PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कांग्रेस संसदीय दलको नेता छान्न भीष्मराजको नेतृत्वमा निर्वाचन समिति, मंगलवार निर्वाचनको तयारी



पहिलोपोस्ट

कांग्रेस संसदीय दलको नेता छान्न भीष्मराजको नेतृत्वमा निर्वाचन समिति, मंगलवार निर्वाचनको तयारी

काठमाडौं : नेपाली कांग्रेसले आफ्नो संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। आइतवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो।

समितिको सदस्यहरुमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही रहेका छन्। संसदीय दलको निर्वाचन समितिले तोक्ने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

‘संसदीय दलको नेता चयन प्रक्रियाअघि बढाउन ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य हुनुहुन्छ,’ प्रवक्ता महतले भने, ‘मिति यही समितिले तोक्नेछ।‘

कांग्रेस संसदीय दलको नेता छान्न मंगलवार निर्वाचन गर्ने तयारी कांग्रेसले गरेको छ।

कांग्रेस प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई सर्वसम्मत दलको नेता बनाउने प्रयासमा रहेको र नभएर निर्वाचन हुने प्रवक्ता महतले बताए। अहिले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी रहेका डा शेखर कोइराला र महामन्त्री गगन थापाबिच संसदीय दलको नेतामा प्रतिस्पर्धा हुने चर्चा छ। यद्यपि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वसम्मत आफूलाई संसदीय दलको नेता बनाउन देउवासँग आग्रह गरेका छन्। पूर्व महामन्त्री डा शशांक कोइरालाले सर्वसम्मत भएमा आफू संसदीय दलको नेता बन्ने आकंक्षा व्यक्त गरेका छन्।

तर देउवाले यसबारे केही बोलेका छैनन् – बरु आफै छैटौंपटक प्रधानमन्त्री बन्ने दाउमा छन् देउवा। यसका लागि संसदीय दलमा भिड्ने तयारीमा छन् उनी। आफूलाई महाधिवेशनमा सहयोग गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतलाई मनाइसकेका छन् भने अरु नेताहरुलाई पनि ‘वान अन वान’ भेटिरहेका छन्। निर्वाचित हुनेहरु र समानुपातिकबाट चुनिएका सांसदहरु देउवा पक्षबाट नै अधिकांश भएकाले यसपटक संसदीय दलको नेता बन्न उनलाई सजिलो हुने देखिन्छ।

यता महामन्त्री थापाले पनि संसदीय दलमा भिड्ने तयारी गरेका छन्। निर्वाचनअघि नै प्रधानमन्त्री बन्ने उद्घोषसहित अघि बढेका गगनको तयारीलाई शेखर पक्षले अहिले असन्तुष्टि जनाउन थालेका छन्। शेखर पक्षबाटै महामन्त्रीमा निर्वाचित गगनले गुटमा छलफल बिनै एकल तयारी थालेको उक्त गुटको आरोप छ। त्यसैले होला, अहिले शेखर आफै पनि संसदीय दलको नेतामा भिड्ने तयारीमा छन्।

बैठकले प्रदेश सभाको दलको नेताको निर्वाचन गर्न सातै प्रदेश कार्यसमितिलाई निर्देशन गर्ने निर्णयसमेत गरेको छ। त्यसैगरी बैठकले कांग्रेसको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनलगायत अरु दलसँग छलफल अघि बढाउने निर्णय गरेको प्रवक्ता महतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell