PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

इन्जिनियरिङ पढ्दै गरेका युवकको खातामा करोडौं : कमाउने धन्दामा लाग्दा प्रहरीको फन्दामा



पहिलोपोस्ट

इन्जिनियरिङ पढ्दै गरेका युवकको खातामा करोडौं : कमाउने धन्दामा लाग्दा प्रहरीको फन्दामा

काठमाडौं : २० वर्षीय आदर्श ठाकुर दशैं बिदामा पोखराबाट काठमाडौं फर्किए। महोत्तरी स्थायी घर भएका आदर्श पोखरामा बिई सिभिल इन्जिनियरिङ गरिरहेका थिए। उनी काठमाडौं फर्किएको केही समयपछि क्रिकेट विश्वकप सुरु भयो। आदर्शलाई क्रिकेट विश्वकपले तान्यो। खेलमा रमाउनेभन्दा पनि कमाउने धन्दामा लागे उनी। तर गलत बाटो प्रयोग गर्दै।

ललितपुरको सानेपामा उनी आफ्नै घरमा परिवारसँग बस्दै आएका थिए। गत सोमवार एकाएक प्रहरी पुग्यो आदर्शको घरमा। प्रहरीले 'वान एक्स विट' मार्फत सट्टेबाजी गराएको आरोप लगायो आदर्शलाई। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीको नियन्त्रणमा परे उनी। त्यसपछि परिवारका सबै सदस्य एकाएक निराश भए। 

प्रहरीले आदर्शलाई समात्नुअघि अनुसन्धान गरेको थियो। जसमा उनको बैङ्क खातामा अस्वाभाविक रुपमा छोटो समयमा नै लाखौ रुपैयाँ देखिएको थियो। खातामा देखिएको रकम पुष्टि गर्न आदर्शसँग अरु कुनै स्रोत थिएन। त्यसैले प्रहरी हतकडी लिएर आदर्शकोमा पुगेको थियो। आठ महिनाको अवधिमा उनले नबिल, सिद्धार्थ र एनआइसी एसिया बैङ्क २ करोड २ लाख ८४ हजार रुपैयाँ रकमान्तर गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए।

आदर्शले नबिलबाट ६९ लाख रुपैयाँ, सिद्धार्थबाट ४५ लाख ५३ हजार रुपैयाँ र एनआइसीबाट ८८ लाख २४ हजार रुपैयाँ विभिन्न डिजिटल वालेटबाट रकमान्तर भएको देखियो। प्रहरीले आदर्श नेपालमा वान एक्स बेट गराउने एजेन्ट भएको दाबी गरेको छ। उनले विभिन्न व्यक्तिहरूको नागरिकता र फोटोको दुरुपयोग गरेर २ सयभन्दा बढी डिजिटल वालेटमार्फत एकाउन्ट खोलेर कारोबार गराएको खुलेको छ।

दशैंमा घर फर्किएका आदर्श सट्टेबाजीबाट कमाइ हुन थालेपछि क्रिकेटको विश्वकप मात्र होइन फुटबलको विश्वकपसमेत सकाएर पोखरा फर्किने तयारीमा थिए। तर उनी पोखरा फर्कन नपाउँदै प्रहरीले हिरासतमा पुर्‍याएका छन्। प्रहरीले फुटबल विश्वकप हुनुभन्दा अगाडि नै नेपालमा सट्टेबाजी गराउने गिरोहलाई खोजी गरिरहेको थियो। तर विश्वकप सकिनै लाग्दा केही एजेन्टलाई पक्राउ गर्न सफल भएको छ।

आदर्शमात्र होइन गत बुधवार प्रहरीले लमजुङका २६ वर्षीय सुमन गौलीलाई नियन्त्रणमा लिएको छ। उनले पनि वान एक्स बेटमार्फत नै विभिन्न बैंक र डिजिटल वालेट प्रयोग गरेर ७ करोड ७२ लाख ८९ हजार रुपैयाँको कारोबार गरेको खुलेको छ। उनी पनि नेपालमा वान एक्स विटको एजेन्ट भएको प्रहरीको दाबी छ। उनीहरूले रकम संकलन र भुक्तानीको आधारमा प्रतिशत रकम पाउने गरेको खुलेको छ। १ लाख रुपैयाँ खातामा लोड गर्दा ७ हजार रुपैयाँ र झिक्दा २ हजार रुपैयाँ कमिसन पाउने गरेको प्रहरीमा बयान दिएका छन्। एक वर्षमा औसत २० देखि २५ लाख रुपैयाँ कमाइ हुने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

नेपालमा सट्टेबाजी भएपछि नेपाल राष्ट्र बैङ्कले कुनै पनि विदुतिय माध्यमहरू डिजिटल वालेट, अनलाइन र मोबाइल बैङ्किङबाट जुवा तथा बाजीजन्य कारोबार नगर्न निर्देशन दिएको छ। तर सरकारका अन्य निकायको सक्रियता नबढ्दा र नयाँ नीति लागू गर्न नसक्दा यस्ता धन्दा मौलाएका छन्। प्रहरी स्वयम नै समातिएका व्यक्ति प्रतिनिधि पात्र मात्र भएकाले अनलाइन जुवा भित्रभित्र मौलाएको बताउँछ।

कसरी गर्छन् एजेन्टले काम?

'वान एक्स बेट'मार्फत अनलाईन जुवा नेपालमा प्रतिबन्धित मानिन्छ। विश्वका केही देशहरूमा भने कानुनी मान्यता नै पाएको छ। बान एक्स बेट साइप्रसमा रजिष्टार भएको देखिएको छ। त्यहाँबाट विभिन्न देशमा अनलाइन जुवा खुलाइरहेको छ। पछिल्लो समय नेपाल पनि अनलाइन बेटको लागि टार्गेटमा गरेको छ। जसको लागि वान एक्स बेट संचालकले नेपालमा एजेन्टहरू नियुक्ति गरिरहेको छ। क्रिकेट र फुटबल विश्वकपमा प्राथमिकताको साथ नेपालमा एजेन्ट भर्ना गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। आदर्श ठाकुर र सुजन गौलीजस्ता पत्र यसैका उदाहरण मात्र हुन्।

आदर्शजस्ता पात्रले देशका विभिन्न व्यक्तिहरूबाट नागरिकता सङ्कलन गरेर सिम कार्ड झिक्ने तथा डिजिटल वालेट एकाउन्ट खोल्ने गरेको देखिएको छ। जसका लागि उनीहरूले नागरिकताको फोटोकपीको लागि एक जनालाई तीन सय रुपैयाँसमेत तिर्ने गरेको एक अनुसन्धान अधिकृतले जानकारी दिए।

'एउटाको नागरिकता अर्काको फोटो हालेर सिम कार्ड झिक्ने र त्यहीबाट डिजिटल वालेटको एकाउन्टसमेत खोल्ने गरेको देखिन्छ,' ती अनुसन्धान अधिकृतले सुनाए। उनीहरू एक जनाले २ सय वटासम्म ईसेवा, खल्ती लगायतका डिजिटल वालेट एकाउन्ट खुलेको अनुसन्धानमा खुलेको छ।

त्यसपछि वान एक्स बेटमार्फत बिट गर्न चाहने व्यक्तिले एकाउन्ट खोलेपछि एजेन्टमार्फत क्यास म्यानेजरसम्म पुग्ने गर्छन्। क्यास म्यानेजरसम्म रकम पुर्‍याएर एकाउन्टमा पैसा हाल्ने काम हुन्छ। त्यसरी ग्राहकले खोलेको एकाउन्ट पैसा हाल्ने र झिक्ने काम तीनै एजेन्टले गर्ने गरेका छन्।

'१०/ १२ लाख रुपैयाँ जितेपछि सीधै पैसा निकाल्न मिल्दैन त्यसको लागि एजेन्टसँग सम्पर्क गर्नुपर्ने हुन्छ। कतिले त विभिन्न बहाना बनाएर पैसा नदिने र एकाउन्ट नै डिएक्टिभ गरेको गुनासो पनि भेटियो,' अनुसन्धान अधिकृतले सुनाए।

तर नेपाल अनलाइन जुवा अवैध गएकाले पीडित भएका व्यक्तिहरू प्रहरी कहाँ पुग्ने गरेका छैनन्। तर पनि उनीहरू यस्ता खेलमा ठगिने पनि गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। प्रहरीले अनुसन्धानको क्रममा खुल्न आएका ४ सय ८४ वटा विभिन्न सेवा प्रदायक डिजिटल वालेटको कारोबार रोक्का राखेर अनुसन्धान गरिरहेको छ।

नेपालमा एजेन्टहरूलाई कन्ट्रोल गर्ने अर्को मुख्य व्यक्ति पहिचान गरेर खोजी गरिरहेको छ। केसी थर भएका एक युवक एजेन्टलाई परिचालन गर्ने गरेको खुलेको हो। वान एक्स बेट सञ्चालन गर्ने गिरोहले एक एजेन्ट र अर्को एजेन्टसँग सम्पर्क भने गराउँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell