काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत निर्वाचनमा निराशाजनक परिणामका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा अद्यापि टड्कारो रुपमा रहेको बताएका छन्। काठमाडौं जिल्लाद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर पनि देशको बिकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ तथा त्यही नै राष्ट्रनिर्माणको उपयुक्त बाटो हो भन्ने राप्रपा नेपालको मान्यताको सर्वकालिक महत्व रहेको समेत उनको दाबी थियो।
राप्रपा नेपाल केवल एउटा चुनावको लागि खडा भएको चुनाव परिचालन समिति नभएको उल्लेख गर्दै थापाले राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति भएको बताए। तसर्थ, चुनाव परिणाम प्रतिकुल रहेता पनि आगामी दिनमा राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी, प्रजातान्त्रिक र हिन्दुवादी शक्ति बनाउने अभियान अझ सशक्त ढंगबाट अघि बढाइनेसमेत विश्वास व्यक्त गरे।
विद्यमान राजनीतिक संरचनाभित्र रहेका त्रुटिहरुका कारण हालै सम्पन्न निर्वाचनबाट समेत देशले भोग्नु परेको संकटको समाधान हुन नसक्ने भन्दै उनले आगामी दिनमा राजनीतिक अस्थिरता र अराजकता अझै बढ्दै जाने र नवगठित प्रतिनिधि सभा दुई अढाई वर्षभित्र नै दुर्घटनामा पर्न सक्ने खतरा रहेको समेत आशंका व्यक्त गरे।
निर्वाचन अत्यन्त महंगो भएको तथा चुनावमा देखिएका विकृति र विसङ्गतिको कारण संसदीय व्यवस्था प्रति नै वितृष्णा बढेको चर्चा गर्दै थापाले देशमा धर्मपरिवर्तनको डढेलो डरलाग्दो रुपमा बढिरहेको अवस्थामा यसपटकको निर्वाचन परिणामबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षाको पक्षमा आवाज कमजोर हुँदै जानु चिन्ताको विषय भएको समेत उल्लेख गरे।
संसदमा प्रतिनिधित्व नभएको कारण अब राप्रपा नेपालले हिन्दुराष्ट्र पुनस्थापना र भ्रष्टाचार लगायतका आफ्नो एजेण्डाहरु स्थापित गर्न सडकमा क्रियाशील हुनु आवश्यक भएको र आगामी चैत वैशाखमा राप्रपा नेपालले देशव्यापी सडक संघर्षको कार्यक्रमसमेत संचालन गर्नु आवश्यक भएकोले सोही बमोजिम तयार रहन समेत कार्यकर्ताहरुलाई निर्देशन दिए।