
पोखरा : डरलाग्दो भीरमा मान्छे झुन्डिइरहेको, छेउमै मौरीको घार। दृश्य थियो अन्नपूर्ण कास्की ७ कोटेसाङ महभीरको। दृश्य कास्कीको भए पनि यसलाई कोसौँ टाढा बसेर हेर्दै थिए केल्भिन केटले। मोबाइलमा हेरेको डकुमेन्ट्रीले केल्भिन अचम्ममा परे। त्यस्तो भीरमा मान्छे बिना कुनै सुरक्षा सजिलै कसरी जानसक्छ? केल्भिनको मनमा आफ्नै नजरले हेर्ने इच्छा पलायो। उनले त्यो भिडियो आफ्ना साथीलाई पनि पठाए। साथी पनि केल्भिन जस्तै अचम्ममा परे। दुवैको उत्सुकताले नेपालको यात्रा तय गर्यो।
पहिलोपटक कुनै देश भ्रमणमा निस्केका केल्भिन सुरक्षाको हिसाबले सर्तकता अपनाउन चाहन्थे। त्यसैले आफ्नै देशबाट ट्राभल एजेन्सीसँग सम्पर्क राखे। अनि, तय गरे दक्षिण अफ्रिकादेखि नेपालको यात्रा। सन् २०२१ मा देखेको भिडियोको दृश्य पछ्याउँदै १० डिसेम्बरमा नेपाल टेके केल्भिन र उनका साथीले। त्यसको तीन दिनपछि लान्द्रुक आइपुगे जहाँ ‘हनी हन्टिङ’महोत्सव हुँदै थियो।
लान्द्रुकमा दुई सिजन महको सिकार हुन्छ। पहिलो जेठमा र दोस्रो कात्तिकमा। पर्यटक तान्नको लागि लान्द्रुकले गतवर्षदेखि ‘हनी हन्टिङ’लाई महोत्सवको रुपमा निरन्तरता दिएको छ। महको सिकार हेर्नकै लागि भनेर लान्द्रुकको यात्रा तय गरेका थिए दुवैले। त्यसैले पनि उनीहरुको आगमनमा स्थानीय उत्सुक थिए।
२७ र २८ गते दुई दिन चलेको महोत्सवमा सुरुवातमा साँस्कृतिक कार्यक्रम भयो। जहाँ स्वागत र सम्मान पाए उनीहरुले। कार्यक्रममा ओडेको दोसल्ला, माला र सम्मानपत्रसँगै स्थानीयले देखाएको आत्मियताले प्रफुल्ल बने। त्यसपछि महको सिकार गरेको हेर्न आधा घण्टा तल मोदी खोलाको तीरमा ओर्लिए सबै। सँगै केल्भिन र उनका साथीपनि थिए।
भीरमा मह सिकार गर्न जानु अघि स्थानीयले पूजा गर्छन्। भीरमा पुग्न काठ र चोयाको पर्याङ बनाउँछन्। यी सबैको दृश्य मज्जाले हेर्दै थिए केल्भिन। तल सुसाइँ रहेको मोदी खोला र जंगल नजिकै देखिएको अन्नपूर्ण र हिमचुलीले उनीहरु थप रोमान्चित थिए। जुन प्रष्ट देखिन्थ्यो दुवैको अनुहारमा।
केल्भिन र उनको साथीलाई काठमाडौंमा रहेको एक ट्राभल एजेन्सीका पथ प्रदर्शकले लान्द्रुक ल्याएका थिए। महोत्सवको दोस्रो दिन पनि उसैगरि महको सिकार हेर्न आधा घण्टा ओरालो ओर्लिए।
यो दिन थप रोमान्चित बने उनीहरु। गाउँलेले आयोजना गरेको वनभोजले उनीहरु हर्षित थिए। छेउमै पर्याङ बनाउँदै गरेको दृश्यले केल्भिनलाई थप उत्सुक बनायो।
‘केही समय अगाडि सायद २०२१ मा मैले हनी हन्टिङको डकुमेन्ट्री हेरेको थिएँ। त्यसपछि मैले साथीलाई त्यो भिडियो पठाएँ जाउँ भन्दै। मैले यहीँ स्थानको भिडियो देखेको थिएँ। साथीको ट्राभल एजेन्टसँग कनेक्सन थियो। त्यसपछि उनीहरुले हामीलाई दावासँग सम्पर्क गराए। उसलाई यहाँको ठाउँबारे सबै थाहा छ। उ यहाँ पाँच पटक भन्दा बढी आइसकेको छ। उसले यहाँको मान्छेहरुसँग सम्पर्क गर्यो,’ केल्भिनले सुनाए।
डकुमेन्ट्री हेरेर लान्द्रुकको यात्रा तय गरेका केल्भिन यहाँको हरेक दृश्यबाट अचम्मित र हर्षित देखिन्थे।
उनले हाँस्दै भने, ‘मलाई एकदम मनपर्यो। अचम्म लाग्यो। आफ्नै आँखाले हेर्दा अचम्म परे। यहाँको कल्चरले झन अचम्ममा पारिरहेको छ मलाई। युनिक छ। अब, काठमाडौं गएर पनि १ सय वर्ष भन्दा पुरानो सम्पदा हेर्न थप रोमान्चित छु।’
यसपटकको हनी हन्टिङ गरिरहेको मज्जा लिन आएका केल्भिन अर्कोपटक आफैँ हनी हन्टिङको लागि आउने तयारीमा छन्। डरलाग्दो भीडमा भीरौटे चढेको देख्दा उनलाई पनि त्यो अनुभव लिन मन लागेको छ। जसको लागि तयारी गर्न चाहन्छन् उनी।
उनीसँगै आइपुगेका उनका साथी पनि हनी हन्टिङको अनुभव स्वयं लिन चाहन्छन्। उनका साथीलाई यहाँको संस्कृतिले थप लोभ्याएको छ।
‘उसले पठाएको भिडियो हेर्ने बित्तिकै एकदम युनिक फिल भयो। यसलाई आफ्नै आँखाले हेर्नुपर्छ भन्ने लाग्यो। यहाँको संस्कृति र परम्परा पनि बुझ्न र हेर्न मन भयो। नेपालको एसेन्ट मनपर्यो। एकदम नै राम्रो महसुस भइरहेको छ यहाँको हावापानी वातावरण र मान्छेहरुको आत्मियताले। यहाँको मान्छेले हरेकदिन उठ्दा हिमाल देख्न पाउँछ हामी उठेर हिमाल देख्दा वाह महसुस भयो,’ उनले हाँस्दै भने।
अन्नपूर्ण पदमार्गमा पर्छ लान्द्रुक गाउँ। बिचमा मोदी खोला पारि घान्द्रुक गाउँ र वारी लान्द्रुक। अन्नपूर्ण आधार शिविर पुगेका केही पर्यटक लान्द्रुकको बाटो हुँदै यात्रा टुंग्याउँछन्। केही पर्यटक लान्द्रुकको बाटो हुँदै मर्दी आधार शिविरको यात्रा तय गर्छन्।
अन्नपूर्ण आधार शिविर पुगेर फर्किएकी इटलीकी ग्लोरियाले हनी हन्टिङ हेर्न गाउँमा एकदिन आफ्नो बसाइँ लम्ब्याइन्। आधार शिविर पुगेर पोखरा झर्ने उनको सोच थियो। गाउँमा पुगेपछि महोत्सवबारे थाहा पाइन्। भीरमा मह सिकार गरेको हेरिरहेकी उनले आफूलाई डर र उत्सुकताले छोएको प्रतिक्रिया दिइन्। जसलाई हेर्न समय लिएर एकपटक फेरि फर्किने उनको इच्छा छ।
‘अचम्म परेको छु। कोही हनीको लागि त्यो भीरमा कसरी झुन्डिन सक्छ? मलाई पनि डर लागेको छ उसलाई देखेर। आशा छ म अर्कोपटक आउने छु,’ ग्लोरियाले भनिन्।
लान्द्रुकमा भेटिन् स्पेनकी रेचलले ग्लोरियालाई। ग्लोरियासँगको भेटपछि उनले हनी हन्टिङबारे थाहा पाइन्। सुन्दा उनलाई पनि अचम्म लागेको महोत्सव हेर्न पोखरा घुम्ने एकदिनको समय काट्दै लान्द्रुकमा बसिन्।
‘सर्प्राइज भएँ म यो देखेर, हनीको लागि कोही त्यसरी भीरमा चढेर जानसक्छ? यहाँ आएपछि इटलीकी साथी भेट्यौँ। कुरा सुनेपछि उत्सुक भएँ। हामीसँग केही समय थियो अनि यता आयौँ,’ रेचलले भनिन्।