PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २५ देशका ६४ फिल्म देखाइने



पहिलोपोस्ट

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २५ देशका ६४ फिल्म देखाइने

काठमाडौं : नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औँ संस्करण हुने भएको छ। मानव अधिकार चलचित्र केन्द्रको आयोजना रहेको फेस्टिभल पुस ३ देखि ६ गतेसम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा सञ्चालन हुनेछ।

सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले हुन लागेको महोत्सवको यसवर्षको नारा ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ रहेको छ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गर्ने फेस्टिभलको उद्घाटन समारोहमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइम्बिङ टेम्प्रेचर्स अन टप अफ द वर्ल्ड’ प्रदर्शन हुनेछ।

विश्वभरिबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्रहरु यस महोत्सवमा देखाइने महोत्सवका निर्देशक पाण्डव खत्रीले बताए। त्यसैगरि, महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन हुने बताइएको छ।

महोत्सवमा प्रर्दशन गरिने फिल्मलाई चार विधामा उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिनेछ। त्यस्तै, एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ।

महोत्सवमा ‘लुकेरा बसेका कथाहरुलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने?’ भन्ने विषयमा भारतीय निर्देशक अनिर्वाण भट्टचार्यले मास्टरक्लास दिनेछन्। फेस्टिवलमा ‘जल वायु परिवर्तन र न्याय सम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरुसँग प्यानल छलफल पनि राखिएको छ।

महोत्सवमा प्रत्येक दिन चलचित्रहरु प्रदर्शनपछि मानव अधिकारकर्मी, चलचित्र पारखी एवं कलाकर्मीहरुबिच चलचित्र र मानव अधिकारको विषय अन्तरक्रिया हुनेछ। महोत्सवको सह-आयोजकको रुपमा राष्ट्रिय मानव अधिकार आयोग रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell