ताइवानले बेइजिङसम्म प्रहार गर्न सक्ने लामो दुरीको मिसाइल विकास गरेको दाबी ताइवानका अधिकारीहरुले गरेका छन्। ताइवानको मुख्य हतियार उत्पादकका पूर्व प्रमुखले ताइवानले सांघाई वा बेइजिङसम्म हान्न सक्ने दुई वटा मिसाइल बनाएको त्यहाँको सरकारी हतियार उत्पादक नेसनल चुङ सान इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका पूर्वध्यक्ष कुङ चिया चङले बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
ती अधिकारीले यसको परीक्षण नगर्न अमेरिकाले एक पटक चेतावनी दिएको समेत उनले दाबी गरेका छन्।
अवकाशप्राप्त ती अधिकारीको हालै प्रकाशित आत्मकथामा ताइवानको मिसाइल विकासको भित्री कुरा खुलाएका छन्। उनी सन् २००४ देखि २००७ सम्म संस्थाको अध्यक्ष थिए।
डब्लु-९९ कोड नेम दिइएको युन फङ मिसाइल प्रोजेक्ट अन्तर्गत तयार भएको मिसाइल सुपरसोनिक भएको र प्रति घण्टा तीन हजार ६७५ किलोमिटरको दुरी तय गर्न सक्ने उनले बताएका छन्।
'स्वतन्त्र राष्ट्र' दाबी गर्ने ताइवानले आफूलाई 'रिप्लिक अफ चाइना' भन्दै आएको छ। मुख्यभूमि चीनले ताइवानलाई आफ्नो प्रान्त मान्छ।
ताइवानले युन फङ मिसाइल विकास गरेको कुरा अस्वीकार गर्दै आएको छ। पूर्वध्यक्ष कुङले यो मिसाइल १९९० को दशकको अन्त्यतिर विकास गरिएको बताएका छन्। ताइवानी मिडियाका अनुसार सन् १९९६ को ताइवान तनाबपछि ताइवानले मिसाइलको विकास गर्न थालेको थियो। त्यतिबेला बेइजिङले ताइवान वरिपरि मिसाइल परीक्षण गरेको थियो।
मुख्यभूमि चीनको उत्तरी भू-भागसम्म नै प्रहार गर्न सक्ने गरी तयार पारिएको विकास क्रमलाई ताइवानले गोप्य राखेको थियो। यो परीयोजना पहिलो र दोस्रो परीक्षणमा असफल भएको थियो। तर, यसलाई निरन्तरता दिएर अगाडि बढाइएको बताइएको छ।
कुङले मिसाइल विकास गरिएको बताए पनि यसले आधिकारिक रुपमा सेवामा प्रवेश गरेको वा नगरेको भने खुलाएका छैनन्। तर अमेरिकी थिंक ट्यांक सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिजको मिसाइल थ्रेट वेबसाइटका अनुसार युन फङ २०१४ देखि अपरेसनमा आएको बताइएको छ। यसको पहिलो व्याचमा २० मिसाइल र १० मोबाइल लन्चर अगस्ट २०१९ मा रोलआउट भएको उल्लेख छ।