विश्वविजेता फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले तेस्रोपटक फिफा विश्वकप उपाधी जितेको छ। यो जितसँगै अर्जेन्टिनाको जर्सीमा ३ वटा तारा अंकित भएको छ।
कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना 'च्याम्पियन' बनेको हो। अर्जेन्टिना च्याम्पियन बन्दा खेलाडी र अर्जेन्टिनाका नागरिक जति खुसी थिए त्यति नै खुसी सर्वकालीन महान् खेलाडी लियोनल मेस्सीका फ्यानहरु विश्वभर भए। हिजो रातिकै खेलले मेस्सीलाई जि ओ ए टी (ग्रेटेस्ट अफ अल टाइम) अर्थात सर्वकालीन महान् खेलाडी बनाएको हो।
मेस्सीले हिजोको विश्वकप फाइनल आफ्नो अन्तिम विश्वकप खेल हुने बताएका थिए। त्यसैले पनि उनको अन्तिम खेल जित बिहीन नहोस् भन्ने चाहना धेरैको थियो। र, मेस्सीले विश्वका धेरै फुटबल फ्यानहरुको आशालाई पूरा गरे आफूले कप्तानी गरेको अर्जेन्टिनालाई तेस्रोपटक विश्वकप उपाधि जितेर। यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप उपाधि जितेको थियो।
मेस्सीसँगै यो पुस्ताकै उत्कृष्ट खेलाडी कहलिने रोनाल्डोका फ्यानहरु पनि मेस्सीकै समर्थनमा हिजो देखिए। उनीहरु चाहन्थे, एउटा 'जि ओ ए टी' ले हारेर के भयो अर्को महान् खेलाडीले आफ्नो सपना पूरा गरोस्। र, फ्रान्सको कडा टक्करबिच मेस्सीले सबै सपना पूरा गरे। जितपछि विश्वकप ट्रफीलाई चुम्दै गर्दा उनको अनुहारले सन्तुष्टीको अनुभूति दिइरहेको थियो। रोनाल्डो र मेस्सीले क्लब खेल र व्यक्तिगत उपाधि जिते पनि विश्वकप उपाधि जितेका थिएनन्। त्यसैले पनि उनीहरुलाई सर्वकालीन महान् खेलाडी कहलिन नहुने तर्कहरु पनि थिए। हिजोको जितले मेस्सीले आफ्ना आलोचकहरुलाई स्तब्ध पारेका छन्। र, आफ्नो खेल जीवनको सबैभन्दा ठूलो र महत्वपूर्ण उपाधि आफ्नो देशलाई दिलाएका छन्।
विश्वकपबाट मेस्सीको 'फेर वेल' सान्दार रह्यो। गोल्डेन बुट फ्रान्सका एम्बाप्पेले जित्दा मेस्सी सर्वोकृष्ट खेलाडी घोषण भए र गोल्डेन बल जिते। विश्वकप इतिहासमा गोल्डेन बल दुई पटक जित्ने मेस्सी पहिलो खेलाडी हुन्। यसअघि उनले सन् २०१४ मा गोल्डेन बल जितेका थिए।
हिजोको जितलाई अर्जेन्टिनाका नागरिकहरुले 'म्याराडोनाको पुनरागमन'को संज्ञा दिएका छन्। अब मेस्सी म्याराडोनासँगै उभिएका छन् अर्जेन्टिनाका लागि। र, उनीहरु भनिरहेका छन् : म्याराडोनाले स्वर्गबाट हेरिरहेका छन्, मेस्सी र अर्जेन्टिनाको जितमा खुसी भइरहेका छन्।
सबै तस्विर : Getty Images