PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

इतिहास रच्न तम्तयार अर्जेन्टिना र फ्रान्स : मेस्सीले जित्लान् कि एम्बाप्पेले रक्षा गर्लान् उपाधि?



पहिलोपोस्ट

इतिहास रच्न तम्तयार अर्जेन्टिना र फ्रान्स : मेस्सीले जित्लान् कि एम्बाप्पेले रक्षा गर्लान् उपाधि?
Photo: thesun.co.uk

फिफा विश्वकप २०२२ अन्तर्गत आज फाइनल खेल हुँदैछ। कतारको दोहास्थित लुसइल स्टेडियममा बेलुकी पौने ९ बजे उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्नेछन्।

लियोनल मेस्सीले पहिलो उपाधि जित्लान् या किलियन एम्बाप्पेले उपाधि दोहर्‍याउलान्? आजको खेलले निर्धारण गर्नेछ। ७ पटकको ब्यालोन डि'ओर जितेका अर्जेन्टिनी कप्तान मेस्सीले हालसम्म विश्वकपको उपाधि उचाल्न सकेका छैनन्।

‘मानिसहरु भन्छन्, फ्रान्स उपाधिका लागि दाबेदार छ। तर, हामीसँग सर्वकालीन महान खेलाडी हुनुको फाइदा छ’, अर्जेन्टिनी गोलकिपर इमिलिआनो मार्टिनेजले भनेका छन्, ‘हामी विपक्षीलाई दाबेदार भनेको सुन्न मनपराउँछौ किनभने हामी आफूलाई कोहीभन्दा उच्च या निम्न महसुस गर्दैनौँ। तर, म सधैं भन्छु हामीसँग सर्वकालीन उत्कृष्ट खेलाडी छन्। र, राम्रो डिफेन्सको साथ छ। हामीलाई लक्ष्यमा पुग्न धेरै अवसरहरू छन्।’

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले आफ्नो देशलाई १९९८ मा विश्वकप जिताउन कप्तानी गरेका थिए। त्यसपछि प्रशिक्षकको रूपमा पनि चार वर्षअघि रसियामा विश्वकप उपाधि दिलाउँदै अर्को सफलता दिलाएका थिए।

‘म अर्जेन्टिनालाई राम्ररी जान्दछु। संसारभरका धेरै मानिसहरु र सायद केही फ्रेन्च मानिसहरु पनि मेस्सीले विश्वकप उचालेको हेर्न चाहन्छन्। तर, हामी हाम्रो उद्देश्य पूरा गर्न हामीले सक्ने सबैथोक गर्न तयार छौँ,’ उनले भनेका छन्।

फाइनलमा प्रतियोगिताका शीर्ष दुई गोलकर्ताहरू मेस्सी र किलियन एम्बाप्पे गोल्डेन बुट जित्ने दौडमा अगाडि छन्। मेस्सी र एम्बाप्पे दुवैले कतारमा पाँच गोल गरेका छन् भने फ्रान्सका ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेज चार गोल गर्दै पछिपछि छन्।

अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले भने आजको खेल मेस्सी र एम्बाप्पे भन्दामाथि रहेको बताए।

‘यो खेल मेस्सी र एम्बाप्पे भन्दा धेरै फ्रान्सविरुद्ध अर्जेन्टिनाको हो’, उनले भने, ‘मलाई लाग्छ कि दुवै टोलीसँग उनीहरूलाई आवश्यक 'हतियार'हरू छन् र यी दुई बाहेक पनि खेल अन्य खेलाडीहरूले निर्णय गर्न सक्छन्। लियोले राम्रो गरिरहेका छन्। आशा गरौँ खेल हाम्रो बाटोमा जान्छ। तर, यो अर्जेन्टिना र फ्रान्सबिचको खेल हो जहाँ धेरै खेलाडीहरू छन् र जो पनि निर्णायक भूमिकामा हुन सक्छन्।’

सन् २०१४ को ब्राजिल विश्वकपमा मेस्सीले आफ्नो टोलीलाई फाइनल पुर्‍याउन त सफल भएका थिए तर अन्तिम खेलमा जर्मनीसँग १-० गोलअन्तरले पराजित हुँदा उपाधिबाट विमुख भएका थिए। र, २०२२ मा फेरि आफ्नो टोलीलाई फाइनलसम्म डोहोर्‍याउन सफल भए। यसपाला मेस्सीको प्रतिद्वन्द्वी फरक छ : अघिल्लो संस्करणमा क्रोएसियालाई हराउँदै च्याम्पियन बनेको फ्रान्स। अर्कोतर्फ २३ वर्षे एम्बाप्पे लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा छन्।

फिफा विश्वकपमा यी दुई टोली यसअघि तीन पटक भिडेका छन्। सन् १९३० र १९७८ मा समूह चरणका खेलमा अर्जेन्टिनाले जित निकालेको थियो भने अघिल्लो संस्करणमा फ्रान्सले ४-३ गोलअन्तरले हराउँदा अर्जेन्टिना समूह चरणबाटै बाहिरिएको थियो।

अर्जेन्टिनाको यो छैटौ विश्वकप फाइनल हो। यसअघि सन् १९७८ र १९८६ मा अर्जेन्टिना विजेता भएको थियो भने १९३०, १९९० र २०१४ को विश्वकप फाइनलमा पराजित भएको थियो। अर्जेन्टिना जर्मनीपछि सबैभन्दा धेरै पटक विश्वकप फाइनल पुग्ने टोली हो। जर्मनीले ८ पटक विश्वकप फाइनल खेलेको छ। सन् १९९८ यता फ्रान्सले ४ पटक विश्वकप फाइनल खेलेको छ।

फ्रान्सको फाइनल यात्रा

साविक विजेता फ्रान्सको पनि जारी विश्वकपमा प्रदर्शन सानदार छ। समूह ‘डी’मा अस्ट्रेलिया, डेनमार्क र ट्युनिसियालाई पछि पार्दै समूह विजेता बनेको थियो। समूहको अन्तिम खेलमा भने ट्युनिसियासँग पराजित भएको थियो।

नकआउट चरणमा पोल्याण्डमाथि ३-१ गोलको सहज जित निकालेको फ्रान्सले क्वाटरफाइनलमा बलियो इङ्ग्ल्याण्डलाई २-१ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो। सेमिफाइनलमा ‘जायन्ट किलर’को छवि बनाएको मोरोक्कोलाई हराउँदै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।

अर्जेन्टिनाको फाइनल

आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासित हार ब्यहोरेको अर्जेन्टिनाले समूह चरणमा पोल्याण्ड, मेक्सिको र साउदी अरेबियालाई पछि पार्दै समूह ‘सी’को विजेता बनेको थियो। अन्तिम १६ मा अस्ट्रेलियालाई २-१ गोलअन्तरले हराएको अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो।

त्यस्तै, सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell