PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

गोलकिपर विशालको विश्लेषण : अनुमान नगरेका नतिजा आए, फाइनल पेनाल्टीमा पुग्यो भने अर्जेन्टिना जित्ला!



मुकुन्द घिमिरे

गोलकिपर विशालको विश्लेषण : अनुमान नगरेका नतिजा आए, फाइनल पेनाल्टीमा पुग्यो भने अर्जेन्टिना जित्ला!

काठमाडौं : फिफा विश्वकपमा आज बेलुका फाइनल खेल हुँदैछ। अर्जेन्टिना र फ्रान्सबिच हुने आजको खेलमा को विजेता बन्ला भन्ने चासो विश्वभरका फुटबल समर्थकलाई छ।

नेपालमा पनि विश्वकप उत्तिकै लागेको छ। सामाजिक सञ्जालदेखि चियापसलसम्म विश्वकपको चर्चा चलिरहेको छ। रेष्टुराँ र क्याफेदेखि शहरका विभिन्न चोकहरुमा स्कृन राखेरै विश्वकप देखाइँदैछ। विश्वकप फाइल पनि विभिन्न स्थानमा प्रत्यक्ष देखाउने तयारी अहिले चलिरहेको छ।

नेपाली राष्ट्रिय फुटबल टोली र मछिन्द्र क्लबका गोलकिपर विशाल श्रेष्ठलाई पनि यसपाला विश्वकपले उत्तिकै छोपेको छ। उसो त उनले समर्थन गरेको टोली विश्वकपबाट बाहिरिसक्यो। विशालले सानैबाट समर्थन गरेको टोली हो ब्राजिल। तर, ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग पराजित हुँदै बाहिरिसकेको छ। यस्तोमा आइतवार राति हुने फाइनल खेलमा उनलाई लागेको छ : अर्जेन्टिनाले जितोस्।

'समर्थन ब्राजिललाई गरेको थिएँ, ब्राजिललाई जहिले पनि। ब्राजिल हारिहाल्यो। अब अर्जेन्टिना जितोस भन्ने छ,' उनले भने।

अघिल्ला विश्वकपहरुको तुलनामा यसपालाको विश्वकप फरक रहेको उनले महसुस गरेका छन्। खासगरि टोलीको तथ्याङ्क हेरेर गरिने अनुमानहरु यसपाला फेल खाए। बलिया मानिएका टोलीहरुले 'अण्डरडग' मानिएका टोलीसँग पराजित हुँदा नतिजा फेरिए। त्यसैले त सायदै धेरै नसोचेको मोरोक्कोले विश्वकपमा सेमिफाइनलको यात्रा तय गर्‍यो।

'पहिलापहिला स्टाट हेरेर पेपर हेरेर जुन अन्दाज गरिन्थ्यो, त्यो टिमले जित्ला, यो टिमले जित्ला भन्ने हुन्थ्यो। यसपाला फरकफरक नतिजा आइरहेको छ,' श्रेष्ठ भन्छन्, 'ठूला टीमहरुले नसोचेको हिसाबले हारिरहेको छ। साउदीसँग अर्जेन्टिना हार्‍यो। जापानले विश्वविजेताहरुलाई हरायो।'

मोरोक्कोका खेलाडीले कोच वालिद रेग्रागुइले भने हिसाबले खेलेर राम्रो नतिजा ल्याउन सफल भएको छ। विश्वकप छनोटमा नेपाल लगायत देशलाई हराएको अस्ट्रेलियाले नकआउट चरण पार गर्‍यो। नकआउट चरणमा पनि अर्जेन्टिनासँग राम्रो प्रदर्शन देखायो। त्यसबाहेक अरु एसियाली टोलीले पनि अप्रत्यासित नतिजाहरु ल्याए। यसलाई श्रेष्ठ युरोपेली लिगमा खेल्ने एसियाली खेलाडीको बढ्दो संख्यासँग जोडेर हेर्छन्।

'एसिया रिजनमा हामीसँगै खेलेको अस्ट्रेलियाले राम्रो खेल्यो। दोस्रो चरणमा पुग्यो। यसपाला एसियन टोली सबैको प्रदर्शन राम्रो भएको थियो। कतारले पहिलो पटक विश्वकप खेले पनि राम्रै खेल्यो। साउदीको त कुरै नगरे भइहाल्यो। जापान चाहिँ त्यो भन्दा अघिल्लो राउण्डमा जान्छ भन्ने सोचेको थिएँ खास। तर, दुर्भाग्यवस त्यहीँ रोकियो,' श्रेष्ठले भने, 'यसपाला विदेशी लिग खेल्ने खेलाडी धेरै हुँदा केही खेल्ने शैली फेरियो कि। पहिला दुईचारजना खेलाडीमात्र जाने गर्दथे। अहिले धेरै खेलाडी बाहिर हुँदा त्यसको प्रभाव परेको हुनसक्छ।'

विश्वकपको फाइनलमा पुगेको फ्रान्सले विश्वकप अघि महत्वपूर्ण खेलाडीहरु गुमाएको थियो। सबैको जस्तै श्रेष्ठको पनि आँकलन थियो : मुख्य खेलाडी नहुँदा फ्रान्सको प्रदर्शनमा प्रभाव पर्ला कि?

तर, फ्रान्स 'ब्याक टू ब्याक' विश्वकप फाइनलमा पुगेको छ।

'पोग्बा, कान्टेहरु नहुँदा फ्रान्सको टिम कमजोर हुन्छ भन्ने सोचेको थिएँ। तर विश्वकप खेल्ने सबै खेलाडी राम्रो हुन्छन्,' उनी भन्छन्, 'अझ ग्रिजमन, एम्बाप्पे र जिरुडले गर्दा टिम धेरै बलियो छ। डिफेन्समा पनि भरानेजस्ता खेलाडीहरु छन्। सबै मिलेको टिम छ।'

अर्जेन्टिनाको सन्दर्भमा भने उनी भावनात्मक खेल भएको मान्छन्। हुन पनि मेस्सीलाई ट्रफी दिलाउन उनका सहपाठी जुटेका छन्। सन् २०१४ को ब्राजिल विश्वकपमा मेस्सीले आफ्नो टोलीलाई फाइनल पुर्‍याउन त सफल भएका थिए तर अन्तिम खेलमा जर्मनीसँग १-० गोलअन्तरले पराजित हुँदा उपाधिबाट विमुख भएका थिए। र, २०२२ मा फेरि आफ्नो टोलीलाई फाइनलसम्म डोहोर्‍याउन सफल भए। यसपाला मेस्सीको प्रतिद्वन्द्वी फरक छ : अघिल्लो संस्करणमा क्रोएसियालाई हराउँदै च्याम्पियन बनेको फ्रान्स।

फिफा विश्वकपमा यी दुई टोली यसअघि तीन पटक भिडेका छन्। सन् १९३० र १९७८ मा समूह चरणका खेलमा अर्जेन्टिनाले जित निकालेको थियो भने अघिल्लो संस्करणमा फ्रान्सले ४-३ गोलअन्तरले हराउँदा अर्जेन्टिना समूह चरणबाटै बाहिरिएको थियो।

'खेलाडीले देशका लागि खेल्ने हो। तर, उनीहरुसँग मेस्सीका लागि जित्छौँ भन्ने एकखालको भावना छ। देशका लागि त आफ्नो ठाउँमा छँदैछ,' श्रेष्ठ भन्छन्, 'कोपा अमेरिकामा पनि उनीहरुको यो एटिच्युड देखिएको थियो। उनीहरुको मेहेनत र टिमवर्क यही हिसाबले देखिइरहेको छ।'

जारी विश्वकपमा अर्को सानदार पक्ष हो गोलकिपरको प्रदर्शन। अधिकांश पेनाल्टी सुटआउट देखि खेलमा गोलकिपरको भूमिका अझ महत्वपूर्ण देखिएको छ विश्वकपमा।

'गोलकिपरले यो विश्वकपमा नै निर्णायक बन्दै आएका छन्। म्यान अफ दी म्याच हुने पनि धेरै गोलकिपर छ। राम्रो गरिरहेको छ,' उनी भन्छन्।

फाइनलको सन्दर्भमा श्रेष्ठ चाहन्छन् मेस्सीले उपाधि जितुन्। तर, फ्रान्स त्यतिकै राम्रो टोली छ। खेल पेनाल्टीमा पुगेको सन्दर्भमा भने अर्जेन्टिनाले जित्ने उनको आँकलन छ।

'फाइनलमा मार्टिनेज भएको हिसाबले अर्जेन्टिनाले जित्छ होला। लोरिस पनि राम्रो छ, तर समग्रमा मार्टिनेजले नै राम्रो गरिरहेको छ भन्ने लाग्छ,' उनले भने, ' यसअघिका खेलहरुमा गोलकिपरको कुरा गर्दा क्रोएसिया र मोरोक्कोका बुनोले राम्रो गरिरहेका थिए।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell