PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

लुम्बिनीमा समानुपातिकतर्फ ७ प्रतिशत मत बदर



पहिलोपोस्ट

लुम्बिनीमा समानुपातिकतर्फ ७ प्रतिशत मत बदर

बुटवल : गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ ७ दशमलव २३ प्रतिशत मत बदर भएको छ। निर्वाचनमा समानुपातिकतर्फ कूल खसेको २० लाख ३४ हजार १०६ मतमध्ये १ लाख ४७ हजार २८ मत बदर भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेशसभा निर्वाचनको प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आयुक्त भण्डारीले समानुपातिकको तुलनामा प्रत्यक्षमा बदर मत कम भएको बताए। प्रत्यक्षतर्फ २० लख ३४ हजार ३५४ मत खसेकोमा ९१ हजार ३७७ अर्थात ४ दशमलब ४९ प्रतिसत मत बदर भएको उनले जानकारी दिए। मत बदर हुनुको कारण मतदाता शिक्षामात्र नभएर मतदान केन्द्रको व्यवस्थापनमा केही कमि कमजोरी हुँदा पनि मतपत्र बदर भएको भण्डारीले बताए।

लुम्बिनी प्रदेश सभाको निर्वाचनमा २२ वटा राजनीतिक दलको धरौटी जफत भएको आयोगले जनाएको छ। प्रदेश सभा निर्वाचन ऐन २०७४ अनुसार कुनै राजनीतिक दलले एक सिट प्राप्त नगरे त्यस्तो दलले राखेको धरौटी जफत हुने कानूनी व्यवस्था छ। ऐनमा १ दशमलब ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था अनुसार लुम्बिनी प्रदेशसभामा १० वटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले अब संविधान र कानून अनुसार प्रदेश सांसदहरुको सपथ र सरकार गठन लगायतका प्रक्रिया अघि बढ्ने बताए। प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने व्यवस्था रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell