PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

हप्तादिनमै नयाँ सरकार! यी हुन् ४ आधार



प्रकाश भण्डारी

हप्तादिनमै नयाँ सरकार! यी हुन् ४ आधार

काठमाडौं : निर्वाचन आयोगले बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनावको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको 'काउन्टडाउन' सुरु भएको छ। संविधानको धारा ९३ (१) निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। 'अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नेछ,' संविधानमा भनिएको छ।

आधार १ : अधिवेशन आह्वानको तयारीमा राष्ट्रपति!

उक्त व्यस्था अनुसार राष्ट्रपतिलाई अधिवेशन आह्वानका लागि पुस २९ सम्मको समय छ। राष्ट्रपतिले संसदको अधिवेशन कहिले आह्वान गर्छन्? अहिले धेरैका लागि चासोको विषय छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले भण्डारी संसदको अधिवेशन आह्वानको तयारीमा जुटेको बताए। 'राष्ट्रपति प्रक्रियाअनुसार जानुहुन्छ। त्यसका लागि जुट्नुभएको छ,' उनले भने।

सत्ता गठबन्धनबाट विशेषगरी कांग्रेस र माओवादीले सरकारको नेतृत्वमा दाबी गर्न थालेका छन्। चुनावी परिणामअनुसार कांग्रेस ८९ सिटसहित पहिलो दल बनेको छ। यद्यपि गठबन्धनलाई बहुमत नपुग्दा सत्ताको नेतृत्व कसको हातमा पुग्छ भन्ने यकिन भइसकेको छैन। ३२ सिट ल्याएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रधानमन्त्रीमा दाबी गरिरहेका छन्।

धारा ७६ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था व्यवस्था उल्लेख गरिएको छ।

‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ,’ धारा ७६ को उपधारा १ मा भनिएको छ। तर यसपटक कुनै दलले बहुमत ल्याउन सकेन। यस्तो अवस्थामामा के गर्ने त?

आधार २ : कुनै दलको बहुमत नपुग्नु

संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री हुन संसदीय दलको नेता हुनुपर्ने भए पनि संविधानको धारा ७६ को उपधारा २ अनुसार भने संसदीय दलको नेता हुनुपर्ने बाध्यता उल्लेख छैन। ७६ कै उपधारा २ मा यससम्बन्धी व्यवस्था उल्लेख छ। ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ,’ यसमा भनिएको छ।

अहिलेको अवस्थामा धारा ७६ (१) अनुसार सरकार गठन सम्भव नभएको प्रवक्ता आचार्यले प्रष्ट पारे।

७६(२) अनुसार तत्काल सरकार बन्न सम्भव छ त? यसका लागि भने अहिलेको सत्ता गठबन्धन र राष्ट्रपति भण्डारीले चाल्ने कदममै भर पर्ने देखिन्छ। किनभने राष्ट्रपतिले तत्कालै संसदको अधिवेशन आह्वान गरेमा सत्ता गठबन्धनले नयाँ सरकारका लागि दावी गर्न सक्छ। तर त्यसका लागि सत्ता गठबन्धनभित्र पनि प्रधानमन्त्रीका लागि सहमति जुट्नु जरुरी छ। किनभने सत्ता गठबन्धनमा राष्ट्रपति/उपराष्ट्रपति, प्रधानमन्त्री तथा सभामुख/उपसभामुखबारे विवाद रहदै आएको छ। संविधानको धारा ७६ को २ अनुसारका सरकार बन्नका लागि संसदीय दलको नेता नभए पनि हुने व्यवस्था भएकाले दलहरुले दुई वा दुईभन्दा बढी दलको समर्थनमा २७५ को बहुमत १३८ जुटाएर सरकारको दाबी गरे राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने आचार्यले बताए। 'अहिले कसैले प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभयो भने राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरिदिनुहुन्छ। तर अहिलेसम्म कसैले दावी नै गर्नुभएको छैन,' आचार्यले भने।

आधार ३ : अघिल्लो सरकारको गठन

अघिल्लो पटकको निर्वाचनपछि २०७४ फागुन ३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा दावी गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीले दाबी गरेकोमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। उनी प्रधानमन्त्री नियुक्त भएपछि मात्रै नेकपा एमालेको संसदीय दलको बैठक बसेको थियो। प्रधानमन्त्री पहिला नियुक्त भएर ओली संसदीय दलको नेता भएका थिए।

आधार ४ : बालुवाटारको गोप्य तयारी

निर्वाचनको परिणाम आएसँगै सत्ता गठबन्धन नयाँ सरकार गठनमा जुटिसकेको छ। सत्ता गठबन्धनले नयाँ सरकार गठनको तयारी तीव्र पारेको बालुवाटार स्रोतको दाबी छ। स्रोतका अनुसार यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले भित्रभित्रै तयारी थालेका हुन्। प्रधानमन्त्री देउवाले यसका लागि उपसभापति पूर्णबहादुर खड्का र कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतलाई खटाएका छन्। यद्यपि यो विषय आफूलाई थाह नै नभएको कांग्रेस उपसभापति खड्काले दाबी गरे।

‘चार दिनयता मैले कसैलाई भेटेको पनि छैन। म कतै गएको पनि छैन,’ उपसभापति खड्काले भने। सत्ता गठबन्धन दलमा अहिले कांग्रेससँग ८९, माओवादीसँग ३२, एकीकृत समाजवादीसँग १०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग ४ र जनमोर्चासँग १ गरी १३६ सिट रहेको छ। देउवा गठबन्धनलाई सीके राउतको पार्टी जनतम पार्टीले सहयोग गर्ने ‘ग्रिन सिग्नल’ दिएको छ। 'एक हप्ता वा पुस १५ गतेभित्र नयाँ सरकार आइसक्ने तयारी छ,' बालुवाटार स्रोतको दाबी छ। माओवादी अध्यक्ष प्रचण्डले भने कांग्रेसइतरको आडमा नेतृत्वमा दाबी गरेको बताइएको छ। माओवादी नेताको उचित व्यवस्थपन गरी कांग्रेस सभापति देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने बालुवाटार स्रोतको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell