PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

उपभोक्तालाई मूल्यवृद्धिको भारी, आयल निगमको ध्यान नाफामा मात्रै



पहिलोपोस्ट

उपभोक्तालाई मूल्यवृद्धिको भारी, आयल निगमको ध्यान नाफामा मात्रै

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा तीन रुपैयाँ घटाएको छ। मूल्य घटेपछि अब पेट्रोल लिटरको १७८ र डिजल तथा मट्टितेलको मूल्य १७५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटेपनि निगमले मूल्य घटाएको थिएन। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८० डलरमा झरेको छ। अन्तर्राष्ट्रिय बजार अनुसार निगमले मूल्य घटाएको छैन।

इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई १९ अर्बको बक्यौता रहेको भन्दै ठूलो मुनाफा राखेर पेट्रोलियम पदार्थ निगमले बेचिरहेको छ। आइओसीले डिसेम्बर १५ मा पठाएको मूल्य अनुसार निगमलाई मासिक नाफा २ अर्ब रुपैयाँ भन्दा माथि छ।

निगमलाई डिजल एक लिटरमा १७ रुपैयाँ र पेट्रोल एक लिटरमा १० रुपैयाँ नाफा छ। निगमले ठूलो नाफा राखेर पेट्रोलियम पदार्थ बेचिरहेको छ।

निगमका एक अधिकारीका अनुसार सरकारी कम्पनीले मूल्य माथि जाँदा धेरै नबढाएर उपभोक्तालाई भार पार्ने गरेको छैन।

‘विगतमा अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य बढाइएको थिएन। अहिले पनि आइओसीलाई तिर्नुपर्ने र तेल ल्याउन लिएको ऋणकै लागि धेरै मूल्य कटौती गर्न नसकिएको हो’, ती अधिकारीले भने, ‘हामीले नाफा कमाउँदा त्यो पैसा राज्यकै ढुकुटीमा जाने हो।’

तर, उपभोक्तावादी संगठनका प्रतिनिधि भने निगमले उपभोक्तालाई मूल्यवृद्धिको भारी बोकाएर अकुत नाफा खोजेको आरोप लगाउँछन्।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा लगातार बढाएर उपभोक्तालाई मूल्यवृद्धिको भारी बोकाउने र अहिले घटेको बेलामा भने लिटरमै १७ रुपैयाँ नाफा राख्नु अन्याय हो’, एक उपभोक्तावादी संस्थाका अध्यक्षले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell