
संयुक्त राष्ट्र संघले ट्वीटरबारे समाचार लेख्ने केही पत्रकारहरूको अकाउन्ट ‘सस्पेन्ड’ गर्ने ट्वीटरको निर्णयको निन्दा गरेको छ। यसअघि युरोपेली संघ (ईयू)ले पनि ट्वीटरको उक्त निर्णयको निन्दा गरेको थियो।
न्यूयोर्क टाइम्स, सीएनएन र वाशिङ्गटन पोस्टका रिपोर्टरलगायतका व्यक्तिहरुको अकाउन्ट ट्वीटरले ‘सस्पेन्ड’ गरेको छ। संयुक्त राष्ट्र संघले मिडिया स्वतन्त्रता ‘कुनै खेलौना होइन’ भन्दै ट्वीट गरेको छ भने ईयूले ट्वीटरलाई प्रतिबन्धको धम्की दिएको छ।
ट्वीटरका प्रवक्ताले उक्त प्रतिबन्ध लोकेशन डाटाको लाइभ सेयरिङका कारण लगाइएको बताएका छन्।
राष्ट्र संघकी ग्लोबल कम्युनिकेसन महासचिव मेलिसा फ्लेमिङले पत्रकारहरूलाई ट्विटरबाट ‘सस्पेन्ड’ गरिएको रिपोर्टले आफू ‘विचलित’ भएको बताइन्।
‘मिडिया स्वतन्त्रता कुनै खेलौना होइन’, उनले भनिन्, ‘स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला र विकृति विरुद्धको लडाइँमा एक प्रमुख उपकरण हो।’
यसअघि शुक्रवार ईयू आयुक्त भेरा जोउरोभाले ट्वीटरलाई ‘मिडिया स्वतन्त्रता र मौलिक अधिकारको सम्मान’ सुनिश्चित गर्ने युरोपको नयाँ डिजिटल सेवा ऐन अन्तर्गत प्रतिबन्ध लगाउने धम्की दिएकी थिइन्।
‘इलोन मस्क यसबारे सजग हुनुपर्छ। हरेक कुराको सीमा हुन्छ। चाँडै प्रतिबन्ध हुनसक्छ,’ उनले थपे।
News about arbitrary suspension of journalists on Twitter is worrying. EU’s Digital Services Act requires respect of media freedom and fundamental rights. This is reinforced under our #MediaFreedomAct. @elonmusk should be aware of that. There are red lines. And sanctions, soon.
— Věra Jourová (@VeraJourova) December 16, 2022
मस्कले ‘सस्पेन्सन’बारे सीधा टिप्पणी गरेका छैनन्, तर उनले एक ट्वीटमा भनेका छन्, ‘मेरो आलोचना दिनभर गरेपनि पाइन्छ, तर मेरो वास्तविक-लोकेसन सेयर गरेर मेरो परिवारलाई खतरामा पार्न पाइदैन।’
मस्कले पछि उक्त अकाउन्टहरू ‘अहिले’ वा ‘सात दिनपछि’ फुकुवा गर्ने भनेर प्रश्न गर्दै ट्वीटर सर्वेक्षण गरेका थिए। उनले यो निर्णय छिट्टै उल्टाउन सकिने बताएका थिए।