.jpg)
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा आफूले दाबी नगरेको बताएका छन्। सोमवार चितवनमा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
सात दिनभित्र प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेसँग सञ्चारकर्मीले यसबारे प्रचण्डलाई प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले भने, ‘मैले औपचारिक रुपमा दाबी गरेको छैन। मैले प्रधानमन्त्रीका लागि सबै चिज दाउमा लाउने काम गरेको छैन।‘
प्रधानमन्त्रीमा गठबन्धनसँग आलोपालोमा जाने विषयमा छलफल भने भएको प्रचण्डको भनाई थियो।
‘त्यो पनि लिखित औपचारिक केही भएको थिएन। छलफल त पक्कै पनि थियो। हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो,’
एमालेसँग तत्काल सत्ता गठबन्धनको कुनै तयारी नभएकोसमेत प्रचण्डले बताए। नयाँ सरकार गठनका लागि गठबन्धनका सबै दलसँग कुराकानी भइरहेकोसमेत उनले बताए। ‘अहिले हामी गठबन्धनमा छौ। गठबन्धनमै कायम रहनुपर्छ भन्ने हो,’ प्रचण्डले भने।
उनले अहिले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री प्याकेजमै टुङ्ग्याउनुपर्ने भनाई राखे।