PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

टेबुल ठटाउन ठिक्क परेका नयाँ सांसद, के लिएर छिर्दैछन् संसद् भवन?



प्रकाश भण्डारी

टेबुल ठटाउन ठिक्क परेका नयाँ सांसद, के लिएर छिर्दैछन् संसद् भवन?

काठमाडौं: प्रतिनिधि सभा सदस्य रवि लामिछाने मंसिर २४ गते उद्योग वाणिज्य संघ चितवनको कार्यालय पुगे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेले संघका चितवन अध्यक्ष चुननारायण श्रेष्ठलाई भेट्नुको उद्देश्य थियो - आफ्नो निर्वाचन क्षेत्रको विकासमा खरो उत्रनु।

पत्रकारिताबाट चर्चा कमाएर प्रतिनिधि सभाको निर्वाचनअघिमात्रै राजनीतिमा होमिएका लामिछाने संघीय संसद् नछिर्दै आफ्नो निर्वाचन क्षेत्र चितवन-२ मा खटिएको जनाउ दिन थालिसकेका छन्। ‘युवा रोजगार प्रर्वद्धनका लागि ‘आइडिया बैंक’ स्थापना गर्ने,’ लामिछाने र श्रेष्ठबीचको सहमतिमा छ। पहिलो प्रयासमै संसदमा ‘डेब्यू’ गरेका हुन् लामिछानेले। पार्टी स्थापना भएकै केही महिनामै संसदमा २० सिट जितेर चौथो शक्तिका रुपमा स्थापित भएको छ। उनी सांसद भइसके पनि आफ्नो पुरानो पत्रकारिताको छविलाई भने कायमै राखिरहेका छन् विभिन्न ठाउँमा अनुगमन गरेर।

लामिछाने र शाहीले रोचक संसद्

लामिछानेजस्तै संसदमा पहिलो प्रयासमै डेब्यू गर्ने सांसद हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही। जुम्लाबाट निर्वाचित उनी भ्रष्टाचारविरुद्धको अभियान चलाएर चर्चामा आएका थिए। निर्वाचनअघि राप्रपामा प्रवेश गरेका उनी पनि प्रतिनिधि सभामा नछिर्दै चर्कोगरी सरकारका कामको विरोध गर्न थालिसकेका छन्। खरो स्वभावका शाहीले रेशम चौधरीलाई जेलबाट छुटाउन सरकारले फौजदारी कार्यविधि संहिता संशोधनका लागि ल्याएको अध्यादेशप्रति आक्रोश व्यक्त गरेका छन्।

‘सरकारको आयु सिद्धिएर नयाँ निर्वाचन भइसकेपछि जनताको मतलाई लत्याएर, नयाँ संसदको अधिकार मिच्ने प्रयास गरेको छ। यो कामचलाउ सरकारले गरेको अनैतिक अध्यादेश असंवैधानिक छ,’ शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। शाही अभियन्ताको रुपमा सक्रिय रहँदा बेलाबेला विवादमा आइरहने पात्र पनि हुन्।

राप्रपाले प्रतिनिधि सभामा प्रत्यक्षमा र समानुपातिकमा ७/७ गरी १४ सिट जितेको छ। लामिछाने र शाहीको मिल्दोजुल्दो स्वभाव के पनि हो भने दुबै जना चर्कोगरी सामाजिक सञ्जाल र मिडियामा सरकारको आलोचना गरेर उदाएका नेता हुन्।

संसदको चौथो ठूलो रास्वपा र १४ सिट जितेर पाचौं शक्ति बनेको राप्रपा प्रतिपक्षमा बसे सरकारका गतिविधिबारे राम्रैसँग टेबुल ठटाउने धेरैको अनुमान छ। 

सोचेझैं नहुन सक्छ नयाँका लागि संसद

यी दुई जनामात्रै होइन गैर राजनीतिक पृष्ठभूमिबाट निर्वाचन अघिमात्रै चर्चामा आएर प्रतिनिधि सभा सदस्य बन्नेहरुको जमात पनि छ यसपटक प्रतिनिधि सभामा। शपथ नलिँदै उनीहरु जुर्मुराउन थालिसकेका छन्। पुराना दल र नेताको विरोध गरेर उदाएका सांसदहरुलाई आफूले बाँडेका सपना पूरा गराउनुपर्ने दबाब पनि छ।

पुराना दलहरुबाट कमै युवा र नयाँ अनुहारले स्थान पाउँदा रास्वपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने युवाहरुलाई स्थान दिएको छ। कच्चा राजनीतिज्ञ र संसदीय राजनीतिबारे ज्ञान नहुने भएकाले नयाँ अनुहारका लागि संसद् त्यति सहज नहुने पनि बताइन्छ। किनभने संसदमा सत्ता र प्रतिपक्षीबीचको खेल जहिले रोचक हुन्छ नै। अझ सरकारले चलाखी अपनाएर आफ्ना गतिविधिलाई अघि बढाउन खोज्छ भने प्रतिपक्षले सरकारका गतिविधिमा प्रश्न उठाउँछ। आफ्ना प्रश्नप्रति जवाफदेही बनाउनु प्रतिपक्षीको पनि महत्वपूर्ण भूमिका हुन्छ।

एमालेसँगै राप्रपा र रास्वपा यसपटक प्रतिपक्षी हुने सम्भावना छ। रास्वपा र राप्रपा सरकारबाहिरै बस्ने सम्भावान किन पनि छ भने गठबन्धनले सत्तारुढ दलसँग मात्रै बहुमत नभएकाले प्रतिनिधि सभामा ३ सिट भएको रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिलाई पनि नयाँ सरकारमा सहभागी गराउने गृहकार्य गरिरहेको छ। नागरिक उन्मुक्ति सरकारमा गए गठबन्धनका लागि आवश्यक बहुमत पुग्नेछ। रास्वपा र राप्रपा दुबैले सरकारमा जाने/नजानेबारे निर्णय गरिसकेका छैनन्। यद्यपि रास्वपाभित्र सरकारमै जानुपर्ने मत बलियो छ।

थापाको शैली पनि उस्तै

त्यसो त यस पटक नेकपा (एमाले) सँग पनि सरकार गठनका लागि आवश्यक पर्ने बहुमत छैन। प्रतिनिधि सभामा एमालेसँग ७८ सांसद छन्। अघिल्लो पटकको निर्वाचनमार्फत पहिलो पार्टी बनेको एमाले यसपटक दोस्रो ठूलो दल हो। एमालेको ध्यान सरकार बनाउनेभन्दा पनि प्रतिपक्षमा बस्ने भएको एमालेका नेताहरु बताउँछन्।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सरकारमा जानेबारे गृहकार्य नभएको बताए। एमालेले यसपटक पुराना सांसदहरुलाई प्रतिनिधि सभाको समानुपातिकमा दोहोर्‍याएन। समानुपातिकमा पुराना सांसदलाई नदोहोर्‍याए पनि संघीय संसदमा एमालेका पुरानै पुरानै नेताहरुको दबदबा छ।

पुराना नेताको वर्चश्व रहे पनि केही नयाँ अनुहारले समेत यसपटक एमालेबाट पनि सांसद बन्ने अवसर पाएका छन्।

पहिलो प्रयासमै संसदमा ‘इन्ट्री’ गर्ने मध्येका एक हुन् सूर्य थापा। प्युठानबाट निर्वाचित भएका थापा खरो स्वभावका कारण पनि बेला बेलामा विवादमा आइरहने नेता हुन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार बनेका बेला थापाको स्वभावलाई लिएर आलोचना हुने गरेको थियो। उनले आफ्नो स्वभावलाई सांसद निर्वाचित भएपछि पनि कायमै राखेका छन्।

‘चुनाव जितेपछि फर्केर सक्कल अनुहार नदेखाउने र पाँच वर्षसम्मै फर्किन बिर्सनेहरूभन्दा हामी भिन्न छौं, भिन्न हौं र भिन्न गर्छौं,’थापाले सामाजिक सञ्जालमा भनेका छन्। असोज ५ गते चुनावका लागि प्युठान गएका थापा मंसिर २९ गते काठमाडौं फर्किएका छन्।

‘कानुन बनाउन केन्द्रित हुन्छौँ’

एमालेकै अर्का सांसद ठाकुर गैरे पनि बुधबारमात्रै काठमाडौं आइपुगे। गैरे पाल्पा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनका लागि पनि संसद नौलो हो। गैरे अखिलको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य बनेका थिए। लामो समयको राजनीतिक सक्रियतापछि मात्रै उनले यसपटक प्रतिनिधि सभाको टिकट पाए। संसदमा आफ्नो मुख्य भूमिका कानुन निर्माणमा हुने गैरेको भनाइ छ। ‘प्रतिनिधि सभा भनेको मुख्य रुपले कानुन बनाउने थलो हो। त्यसमा केन्द्रित भएर काम गर्छौँ,’ उनले भने।

जनपक्षीय कानुन बनाउन सांसदहरुको भूमिका महत्वपूर्ण हुने गैरेको बुझाइ छ। उनले जिल्लाको विकास निर्माणबारे सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्न पनि आफूले पहल गर्ने बताए। ‘सरकारको बजेट बनाउने ठाउँमा जिल्लाका विकास निर्माणका काम समावेश गराउने भूमिका पनि हुन्छ,’ गैरेले भने।

नवनिर्वाचित सांसदहरु निर्वाचन आयोगले बिहीबार निर्वाचनको रिपोर्ट राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै धमाधम काठमाडौं आइरहेका छन्। तर केही सांसद अहिले पनि जिल्लाका राजनीतिक गतिविधिमै सक्रिय छन्।

नेकपा (माओवादी केन्द्र) बाट संसदमा सिन्धुपाल्चोक-१ बाट ‘डेब्यु’ गरेका माधव सापकोटा जिल्लामै छन्। आइतबारमात्रै काठमाडौं आउने तरखरमा छन् सापकोटा।

सापकोटाले संसदमा आफ्नो भूमिका ग्रामीण क्षेत्रका ओझेलमा परेका विषयमा केन्द्रित हुने बताए। उनले जिल्लाको विकास निर्माणदेखि राष्ट्रिय राजनीतिमा समेत आफूजस्ता युवा सांसदले आवाज उठाउनुपर्ने बताए।

‘मुख्यगरी ओझेलमा परेका विषयबस्तुबारे नै ध्यान केन्द्रित हुनेछ। सांसदका भूमिका कस्तो हुने भन्नेबारे हामीभन्दा पहिलाका अनुभवी सांसदहरुबाट पनि सिक्ने छौँ। पार्टीले र संसद् सचिवालयले पनि यसबारेमा सिकाउला। मुख्यगरी हामी जस्ता युवा सांसदहरुको भूमिका भनेकै विकास निर्माण र चुनावका बेला गरेका बाचा पूरा गर्नु पनि हो,’ सापकोटाको भनाइ छ।

उनको पार्टी माओवादी केन्द्र अहिले पनि सत्तारुढ दल हो। प्रतिनिधि सभामा ३२ सिट जितेर तेस्रो शक्ति बनेको छ मा‌ओवादी केन्द्र। अब बन्ने सरकारको ‘ कि-फ्याक्टर’ हुने छ माओवादी केन्द्र। आफ्नै नेतृत्वमा सरकार गठन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहल थालिसकेका छन्। तर गठबन्धनले उनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्छ कि सर्दैन भन्नेबारेमा भने यकिन भइसकेको छैन।

कस्तो होला सिके राउतको प्रस्तुति?

‘मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात् एलायन्स् फर् राइट्स एन्ड इन्डिपेन्डेन्स् अफ् मधेश (ARIM) मार्फत अखण्डता विरोधी मुद्दा  बोकेका राउत पनि अहिले जनमत पार्टीको नेतृत्व गर्दै मुलधारको राजनीतिमा छन्। यस पटकको निर्वाचनबाट राउतले पनि प्रतिनिधि सभामा ‘डेब्यु’ गरे। उनले संसदमा के कस्तो प्रस्तुति देलान्? संसदमा उनको भूमिका कस्तो होला? धेरैलाई चासो छ। राउतको पार्टीको प्रतिनिधि सभामा प्रत्यक्षमा राउत १ र समानुपातिकमा ५ जना गरी ६ जना सांसद छन्। मधेशमा लोकप्रिय मत ल्याउना साथ राउतले शीर्ष नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाएका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मलाई भेटेका छन्। नयाँ सरकारमा राउतको पार्टी पनि सहभागी हुने बताइन्छ। त्यसका लागि नेपाली कांग्रेसका नेताहरुले राउतसँगको संवादलाई अघि बढाएका थिए। राउतले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समेत मधेशका मुद्दामा सकार्य गर्नुपर्ने भन्दै भेटघाट गरेका थिए। सांसद निर्वाचित हुनासाथ सक्रिय राउतको पार्टी पनि प्रतिनिधि सभाका लागि नौलो हो। त्यसमाथि राउतको स्वभावबारे पनि धेरैजना अनभिज्ञ नै छन्।

‘जनताको मुद्दा छलफल नगरिकन संसदमा कराउँदिनँ’

यस पटकको प्रतिनिधि सभा रोचक त किन पनि हुने छ भने नयाँ अनुहारमात्रै होइन चुनाव जित्छन् भनेर आकलन नै नगरका नेताहरु पनि प्रतिनिधि सभामा निर्वाचित भएका छन्। अर्थात उनीहरुको भूमिका कस्तो हुन्छ भन्नेबारे चासो हुनु स्वभाविकै हो। राप्रपाका दिपक सिंहको जितलाई पनि धेरैलाई परिणाम अघिसम्म अनुमानसमेत गरेका थिएनन्। तर उनले एमालेको चिन्ह लिएर चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई र गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई मकवानपुर-१ बाट पाखा लगाए। शारिरीक हाउभाउका कारण फिल्मी शैलीका देखिने सिंहको अर्को रोचक पाटो त के भने उनी स्थानीय तह निर्वाचनमा हेटौंडा महानगरको मेयर बन्न सफल नहुँदा पनि हार मानेनन्। अर्थात उनले प्रतिनिधि सभामा सोझै ‘डेब्यु’ गरे। सिंह आफूलाई सांसद बनेकोमा उत्साहितभन्दा चिन्तित देखिन्छन्।

‘म उत्साहितभन्दा पनि मकवानपुरको सपना कसरी साकार पार्ने र मकवानपुरे जनताको मुहार हँसिलो पार्ने भन्ने मेरो मुद्दा हुनेछ,’ उनले भने, ‘त्यसका लागि मैले जनताको एक/एक मुद्दा छलफल नगरिकन संसदमा कराउँदिन।’

मकवानपुरका जनताले वर्षौदेखि लालपूर्जा नपाएका विषयमा तुरुन्त पाउने व्यवस्था गर्न कानुन बनाउन पहल गर्ने सिहंले बताए।

उनले मकवानपुरमा बन्द भएका कलकारखाना चलाउन , किसानले समयमा मल नपाएका विषयहरुलाई संसदमा गएर जोडदार रुपमा उठाउने योजना सुनाए।

यसपटकको संसदमा डेब्यु गर्ने सांसदकै सूचीमा पर्छन् महेश बर्तौता। मकवानपुर-२ बाट निर्वाचित भएका एमालेका सांसद बर्तौला पनि युवा अनुहार हुन्। अन्टेस्ट भएकाले पनि उनको प्रस्तुति पनि नौलो हुने छ प्रतिनिधि सभामा। बर्तौलाले आफू विद्यार्थी राजनीतिबाट आएकोले शिक्षाको मुद्दा उठाउने बताए। त्यसो त उनको मुद्दा पनि सिंहसँग मेल खान्छ। ‘किसानको सबैभन्दा ठूलो समस्या समयमा मल नपाउने हुनाले सरकारको ध्यानाकर्षण गराउँछु, पहिलो प्राथमिकता नै शिक्षा हो,’ बर्तौलाको भनाइ छ।

कस्तो हुनुपर्छ सांसद?

सांसदको शपथ नखाँदै विकास निर्माणदेखि राष्ट्रिय राजनीतिमा खरो उत्रनुलाई पूर्व सभामुख तारानाथ रानाभाट अन्यथा मान्दैनन्। सांसद जनताको प्रतिनिधि पनि भएकाले जनतासँग जोडिएका हरेक विषयबारे बोल्नुपर्ने रानाभाटको तर्क छ।

सांसदले कुन विषयमा बोल्ने कुन विषयमा नबोल्ने भनेर लगाम लगाउन नहुने उनको भनाइ छ। ‘सांसदहरुले के बोल्ने कसो बोल्ने भन्दा पनि जनतासँग जोडिएका हरेक विषयमा बोल्नुपर्छ संविधानसंगत रुपमा। सांसदले बोल्न नपाउने भन्ने त हुँदैन। विकास निर्माणमा पनि उसले चासो राख्न सक्छ,’ रानाभाटले भने।

संसदमा प्रस्तुत हुनुअघि संसदीय दल र आफैंले पनि व्यापक तयारी गर्नुपर्ने सुझाव दिन्छन् उनी। ‘संसदीय दल हुन्छ। त्यहाँ पार्टीले विभिन्न खालका सूचनाहरु उपलब्ध गराउँछ। अध्ययनका लागि पनि व्यवस्था हुन्छ। सांसद आफैंले पनि विषयवस्तुबारे राम्रो ज्ञान राख्नुपर्छ,’ रानाभाटले भने। अघिल्लो संसदमा हाजिर लगाएर संसद ‘बंक’ गरेको भन्दै सांसदहरुको आलोचना हुने गरेको थियो।

संसद बैठकमै निदाएका तस्विरका कारण पनि सांसदहरु आलोचित हुनपुगे। रानाभाट पनि बैठकमा सहभागी नै नहुने र जनताको विषयमा कार्यकाल भरी नबोल्ने सांसदहरु पनि संसदीय राजनीतिमा देखिएको बताउछन्। ‘संसद बैठकमै नजाने। कहिले बोल्दा पनि नबोल्ने सांसद पनि नदेखिएका होइनन्,’ रानाभाटले भने।

तयारी नगरेर संसदमा जाने र विषयवस्तुबारे ज्ञान नराखेको भन्दै सांसदहरुको आलोचना भइरहँदा नेपाली कांग्रेसका नेता गगन थापा, राष्ट्रिय सभाका पूर्वसदस्य रामनारायण बिडारी लगायतले तयारी गरेर संसद्मा प्रस्तुत भएको भन्दै प्रशंसा पनि हुने गरेको थियो।

संसद् सचिवालयले दिने छ प्रशिक्षण

संसद्को अधिवेशन आह्वान भइनसकेको र निर्वाचनको परिणाम आइसकेको यो बिचको अवधि सांसदहरुका लागि ‘कुलिङ पिरियड’ पनि हो। सभामुख/उपसभामुख, राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनमा सांसद मतदाता रहनेछन्। पार्टीमा संसदीय दलको नेता चयनदेखि प्रधानमन्त्री चयनमा समेत सांसदहरुले अधिवेशन आह्वानपछि भूमिका निर्वाह गर्नुपर्ने छ। सरकार निर्माण गर्ने, कानुन बनाउने, संसदीय अनुगमन गर्ने,बजेट पारित गर्ने र संसदीय सुनुवाइ गर्ने मुख्य जिम्मेवारी हो प्रतिनिधि सभाको।

निर्वाचन आयोगले बिहीबार संसद् सचिवालयलाई निर्वाचनको परिणाम सहितको पत्र पठाएको थियो। संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेल सांसदको शपथको तयारी भइरहेको बताए। संसदको बैठकमा सहभागी हुनुअघिनै सांसदहरुले आफू मध्येको जेष्ठ सदस्यमार्फत शपथ लिनुपर्ने छ। ‘सूचना प्रकाशन गरेर हामीले बोलाउँछौं। अब शपथको तयारी गर्छौँ। त्यसपछि ओरेन्टेसन प्रोग्राम हुन्छ,’ पाण्डेले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell