PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रधानमन्त्रीमा कांग्रेसको दाबी, ओली र प्रचण्ड पनि नेतृत्व लिने कसरतमा



पहिलोपोस्ट

प्रधानमन्त्रीमा कांग्रेसको दाबी, ओली र प्रचण्ड पनि नेतृत्व लिने कसरतमा

काठमाडौं : नयाँ सरकारको नेतृत्वमा प्रधानमन्त्रीका लागि कांग्रेसले दाबी गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसले प्रधानमन्त्रीमा दाबी पेश गर्ने जनाएको हो।

कांग्रेस केन्द्रीय सम्पादन समितिको आइतवार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकारको दाबी गर्ने निर्णय गरेको हो। 'प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमध्ये प्रतिनिधि सभा सदस्य पदमा सर्वाधिक सिट हासिल गरेको दलका हैषियतले नेपाली कांग्रेस पार्टीले नेपालको संविधानको व्यवस्था बमोजिम सरकारको नेतृत्वको दावी गर्नु स्वभाविक हुन्छ,' कांग्रेसको कार्यसम्पादन समितिको निर्णयमा भनिएको छ। कांग्रेस अहिले ८९ सिटसहित पहिलो दल बनेको छ।

कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि राष्ट्रपतिले धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेकी हुन्। 'प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ / ९ / १० गते आइतवार ५ बजेभित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध छ,' राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ सरकारको नेतृत्वमा दाबीका लागि कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलसँगै अरु दलसँग छलफल थाल्ने भएको छ। 'नेपाली कांग्रेस पार्टीको नेतृत्वमा आगामी सरकारको गठन गर्नका लागि गठवन्धनमा रहेका दलहरु लगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने यो बैठक निर्णय गर्दछ,' आइतवारको कार्यसम्पादन समितिको निर्णयमा भनिएको छ।

सत्ता गठबन्धन दलमा अहिले कांग्रेससँग ८९, माओवादीसँग ३२, एकीकृत समाजवादीसँग १०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग ४ र जनमोर्चासँग १ गरी १३६ सिट रहेको छ। देउवा गठबन्धनलाई सीके राउतको पार्टी जनमत पार्टीले सहयोग गर्ने ‘ग्रिन सिग्नल’ दिएको छ। जनमतले सहयोग गरेमा गठबन्धनलाई बहुमत पुग्ने देखिन्छ।

ओली र प्रचण्ड पनि नेतृत्व हत्याउने कसरतमा

नयाँ सरकार गठनका लागि दोस्रो ठूलो दल एमालेले पनि कसरत जारी राखेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीको साथ लिएर एमाले अध्यक्ष केपी ओलीले नयाँ सरकारको नेतृत्व गर्ने कसरतमा लागेका हुन्। एमाले गठबन्धनलाई राप्रपा र जसपाको पनि साथ रहने देखिएको छ। अहिले एमालेसँग ७८, राप्रपासँग १४ र जसपासँग १२ रहेको छ। माओवादीसँगको ३२ सिट र एकीकृत समाजवादीसँगको १० सिट पनि जोडेमा एमाले गठबन्धनसँग १४८ सिट पुग्नेछ। जसले गर्दा ओलीलाई नेतृत्वमा दाबी गर्न सहज बहुमत पुग्नेछ।

यता माओवादी अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीमा दाबी गर्दै आएका छन्। यसका लागि शनिवार प्रचण्डले देउवासँग सत्ताको शक्ति बाँडफाँडबारे छलफल गरेका थिए। प्रधानमन्त्री नबनी शक्ति बाँडफाँडबारे देउवाले चासो नदेखाएपछि माओवादीले आइतवार बैठक डाकी यसबारे छलफल गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडाँमा आइतवार बसेको बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनबारे छलफल भएको थियो। सरकार गठन र राष्ट्रपति चयनको विषय गठबन्धनमा प्याकेजमै गर्नुपर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका सचिव हरिबोल गजुरेलले जानकारी दिए।

'राष्ट्रपति र प्रधानमन्त्रीबारे प्याकेजमै गर्ने भन्ने कुरा भयो,' उनले भने।

कांग्रेसभित्रै कतिपय नेताहरु संसदीय दलको नेता आफ्नो पक्षको नभए माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन लाग्ने देखिएको बताइन्छ। कांग्रेसमा सभापति देउवादेखि, डा शेखर कोइराला र महामन्त्री गगन थापाले संसदीय दलको नेतामा दाबी गरेका छन्। कांग्रेसले संसदीय दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ। कांग्रेसले मंगलवारसम्ममा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell