युवा र गतिशिल मिडफिल्डर मोरोक्कोलाई सेमिफाइनलसम्म पुर्याउन अहम् भूमिका खेल्छन्। क्रोएसियालाई सेमिफाइनलसम्म पुर्याउन डिफेन्समा अनुहारमा मास्क लगाएका युवा खेलाडी डटेका हुन्छन्। फाइनलमा अर्जेन्टिनालाई पुर्याउने अनुभवी मेस्सीसँगसँगै योगदान गरिरहेका छन् युवा मिडफिल्डरले। पछिल्ला दुई दशकयता प्रभावशाली प्रदर्शन गर्दै आएका क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा प्रवेश गरेर ह्याट्रिक पुरा गर्छन युवा खेलाडीले। यो चर्चा हो विश्वकपमा चम्किएका युवा खेलाडीको। ती खेलाडी जो २० वर्ष उमेरको आसपासमा छन् तर विश्वकपको मैदानमा प्रभावशाली प्रदर्शन गर्न सफल भएका छन्।
कोडी गाक्पो (नेदरल्याण्ड्स)
विश्वकपको आफ्नो पहिलो तीन खेलमा गोल गर्ने कोडी गाक्पो नेदरल्याण्डसका पहिलो खेलाडी हुन्। पीएसभी इन्डहोभेनबाट खेल्ने ६ फुट ४ इन्च उचाइ भएका २३ वर्षे उनले लिगमा पनि २४ खेलमा १३ गोल र १७ असिस्ट गरिसकेका छन्। अन्तर्राष्ट्रिय मैदानमा पनि उनको प्रदर्शन उत्तिकै लोभलाग्दो छ।
'उनीसँग एउटा स्टारमा हुनपर्ने सबै क्षमता छ,' विश्वकपमा अर्जेन्टिनासँगको पराजय पछि प्रशिक्षकको जिम्मेवारी त्याग्दै गर्दा भान गालले भनेका छन्।
जारी विश्वकपमा उनले ३ गोल गरेका छन्।
इन्जो फर्नान्डेज (अर्जेन्टिना)
फर्नान्डेज विश्वकपअघिसम्म अर्जेन्टिनानको पहिलो रोजाइमा पर्न सकेका थिएनन्। लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाका लागि पछिल्ला खेलहरुमा महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्।
सुरुवाती खेलमा साउदी अरेबियासँग अप्रत्यासित हार ब्यहोरेको अर्जेन्टिनालाई दोस्रो खेलमा मेक्सिकोविरुद्ध जित दिलाउन २१ वर्षे फर्नान्डेजको 'कर्लिङ गोल' महत्वपूर्ण रह्यो। सेमिफाइनल खेलमा क्रोएसियालाई हराउँदा धेरै ट्याकल (४) र पास (६२) गरेका थिए। जुन कप्तान मेस्सीसँगको बराबरी हो। पोर्चुगिच टोली बेनफिकामा रहेका उनी लिभरपुल जाने चर्चा चलेको छ।
अज्जेदिन ओउनाही (मोरोक्को)
'हे भगवान! त्यो केटा कहाँबाट आएको हो? म त्यो ८ नम्बर जर्सीको प्रदर्शन देखेर चकित भएको छु। मैले उसको नाम सम्झन सकिरहेको छैन,' मोरोक्कोसँगको हारपछि स्पेनी टोलीका प्रशिक्षक लुइस इनरिक भन्दै थिए।
उनले चर्चा गर्न चाहेका जर्सी ८ हुन अज्जेदिन ओउनाही। विश्वकप अघि साँच्चै चर्चामा थिएनन् उनी। त्यसैले स्पेनी प्रशिक्षकलाई पनि थाह थिएन उनी को हुन् भनेर। तर, अब अगाडि सायद उनले फेरि ओउनाहीको नाम सायद बिर्सने छैनन्।
२२ वर्षे यी खेलाडीले मोरोक्कोको सेमिफाइनलसम्मको यात्रामा महत्वपूर्ण भूमिका खेले। स्पेनी प्रशिक्षक हतास हुनु पनि जायज छ। उक्त खेलमा १४.७ किलोमिटर दौडिएका उनी ड्रिबल (३) र बल खोस्ने (७) मा पनि सबैभन्दा अघि रहे। फ्रेन्च क्लब एन्जरबाट खेल्ने उनी स्पेनिस क्लब बार्सिलोना जाने चर्चा पनि चलिरहेको छ।
जोस्को ग्भारडिओल (क्रोएसिया)
जर्मन क्लब आरबी लाइपजिगबाट खेल्ने ग्भारडिओलले विश्वकप अघि नाकको चोट ब्यहोरेका उनी मैदानमा सुपरहिरो ब्याटम्यान जस्तो मास्क लगाएर उत्रिए। क्रोएसियाका २० वर्षे खेलाडी उनले टोलीमा गरेको प्रदर्शनले साविक उपविजेतालाई उपाधि दावेदार मानिएका ठूलो टोलीलाई पन्छाउँदै सेमिफाइनलसम्मको यात्रा तय गर्न महत्वपूर्ण भूमिका खेल्यो। उनको पोजिसन आक्रमक 'पेसी' सेन्टरब्याक हो।
इङ्ग्ल्याण्डका पूर्व स्ट्राइकर सेअरेरले उनकाबारे भनेका छन्: उनी हरेकजसो खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन्। क्रोएसियाको खेल शैलीले गर्दा पनि उनले धेरै डिफेन्डिङको काम गर्नुपर्यो।
'ट्याकलमा बलियो उनी ऊ बलमा साहसी भएर उभिएका हुन्छन्,' उनी भन्छन्।
ज्युड बेलिङ्घम (इङ्ग्ल्याण्ड)
विश्वकपका क्रममा इङ्ग्लिस मिडफिल्डर फिल फोडेनले भने: मलाई लाग्छ उ विश्वकै उत्कृष्ट मिडफिल्डर हुनेछन्।
उनी चर्चा गर्दै थिए आफ्नै टोलीका १९ वर्षे मिडफिल्डरु ज्युड बेलिङ्घमको। फ्रान्सविरुद्धको पेनाल्टी मिस भएपछि ह्यारी केनसँग उनले देखाएको व्यवाहार पनि चर्चामा आएको थियो। उनको सान्त्वना दिने तरिकालाई लिएर लख काट्न सकिन्छ : के उनले भविष्यमा थ्री लायन्सको आर्मब्यान्ड लिनेछन्?
इरानविरुद्ध ६-२ गोलले इङ्ग्ल्याण्डले जित निकाल्दा गोल गरेका उनी मिचेल ओवेनपछि इङ्ग्ल्याण्डका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीसमेत बनेका छन्।
उनको अझ उत्कृष्ट प्रदर्शन देखियो अन्तिम १६ मा सेनेगलविरुद्धको खेलमा। उक्त खेलबाट विश्वकपको नकआउट चरणमा एसिस्ट गर्ने १९६६ पछिको पहिलो इङ्ग्ल्याण्डका टिनएजर खेलाडी बने।
गोन्कालो रामोस (पोर्चु्गल)
स्वीजरल्याण्डविरुद्धको खेलमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने प्रशिक्षक सान्तोषको निर्णय सबैलाई अचम्मित पार्ने किसिमको थियो। रोनाल्डो बेन्चमा रहँदा उनको स्थानमा सुरुवात गर्दै थिए युवा खेलाडी गोन्कालो रामोस। उक्त खेलमा ह्याट्रिक पुरा गर्दै उनले आफू रोनाल्डोको स्थानमा सुरुवात गर्नुको औचित्यसमेत पुष्टि गर्न सफल भए।
आफ्नो पहिलो विश्वकपमै २१ वर्ष उनले गरेका गोल र स्किलहरुले विश्वफुटबलको ध्यान तान्न सफल भए।