्ट्रपतिलाई आयोगले प्रतिवेदन बुझाएको ३५ दिनभित्र नयाँ सरकार गठन हुनुपर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ७६ (८) मा यससम्बन्धी प्रावधान उल्लेख छ।

‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ,’ उक्त धारामा लेखिएको छ।

सत्ता गठबन्धनबाट विशेषगरी कांग्रेस र माओवादीले सरकारको नेतृत्वमा दाबी गर्न थालेका छन्। चुनावी परिणामअनुसार कांग्रेस ८९ सिटसहित पहिलो दल बनेको छ। यद्यपि गठबन्धनलाई बहुमत नपुग्दा सत्ताको नेतृत्व कसको हातमा पुग्छ भन्ने यकिन भइसकेको छैन। ३२ सिट ल्याएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रधानमन्त्रीमा दाबी गरिरहेका छन्।

धारा ७६ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्थामा बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था उल्लेख गरिएको छ।

‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ,’ धारा ७६ को उपधारा १ मा भनिएको छ। तर यसपटक कुनै दलले बहुमत ल्याउन सकेन। यस्तो अवस्थामामा के गर्ने त?

७६ कै उपधारा २ मा यससम्बन्धी व्यवस्था उल्लेख छ। ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ,’ यसमा भनिएको छ।

यही व्यवस्थाअनुसार सत्ता गठबन्धनले नयाँ सरकार गठनको तयारी गरेको बालुवाटार स्रोतको दाबी छ। स्रोतका अनुसार यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले भित्रभित्रै तयारी थालेका छन्। प्रधानमन्त्री देउवाले यसका लागि उपसभापति पूर्णबहादुर खड्का र कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतलाई खटाएको बताइएको छ। यद्यपि यो विषय आफूलाई थाह नै नभएको कांग्रेस उपसभापति खड्काले दाबी गरे।

‘चार दिनयता मैले कसैलाई भेटेको पनि छैन। म कतै गएको पनि छैन,’ उपसभापति खड्काले भने।

सत्ता गठबन्धन दलमा अहिले कांग्रेससँग ८९, माओवादीसँग ३२, एकीकृत समाजवादीसँग १०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग ४ र जनमोर्चासँग १ गरी १३६ सिट रहेको छ। देउवा गठबन्धनलाई सीके राउतको पार्टी जनतम पार्टीले सहयोग गर्ने ‘ग्रिन सिग्नल’ दिएको छ। यस्तो अवस्थामा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका कुनै पनि सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ।

कांग्रेसमा को - को भिड्दैछन् संसदीय दलको नेतामा?

प्रधानमन्त्री बन्नका लागि कांग्रेसका नेताहरु संसदीय दलमा भिड्ने तयारीमा छन्। निर्वाचनअघि कांग्रेसमा प्रधानमन्त्री बन्ने आकंक्षा राख्ने नेताहरु आधा दर्जन थिए। निर्वाचनपछि भने प्रधानमन्त्रीमा आकंक्षा राख्ने नेताहरु घट्न थालेका छन्।

अहिले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी रहेका डा शेखर कोइराला र महामन्त्री गगन थापाबिच संसदीय दलको नेतामा प्रतिस्पर्धा हुने चर्चा छ। यद्यपि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वसम्मत आफूलाई संसदीय दलको नेता बनाउन देउवासँग आग्रह गरेका छन्। पूर्व महामन्त्री डा शशांक कोइरालाले सर्वसम्मत भएमा आफू संसदीय दलको नेता बन्ने आकंक्षा व्यक्त गरेका छन्।

तर देउवाले यसबारे केही बोलेका छैनन् – बरु आफै छैटौंपटक प्रधानमन्त्री बन्ने दाउमा छन् देउवा। यसका लागि संसदीय दलमा भिड्ने तयारीमा छन् उनी। आफूलाई महाधिवेशनमा सहयोग गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतलाई मनाइसकेका छन् भने अरु नेताहरुलाई पनि ‘वान अन वान’ भेटिरहेका छन्। निर्वाचित हुनेहरु र समानुपातिकबाट चुनिएका सांसदहरु देउवा पक्षबाट नै अधिकांश भएकाले यसपटक संसदीय दलको नेता बन्न उनलाई सजिलो हुने देखिन्छ।

यता महामन्त्री थापाले पनि संसदीय दलमा भिड्ने तयारी गरेका छन्। निर्वाचनअघि नै प्रधानमन्त्री बन्ने उद्घोषसहित अघि बढेका गगनको तयारीलाई शेखर पक्षले अहिले असन्तुष्टि जनाउन थालेका छन्। शेखर पक्षबाटै महामन्त्रीमा निर्वाचित गगनले गुटमा छलफल बिनै एकल तयारी थालेको उक्त गुटको आरोप छ। त्यसैले होला, अहिले शेखर आफै पनि संसदीय दलको नेतामा भिड्ने तयारीमा छन्।

‘गगनले भित्रभित्रै तयारी गरेको देखिन्छ। हाम्रो प्रयास एक भएर लड्ने भन्ने हो’, शेखर पक्षका एक नेताले भने, ‘तर, सहमति नभए संसदीय दलको नेतामा शेखर दाइको पनि उम्मेदवारी रहन्छ।’

यता चुनावी अभियानबाटै 'ड्राइभिङ सिट'मा बस्ने बताउँदै आएका गगन पनि एनीहाउ संसदीय दलमा भिड्ने तयारीमा छन्। 'गगन एक भोट नै आए पनि संसदीय दलमा भिड्छन्,' उनी पक्षका एक सांसदले भने। अहिले सांसदमा देउवा समूहका ५२ सांसद छन्। प्रकाशमान सिंह, रामचन्द्र पौडेल र डा शशांक कोइरालालाई मनाएमा देउवा झन् बलियो हुने देखिन्छ। तीन नेताको समूहमा अहिले १३ सांसद छन्। शेखर समूहमा अहिले २४ सांसद छन्। जसमा गगन संसदीय दलको नेतामा अघि बढेमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिने देखिन्छ। यद्यपि २४ सांसद भएको यो गुटबाट शेखर र गगनको दुबै जनाको उम्मेदवारी परेमा यही समूहबाट देउवालाई भोट जाने खतरासमेत रहेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell