PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

जब विवेक ओबरायले भने, 'मार्सी चामल उपहार छैन'?  



पहिलोपोस्ट

जब विवेक ओबरायले भने, 'मार्सी चामल उपहार छैन'?  

पोखराः भारतीय अभिनेता विवेक ओबराय परिवारसहित नेपाल भ्रमणमा छन्। बुधबार काठमाडौं आइपुगेका विवेक शुक्रबारदेखि पोखरामा रमाइरहेका छन्।

बन्जी, स्विङ, जिपलाइन, हट एयर बलुन र अन्य पर्यटकीय गतिविधिमा रमाइरहेका विवेक आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्न आए। पोखरा पर्यटन परिषद्को पहलमा विमानस्थल पुगेका विवेकलाई विमानस्थलको टर्मिनल भवन हुँदै रनवेसम्म हिडाउँदा सुरुमै ठट्टा गर्दै भने, 'एक्ससाइज गराउन लाग्नुभयो!'

भवनबाट रनवेसम्म पुगेर सञ्चारकर्मीसँग पनि उनले छोटो  प्रतिक्रिया दिए। पोखरा आएर विभिन्न पर्यटकीय खेल गतिविधिमा रमाएका विवेकले पोखरा उत्कृष्ट गन्तव्य रहेको बताए।

यस्तै विमानस्थल भ्रमणपछि उनले नेपाल र पोखरेलीको लागि यो नयाँ वर्षको उपहार रहेको बताए।

'विमानस्थल हेरें। यो एकदम राम्रो छ। पोखरा र नेपालीको लागि यो नव वर्षको उपहार हो। विमानस्थलका कारण विश्वका पर्यटक र विशेषगरि भारतीय पर्यटक पोखरा आउनेछन्', उनले भने।

पोखराबाट देखिने हिमालसँग रमाइरहेका उनले नेपाली खानाको र आतिथ्यताको समेत प्रशंसा गरे।

‘मलाई यहाँको आतिथ्यता मनपर्‍यो। मेरा चार जना बच्चाहरुले नेपाली खानाको स्वाद मिठो मानेका छन्। उनीहरुले मुस्ताङको दाल धेरै मन पराए', हाँस्दै विवेकले भने, 'यहाँको खाना, सुन्दर हिमाल, मान्छे र उनीहरुले दिएको प्रेम दिनुभयो हामीले सबै कुराको अनुभव र मज्जा लियौं।'

विमानस्थल पुगेका विवेकलाई विमानस्थल प्रमुख विक्रम गौतम र नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले स्वागत गरेका थिए। सञ्चारकर्मीसँगको कुराकानी सकेपछि उनलाई उपस्थित केहीले मायाको चिनो दिए। जसमध्ये एकजनाले झोलामा मायाको चिनो दिँदै भने 'परालबाट बनेको दुई वटा साम्रगी छ।'

हातमा उपहार लिँदै विवेकले जिस्किदै जवाफ फर्काए -मलाई लाग्यो चामल हो। मिठो हुन्छ नि त्यसको खाना। के भन्छ रे  त्यसलाई?

उनले चामलको नाम भन्न नसकेपछि उपस्थित एकले नाम बताइदिए। त्यसपछि उनले भने', मार्सी उपहार छ लागेको। त्यसको खाना र रायोको साग मिठो हुन्छ। हामीले खाइरहेका छौं। मुस्ताङको दालको स्वादको पनि मज्जा लिइरहेका छौं।'

बुधबार नेपाल आएका उनी पोखरा अझै दुई दिन बस्नेछन्। यस्तै भोलि उनी हेलिकोप्टरमार्फत मुस्ताङको मुक्तिनाथ मन्दिर जाने तालिका छ। त्यसपछि उनी अन्नपूर्ण आधार शिविर र पुनहिल पनि पुग्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell