पोखरा : पर्यटकको प्रमुख रोजाइँको रुपमा रहेको अन्नपूर्ण पदमार्गमा पर्ने भएपनि लान्द्रुक गाउँमा खासै चहलपहल हुँदैन। चर्चित पर्यटकीय गाउँ घान्द्रुकको वारी पर्छ लान्द्रुक गाउँ। तर, यो गाउँ पर्यटकको गन्तव्यमा खासै पर्दैन।
कहिलेकसो अन्नपूर्ण आधार शिविर र मर्दी जाने पर्यटकले गाउँमा बास बस्छन्। यो बाहेक लान्द्रुक गाउँलाई नै लक्षित गरी पर्यटक घुम्न भने त्यति आउँदैनन्। नजिकै देखिने अन्नपूर्ण हिमाल र हिमचुलीको दृश्यले भने लान्द्रुकले पर्यटनको सम्भावना बोकेको महसुस हुन्छ।
त्यसमा पनि गुरुङ गाउँको बस्तीले चर्चित घान्द्रुक गाउँको संस्कृति पनि झल्काउँछ। पर्यटनको सम्भावनका बोकेको गाउँमा पछिल्लो समय पर्यटकको आगमन झन कम हुँदा लान्द्रुकले पर्यटक तान्ने नयाँ तरिका अपनाएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका-७ मा पर्ने लान्द्रुकको कोटेसाङ महभीरमा स्थानीयले वर्षेनी मह काड्छन्। वर्षमा दुई सिजन गरी जेठ र कात्तिक महिना महभीरबाट स्थानीयले मह निकाल्छन्। भीरबाट मह काड्ने स्थानीयको उत्सवलाई नै महोत्सव बनाएको छ लान्द्रुकले। ‘हनी हन्टिङ’ महोत्सव आयोजना गरेर लान्द्रुकले पर्यटक तान्न खोजिरहेको छ।
लान्द्रुकले यसअघि करिब १२ वर्ष अगाडि पहिलो महोत्सव आयोजना गरेको थियो। तर, केही कारणले महोत्सवले निरन्तरता पाएन। जसलाई अघिल्लो वर्षदेखि निरन्तरता दिइएको हो। आन्तरिक तथा बाह्य पर्यटनलाई लक्षित गरी आयोजना गरिएको महोत्सवलाई लान्द्रुकले यसवर्षपनि निरन्तरता दिँदै मंसिर २७ र २८ गते तेस्रो ‘हनी हन्टिङ’ महोत्सव सम्पन्न गर्यो।
पर्यटकलाई लक्षित गरी आयोजना गरिएको ‘हनी हन्टिङ’ महोत्सवमा सहभागी हुन लान्द्रुकले केही योजना बनाएको थिएन। तर, महोत्सवलाई नै लक्षित गरी आउने विदेशी पर्यटकले एक दिनको शुल्क एक लाख रुपैयाँ बुझाउनु पर्छ।
यस्तै, नेपाली टोलीले दिनको ७० हजारसम्म शुल्क तिर्नुपर्छ। जसमा पर्यटकले भिडियो तथा फोटो सुट गर्न पाउँछन्। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएका कारण त्यसको लागि सम्बन्धित निकायसँग अनुमति भने लिनुपर्छ। यस्तै, चाहेको व्यक्ति आफैँ ‘हनी हन्टिङ’ गर्न भीरमा पनि चढ्न पाउँछन्।
‘भर्खर सुरु गर्दै छौँ। अहिलेसम्म त्यस्तो केही सोचेको छैन। हाम्रो कुरा र सोच के भने पर्यटकको लागि गरेको महोत्सव सबै आइदिओस्। यसलाई प्रवर्द्धन गर्न पाम्। हेर्न सबैले पाउँछन्। भिरमा जम्मै जान सक्ने कुरा पनि भएन क्यारे जो जसले मौरीसँग खेल्न सक्छ, मौरीले टोकेपनि खप्न सक्छ। तीनै जान्छ,’ महोत्सवका संयोजक बुद्धिबहादुर गुरुङले भने।
लान्द्रुकमा महोत्सव आयोजना हुनुअगाडि पनि मह निकाल्थे स्थानीयले। तत्कालिन मुखियाको समयदेखि मह काड्ने चलन गाउँमा थियो।
मुखियाकै रजगज भएको समयमा महभीरको स्वामित्व मुखियाकै थियो। पछि, बहुदल आएपछि मुखियाले गाउँलाई महभीरको स्वामित्व दिए। त्यसपछि गाउँलेले पहिले जस्तै महभीरबाट मह काडेर गाउँको कोषमा राख्न थाले। यहीँ चलनलाई नै महोत्सवको रुपमा आयोजना गरिएको हो।
अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकांश स्थानमा सडक सञ्जाल नपुग्दा प्राय लान्द्रुकको बाटो हिँड्थे पर्यटक। पछिल्लो समय भने पदमार्ग यात्राको दिन छोटियो। सँगै लान्द्रुकमा पर्यटक पनि कम भए। सुस्ताउँदै गएको पर्यटकको आगमनलाई पहिलेकै लयमा फर्काउन स्थानीयले यस्तो उपाय लगाएका हुन्।
‘पर्यटकको लागि भएपनि हामीले गर्नुपर्छ भनेर महोत्सव गरेको हो। गत वर्षबाट सुरु गर्ने निर्णय गर्यौँ। आइपुगेका पर्यटकले हेर्न चाहे पाउँछन्। भीरमा १२-१५ विदेशी टिम आइसक्यो। कोही मह काडेर गयो। यहाँ सम्पर्क गर्ने अनि सुटिङ गर्ने त्यसको लागि आउँछन् धेरै विदेशी,’ उनले भने।
लान्द्रुकले महोत्सव आयोजन नगर्दै केही वर्ष अगाडि विदेशी पर्यटक आएर हनी हन्टिङको डकुमेन्ट्री सुट गरेर गएका थिए। डकुमेन्ट्री हेरेर नै हनी हन्टिङ महोत्सव हेर्न यसपाला दुई विदेशी आए। उनीहरुको लागि गाउँले कात्तिकमा काड्ने मह मंसिरको अन्तिममा निकालेको हो।
‘अहिले दुईजना पर्यटक यहाँ सम्पर्क गरेर आएको हो। हामीले यो कात्तिकको समयमा काडीसक्नुपर्ने हो। कन्टयाक गरेर आएको दुई जना गोराको कारण हामी मंसिरसम्म पर्खिएर बसेको हो। काठमाडौंबाट मलाई कन्ट्याक गरेको, एकदिनको एकलाख। उनीहरु जे गरेपनि पाइयो। चढ्न पनि पाइयो। पोहोर एकसाल नेपाली नै आएको थियो काठमाडौंबाट हामीले ६० हजार लियो,’ उनले भने।
सम्पर्क गरेर आउने पर्यटकलाई निश्चित रकम भएपनि सबैलाई एउटै शुल्क छैन। पदमार्गमा हिँडेका केही पर्यटक हनी हन्टिङ महोत्सवबारे थाहा पाएपछि आफनो बसाइँ गाउँमा लम्ब्याउँछन्। सिजनको समयमा आइपुगेका पर्यटकले हनी हन्टिङ हेर्न चाहे उनीहरुले स्थानीयले तोकेको रकम तिर्नुपदैन।
हनी हन्टिङलाई नै प्राथमिकतामा राखेर घुम्न आउने पर्यटकले भने गाउँलेले तोकेको शूल्क तिर्नुपर्छ। जसमा खाना र बस्न बेग्लै तिर्नुपर्छ।
पोखराबाट साढे २३ किलोमिटर दूरीमा रहेको लान्द्रुक गाउँ तीन घण्टामा पुग्न सकिन्छ। जेठ र कात्तिकको समयमा पुगे हनी हन्टिङको मज्जा लिन सकिन्छ। हनी हन्टिङको मुख्य सिजन भनेको जेठ हो। तर, बाह्य पर्यटकको आगमन हुने यो समय भएकाले दोस्रो सिजनमा महोत्सवको रुपमा मनाउन थालिएको हो।