PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संवैधानिक इजलासमा संसदका महासचिवको जवाफ : प्रतिनिधि सभाको कार्यकाल सकिएपछि महाभियोग निष्क्रिय हुन्छ



पहिलोपोस्ट

संवैधानिक इजलासमा संसदका महासचिवको जवाफ : प्रतिनिधि सभाको कार्यकाल सकिएपछि महाभियोग निष्क्रिय हुन्छ

काठमाडौं : संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रतिनिधिसभाको कार्याकाल समाप्त भएको हुनाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी हुने बताएका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पेस गर्दै गौतमले नयाँ प्रतिनिधिसभा सदस्यहरु निर्वाचित भइसकेकाले महाअभियोग प्रक्रिया पनि निष्क्रिय हुने बताएका हुन्।

'नेपालको संविधानको धारा ११ को उपधारा १० को प्रतिबन्धात्मक वाक्यांशमा रहेको तर कुनै विधेयक प्रतिनिधिसभामा प्रस्तुत भइ विचाराधीन रहेको वा प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधिसभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ। भन्ने सैवंधानिक व्यवस्थालाई मध्यनजर गर्दा प्रतिनिधसभाको कार्यकाल समाप्त भईसकेको तथा निर्वाचनबाट नयाँ प्रतिनिधिसभाका सदस्यहरु निर्वाचित भै सक्नु भएको सन्दर्भमा महाअभियोग सिफारिस समितिको प्रतिवेदन उपरको कारवाहीको निरन्तरता कायम देखिँदैन, ' गौतमले भनेका छन्।

उनले प्रतिनिधिसभा नियमावलीमा समेत प्रस्ताव निष्क्रिय हुने व्यवस्था रहेको बताएका छन्। उनले नेपालको संसदीय अभ्यास एवम् परम्परामा हालसम्म एउटा प्रतिनिधिसभाको कार्यकालमा दर्ता भएको विधेयक एवम् कुनै पनि प्रस्ताव अर्को प्रतिनिधिसभामा सरेको दृष्टान्त नरहेको समेत बताएका छन्।

'अत: प्रतिनिधिसभाले ग्रहण गर्ने संवैधानिक मान्यता तथा परम्परा रहेको भनी रिट निवेदनमा लेखेको विषय आफैमा तथ्यविहीन रहेको हुँदा महासचिवको कार्य प्रथम दृष्टिमा नै असंवैधानिक रहेकोले बदरभागी रहेको छ भन्ने रिट निवेदजको व्यहोरा कुनै पनि दृष्टिकोणबाट मनासिब देखिँदखैन, रिट निवेदन खारेज गरि पाउँ,' उनले लेखेका छन्।

जबराले मंसिर २० गते नियमित कार्यसम्पादन गर्न पाउँ भनी संघीय संसद सचिवालयमा निवदेन दिएका थिए। यही मंसिर २७ गते अनिवार्य अवकास पाउन लागेका जबराले निवेदन दिएपछि मंसिर २१ गते संघीय संसद सचिवालयले जबरामाथि लागेको महाअभियोग निष्प्रभावी भएको निर्णय गरेको थियो। सचिवालयका महासचिव भरतराज गौतमले जबरामाथि लागेको महाअभियोग निष्प्रभावी हुने भन्दै सर्वोच्च अदालतमा पत्र पठाएका थिए।

संघीय संसदको पत्र पाएपछि सर्वोच्चको फूलकोर्ट बसेको थियो। बैठकले महासचिव गौतमले पठाएको पत्रको वैधानिकतामाथि नै प्रश्न उठाएको थियो।

'महाअभियोग प्रस्ताव तत्कालिन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो? वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो? अथावा महाअभियोग लागेका सम्मानिय प्रधानन्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो?'फूलकोर्टले महासचिवलाई सोधेको थियो, 'नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो?'

सर्वोच्चको फूलकोर्टले सोधेका यिनै प्रश्नहरुको उत्तर गौतमले संवैधानिक इजालसमा दिने बताउँदै सर्वोच्च अदालतमा लिखित जवाफ पठाएका थिए।

प्रतिनिधिसभा नरहेको र नयाँ संसद बैठक आह्वान हुने समय नजिकिँदै जाँदा गौतमले पत्र पठाएको आधारमा महाअभियोग निष्प्रभावी नहुने कानुनविदहरुको तर्क छ। पत्र कार्यान्वयनको माग गर्दै सर्वोच्चमा रिटसमेत दायर भएको थियो। गत शुक्रवार सो रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले सो पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो। इजलासमा कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको थिए। इजलासले महासचिवको पत्रबारे गम्भीर प्रश्न खडा भएको भन्दै पत्र कार्यान्वयन गर्न तत्काल मनासिब नदेखिएको भनेको थियो।

'महासचिवले आफुमा नरहेको अधिकारको प्रयोग गरी पत्राचार गरेको भन्ने पनि प्रश्न उठाइएको देखिन्छ। संविधानद्वारा प्रतिनिधसभालाई प्रदान गरिएको अधिकार महासचिवले प्रयोग गरेको सम्बन्धी गम्भीर र महत्वपूर्ण प्रश्न खडा भएको सन्दर्भमा महासचिवले लेखेको पत्रको तत्काल कार्यान्वयन हुनु सुविधान सन्तुलनको दृष्टिले मनासिब देखिएन,' सर्वोच्चले आदेशमा भनेको थियो।

संवैधानिक इजलासले ७ दिन भित्र गौतमलाई जवाफ पेस गर्न भनेको थियो। त्यसैले गौतमले आज संवैधानिक इजलासमा महाअभियोग निष्प्रभावी हुने आफ्नो फैसलाको बचाउ गर्दै जवाफ पठाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell