इरानकी चर्चित अभिनेत्री तारानेह अलिडुस्टीलाई पक्राउ गरिएको छ। इरानमा जारी सरकारविरुद्ध प्रदर्शनमा समर्थन जनाएपछि प्रहरीले उनलाई पक्राउ गरेको बिबिसिले उल्लेख गरेको छ।
स्थानीय मिडियाका अनुसार तारानेहले प्रदर्शनबारे झुट फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
गत साता तारानेहले इन्स्टाग्राममार्फत प्रदर्शनमा सहभागी भएका एक व्यक्तिको झुण्डाएर हत्या गरिएको विरोधबारे लेखेकी थिइन्।
अस्कर अवार्ड जितेको फिल्म 'सेल्सम्यान' मा ३८ वर्षीया अलिडोस्टीले निर्वाह गरेको भूमिकाको सर्वत्र प्रशसां हुने गर्छ। ८० लाख फलोवर्स रहेको उनको इनस्टाग्राम अहिले 'एक्टिभ' छैन।
इरानमा हिजाब क्रान्ति सुरु भएदेखि नै उनी सरकारविरुद्ध आवाज उठाउँदै आएकी थिइन्। कुर्दिश-इरानी महिला महसा अमिनीको मृत्युपछि आन्दोलन सुरु भएको थियो। गलत तरिकाले टाउकोमा स्कार्फ लगाएको भन्दै अमिनीलाई प्रहरीले कुटपिट गरेपछि उनको मृत्यु भएको थियो। उनको मृत्युपछि धेरै वर्षपछि इरानमा सबैभन्दा ठूलो नागरिक विद्रोहमा भइरहेको छ। महिलाहरुले हिजाब जलाएर प्रदर्शनसमेत गरेका छन्।
प्रशासनले आन्दोलनकारीहरुमाथि बल प्रयोग गर्ने गरेको छ भने प्रदर्शनकारीहरूलाई गोली हान्ने तथा कुटपिट गर्ने गरेको छ। मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले यस प्रदर्शनमा कम्तीमा ४० बालबालिकासहित ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ।