काठमाडौं : विदेशी मुद्रा सञ्चित गर्न भन्दै सरकारले महँगो मूल्यका मोबाइल फोन विदेशबाट आयत गर्न रोक लगाएको थियो। तर, पनि चोरी चकारी बाटो हुँदै नेपालमा महँगो मूल्यका मोबाइल फोन सेट भित्रिरहे। स्थलमार्ग बाटमात्र होइन हवाई मार्गबाट समेत मोबाइल फोन भित्रिएको खुलासा भएको छ।
१० दिनअघि मात्र त्रिभुवन विमानस्थल प्रयोग गरेर कोरियन नागरिकले मोबाइल फोन नेपाल ल्याएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको भन्सार कार्यालयले स्क्यानिङ गर्दा उनीहरूले लगेजमा मोबाइल ल्याएको खुलेको थियो।
तीन जना विदेशीको साथबाट ६४ थान मोबाइल बरामद गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतवार चेकजाँचका क्रममा ६१ थान आइफोन र चार थान सामसुङ मोबाइल नियन्त्रणमा लिएको हो।
तीन वटा लगेजमा आइफोन-१३ र १४ प्रो-म्याक्स ६१ वटा, चार्जर ८० वटा र सामसङ मोबाइल चार थान भेटिएको हो। उक्त फोन १ करोड १५ लाख रुपैयाँ बराबरको रहेको भन्सारले जनाएको छ। ठुलो मात्रमा मोबाइल बरामद हुनुले उनीहरूले योजनावद्ध तस्करी गरेको हुनसक्ने विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण प्रोखरेल बताउँछन्।
‘यो योजना अनुरूप नै ल्याएको देखिन्छ। नत्र ठुलो संख्यामा यसरी किन मोबाइल ल्याउनु पर्ने हुन्थ्यो,’ महानिर्देशक पोखरेलले भने।
कति वटा मोबाइल ल्याए जफत हुन्छ?
व्यक्तिगत प्रयोगको ट्याब्लेट वा ल्यापटप एउटा भन्दाबढी ल्याएमा भन्सार महसुल लाग्छ। व्यक्तिगत प्रयोगको मोबाइल फोन एक वा सोभन्दा बढी भएमा भन्सार महसुल लाग्नेछ। यसरी तोकेको भन्दाबढी परिमाणमा फोन ल्याएमा भन्सार विभागले जफत गर्छ। तर, सरकारले महँगो मूल्यको फोन आयतमा प्रतिबन्ध लगाए पनि बजारमा महँगा फोन छ्यापछ्याप्ती पाइन्छ।
यसरी ठूलो परिमाणमा फोन बरामद हुनुले अवैध तरिकाबाट आएका फोनले नै बजारको माग धानिरहेको पुष्टि गर्छ। सरकारले विदेशी मुद्रा सञ्चितिमा अत्यधिक चाप परेको भन्दै ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट आयातमा प्रतिबन्ध लगाएको छ।
पुस १ गतेबाट सरकारले प्रतिबन्ध फुकुवाको घोषणा गरेको छ। तर, राष्ट्र बैंकले सर्कुलर जारी नगरेसम्म एलसी खोल्न मिल्दैन। यद्यपि, अहिलेसम्म भने यस्ता मोबाइलको तस्करी भइरहेको छ। कुनै व्यापारीसँगको डिल अनुसार नै नेपाल मोबाइल ल्याएको भन्सारका कर्मचारीको दाबी रहेको छ।
‘यो सामान्य रुपमा नेपालमा ल्याइएको होइन। कसैले मगाएर नै ल्याएको हो। हामी अनुसन्धान गरिरहेका छौँ,’ भन्सार कार्यालयका एक कर्मचारीले भने।
तर, भन्सार कार्यालयले तीन विदेशी नागरिक विरुद्ध चोरी पैठारीमा मुद्दा चलाएको छैन। उनीहरूले विमानस्थलबाट सामान्य रुपमा नै लगेजमा हालेर लगेकाले लुकाउन छिपाउन नखोजेको भन्दै तोकिएको परिमाण भन्दा बाहिर ल्याएको शिर्षकमा मुद्दा चलाउने भएको छ।
विदेशबाट यात्रुले एक भन्दाबढी तीन वटा सम्म भन्सार शुल्क बुझाएर मोबाइल सेट ल्याउन पाउँछ। तर, तीन वटा भन्दाबढी मोबाइल सेट ल्याएको खण्डमा जफत गर्ने गरेको छ। भन्सारको पासोमा परेका कोरियन नागरिकले कोरियामा रहेका मानिसले आफन्तलाई पठाएको फोन भएको बयान दिएका छन्।
तर, उनीहरूको दाबी अपत्यारिलो देखिएको छ। उनीहरूले १ करोड भन्दा बढी मूल्यका फोन बोकेर आएका थिए। भन्सार कार्यालयले उनीहरूले ल्याएको मोबाइल जफत गरेर लिलामीको तयारी थालेको छ।
भन्सार कार्यालयका उपसचिव मुक्ति श्रेष्ठ धेरै पछि ठूलो परिमाणमा मोबाइल सेट बरामद भएको बताउँछन्। त्यसको त गएको कात्तिक महिनामा पनि २६ थान मोबाइल सेट विमानस्थलबाट बरामद भएको थियो। अहिले पनि दैनिक यात्रुले राजस्व तिरेर विदेशबाट २ वटा सम्म मोबाइल सेट ल्याउने गरेका छन्।
विमानस्थल भन्सार कार्यालयले साउन महिनायता औषत ३० वटासम्म विदेशबाट ल्याएका मोबाइल जफत गरेको छ। मंसिर महिनामा राजस्व कार्यालयले ७० वटा मोबाइल जफत गरेको छ। कात्तिक महिना ३० वटा मोबाइल जफत भएको थियो। राजस्व तिरेर ल्याउने मोबाइलको संख्या झनै बढी देखिन्छ।
‘तोकेको परिमाणभन्दा बढी मोबाइल ल्याएको खण्डमा हामी जफत गरेर लिलामी प्रकृया सुरु गर्छौँ,’ उपसचिव मुक्ति श्रेष्ठले भने।
सरकारले मोबाइलमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि विदेशबाट चोरि चकारी गरेर ल्याउने मोबाइलको संख्या कमी आउनेमा भन्सार कार्यालयका कर्मचारी विस्वस्त सुनिन्छन्। त्यसो त भारत हुँदै सीमा नाकाबाट राजस्व छलि गरेर भित्रिने क्रममा बरामद गरिएका मोबाइलको संख्या पनि उतिकै देखिन्छ।