PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

दुई आइजी 'फिल्ड' उत्रेलगत्तै पर्सा प्रहरी एक्सनमा : वीरगंजबाट २१ लाखको चामल बरामद



पहिलोपोस्ट

दुई आइजी 'फिल्ड' उत्रेलगत्तै पर्सा प्रहरी एक्सनमा : वीरगंजबाट २१ लाखको चामल बरामद

वीरगंज : भन्सार छली गरी अवैध रुपमा तस्करी गरी भित्राइएको ठुलो परिमाणको समान बरामद भएको छ। पर्साको वीरगंजमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त गस्ती टोलीले पूर्व सूचनाको अधारमा करिब २१ लाख रुपैयाँभन्दा बढीको चामल र अन्य समान बरामद गरेको हो।

गएराति ९ बजे प्रहरीले वीरगंज ११ रानीघाटमा छापा हानी ती समान बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जनाए। पर्सा प्रहरीका प्रवक्तासमेत रहेका गिरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्यालले केही दिनअघि वीरगंज आएर राजस्व चुहावटमा गम्भीर भएर लाग्नु भनी निर्देशन दिएका थिए। वीरगंज उद्योग वाणिज्य संघका एक कार्यक्रममा दुबै महानिरीक्षकहरुले यस्तो निर्देशन दिएलगतै पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। भारतको रक्सौलमा खद्यान्नका चामल, तेल, चिनी, रजनीगन्धालगायत समान सस्तो पर्ने भएकोले भारतबाट तस्करीको बाटोबाट भित्र्याई वीरगंजको रानीघाट, मिनाबजार, आदर्शनगर, छपकैया, बाइपासलगायत ठाउँमा ठुलो परिमाणमा लुकाईको प्रहरीमा सूचना पुगेको हो।

सोही अनुरुप नेपाल प्रहरी मातहतको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, वीरगंज भन्सार गुल्मका सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टको संयुक्त टोलीले छापा हानेको हो। दिउँसो १ बजेदेखि नै प्रहरीको टोली पुग्न लाग्दा पसलेहरु पसल बन्द गरी भागेका थिए।

गएराति करिब दुई सय जना सुरक्षाकर्मीको टोलीले रानीघाटको श्याम वर्णवाल, सुजित गुप्ता, प्रद्युमन गुप्ता, विनोदकुमार साह गरी चार जनाको खद्यान्न पसलको गोदाममा छापा हानी २५ किलोको विभिन्न भारतीय ब्रान्डको १ हजार १ सय २२ बोरा(२८१ क्विन्टल) चामल, १० क्विन्टल मैदा, हैन्डवास, स्प्रे, सर्जिकल समान २–२ कार्टुन, हार्पिक ९ कार्टून गरी कुल २१ लाख १४ हजार ६ सय रुपैयाँ बराबरको समान बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको समानलाई वीरगंज भन्सारमा आवश्यक कारवाहीको लागि पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell