काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपतिबारे प्यकेजमै सहमति गर्नुपर्ने निचोड निकालेको छ।
पार्टी कार्यालय पेरिसडाँडाँमा आइतवार बसेको बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनबारे छलफल भएको थियो। सरकार गठन र राष्ट्रपति चयनको विषय गठबन्धनमा प्याकेजमै गर्नुपर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका सचिव हरिबोल गजुरेलले जानकारी दिए।
'राष्ट्रपति र प्रधानमन्त्रीबारे प्याकेजमै गर्ने भन्ने कुरा भयो,' उनले भने।
यस्तै नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि समाजवादी फोरम बनाउने विषयबारे पनि आज छलफल भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी फोरम बनाउनेबारेमा नेताहरुलाई प्रस्ताव गरेका थिए।
मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनअघि एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने भन्दै एकता संयोजन समिति बनाउने निर्णय भएको थियो।