काठमाडौं : शनिवार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो सरकारी कार्यालयमा कांग्रेसबाट निर्वाचित सांसदहरुलाई बधाई तथा सम्मानका लागि चियापान आयोजना गरेका थिए। दिउँसो ३ बजेबाट चियापान समारोह शुरु भयो। प्रत्यक्षमा निर्वाचित तथा समानुपातिकबाट निर्वाचित सांसदहरुको पालैपालो बालुवाटार आइपुगे। बालुवाटार आइपुगेका सांसदहरुलाई देउवाले पालैपालो खादामाला लगाउँदै बधाई दिन्थे।
बधाई साटासाटका क्रममा सञ्चारमाध्यमलाई प्रवेश भने दिइएन। नवनिर्वाचित सांसदहरुले कार्यक्रमपछि बाहिर निस्किएर फोटो सेसन गर्न भने भ्याए। यसरी फोटो सेसन गर्दा पुरुष सांसदहरु प्रधानमन्त्री देउवासँग झुम्मिएका थिए भने महिला सांसदहरु प्रधानमन्त्री पत्नी आरजु देउवासँग घेरिएका थिए।
यसपटक रोचक के रह्यो भने सबैभन्दा कान्छो उमेरमा निर्वाचित भएका मुस्ताङका सांसद योगेश गौचन थकालीसँग पनि धेरैले फोटो खिचाए। अघिल्लो निर्वाचनको परिणाम आउँदा देउवा बालुवाटारमै थिए। तर त्यतिबेला नराम्ररी पराजित बनेको थियो। यसपटक भने प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसले ८९ सिट सुरक्षित गरेको छ।
यो सँगै कांग्रेस सबैभन्दा ठुलो दल बनेको त बनेको छ नै सत्ता गठबन्धनको नेतृत्व गर्दै पुन सरकारको बागडोर सम्हाल्ने तयारीमा छ। यही भएर हुन सक्छ - फोटो खिच्ने क्रममा देउवा मक्ख देखिन्थे।